• पूर्ण बिडी

नेपाल संवतको नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारको संवत भन्ने भ्रम छ। तर, नेपाल संवत शुरू भएको कार्तिक ३० गते ११४० वर्ष पूरा हुन्छ भने नेवाः समुदायले म्हः पूजा गर्न शुरू गरेको ११९० वर्ष भइसकेको छ। म्हः पूजा शुरू गरिँदा यहाँ लिच्छवी राजा जयदेव द्वितीयले शासन गरेका थिए।

पश्चिम भारतबाट आएका लिच्छवीले यहाँ शासन गरेपछि आफ्नै लिच्छवी संवत चलाएका थिए। नेपाल संवतजस्तै लिच्छवी संवत पनि चन्द्रमानको आधारमा थियो।

चन्द्रमान अनुसार असोज शुक्ल प्रतिपदा एवं कछलागा प्रतिपदाका दिन नेपाल संवतको नयाँ वर्ष शुरू हुन्छ। यहाँ नेपाल संवत शुरू हुँदा लिच्छवी संवत ८०२ रहेको इतिहासविद् बताउँछन्।

नेपाल संवतको ऐतिहासिक पृष्ठभूमि
नेपाली इतिहासको लिच्छवी कालको सामन्ती युग जर्जर अवस्थामा रहेका बेला नेपाल संवतको प्रादुर्भाव भएको थियो। त्यसबेला देशका धेरै मानिसको आर्थिक स्थिति राम्रो थिएन। धेरैजसो जनता ऋणमा डुबेका थिए ।

ज्यापु पञ्चः नेपाल संवत र शंखधर साख्वा, केही विवेचना विषयक एक लेखका अनुसार सामन्ती शोषणका कारण त्यसबेला राज्यमा विद्रोहको स्थिति थियो।

नेपाल संवतबारे इतिहासकार हरिराम जोशी भन्छन्– ‘लिच्छवीहरूको शक्ति शिथिल भएका बेला शंखधर नामका एक साहुले देशको विकट स्थितिमाथि काबु गरी देशलाई स्थायित्व प्रदान गरेका थिए।’ शंखधर नेपाल संवतका प्रवर्तक हुन्। नेपालमा संवत फेर्न मुलुकका सबै ऋणीको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो।

यसै मान्यताअनुरूप शंखधरले ऋणीहरूको ऋण तिरी नेपाल संवत चलाएका थिए। यसबाट के स्पष्ट हुन्छ भने उत्तर लिच्छवी कालमा मानिसको आर्थिक स्थिति राम्रो थिएन। यसै पृष्ठभूमिमा ऋणबाट थिचिएका आमजनतालाई ऋणबाट मुक्ति दिलाउन शंखधर शाख्वाले नेपाल संवत चलाएको देखिन्छ।

नेपालको मौलिक संवत
नेपाल संवत शंखधरले राजा राघवदेव र आनन्ददेवको पालामा यो संवत चलाए पनि यसको नाम नेपाल संवत रहेकाले यो हाम्रो स्वाभिमानको प्रतीक हो। यसलाई कदर गर्दै नेपाल संवत् ११२८ अर्थात् वि.सं २०६५ सालमा सरकारले यस नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको छ।

व्यावहारिक संवत
अधिकांश नेपालीको जन्मदेखि मृत्युसम्मका सबैजसो कर्मकाण्ड नेपाल संवतकै तिथिबाट गरिन्छ भन्ने कुरामा विवाद छैन। दशैं, तिहार, छठ, जनैपूर्णिमा, बुद्ध पूर्णिमा, रामनवमी, कृष्णाष्टमी, तीजलगायत अधिकांश चाडपर्व नेपाल संवतको चन्द्रमास पात्रोअनुसार मनाइन्छ। अधिकांश सरकारी बिदा पनि नेपाल संवतकै गणनाअनुसार दिइन्छ।

हाम्रा चाडपर्व रीतिरिवाज नेपाल संवतअनुसार नै व्यवहारमा प्रयोग गरिँदै आए तापनि यसलाई नेवारको मात्र संवत भनेर आफैलाई जिस्काइरहेको कटु यथार्थ हो। नेपाल संवतको ११४० वर्षको इतिहासमा ९ सय वर्षसम्म नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरिएको थियो।

विसं १९६० मा चन्द्रशमशेरले जागिरदारलाई तलब दिन अप्ठ्यारो र दिनगन्ती असजिलो भयो भनी नेपाल संवतलाई हटाएका थिए। यद्यपि, हालसम्म जनतामाझ यो संवत प्रचलनमा छ। नेपाल संवत नेवारको संवत मात्र भनेर भ्रम छरिरहँदा भक्तपुरको प्रमुख जात्राको रूपमा रहेकोे बिस्केट जात्रा विक्रम संवतअनुसार प्रत्येक वैशाख १ गते मनाइन्छ।

घिउचाकु संक्रान्ति, नवदुर्गा जात्रा विक्रम संवतअनुसार मनाइन्छ। नेवारहरूले नेपाल संवतलाई चाडपर्व र संस्कारको प्रमुख संवत्का रूपमा मनाउँदै विक्रम संवत्लाई पनि अँगाल्दै आउँदा सरकारले भने यसलाई व्यवहारमा प्रयोग गर्न कञ्जुस्याइँ गर्दै आएको छ।

नेपालमा प्रचलनमा ल्याइएका संवत्
नेपाली इतिहासले नेपालमा चारवटा संवत् प्रचलनमा आएको देखाएको छ। शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्। यी चारमध्ये नेपाल संवत् सबैभन्दा चलेको संवत् हो।
नेपाल संवत् १ देखि ८८८ सम्म गरी ८८८ वर्ष र विक्रम संवत् चन्द्र शमशेरको पालादेखि हालसम्म गरी १ सय १७ वर्ष जति प्रचलनमा आइसकेको छ।
सबैभन्दा पहिले प्रचलनमा ल्याइएको देखिएको शक संवत् लिच्छवीकालको शुरूमा र पछि पृथ्वीनारायण शाहले पुनः लागू गरेको देखिन्छ। यो संवत् पहिले २०० देखि ५२६ सम्म र पछि १६९० देखि १८२५ सम्म गरी ५ सय वर्ष जति प्रयोगमा रहेको इतिहासविद् बताउँछन्। मानदेव संवत् ३ सय ४ वर्ष चलाइएको पाइन्छ। नेपालको इतिहास हेर्दा ९० प्रतिशत बढी अभिलेख नेपाल संवत्मा लेखिएको पाइन्छ।
नेपालको प्रारम्भिक इतिहास अत्यन्त अस्पष्ट र अनुमान तथा किंवदन्तीले भरिएको छ। किरात कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन। शक संवत् भारतका शकवंशीय शासकको नामबाट चलाइएको संवत् हो जुन आज पनि भारतमा राष्ट्रिय संवत्को रूपमा प्रचलनमा छ। हाल शक संवत् १९४२ हो।
महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत् चलाए भने राजा राघवदेवको पालामा नेपाल संवत् चलाइयो। नेपाल संवत् ८८८ मा नेपालमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले शक संवत् र नेपाल संवत्लाई पुनः प्रचलनमा ल्याए। त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा विक्रमादित्यको नाममा चलाइएको दाबी गरिएको विक्रम संवत् प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ।

नेपाल संवत यहाँ तत्कालीन समयमा प्रचलित भएको शक संवत वा हाल प्रचलित विक्रम संवतजस्तै बाहिरबाट आयातित विदेशी संवत होइन। यस संवतको प्रचलनलाई रोकिएको पनि छैन।

शक संवत ४९८ सकिनासाथ मानदेव संवत शुरू भयो तथा उक्त संवत सार्वजनिक प्रचलनमा आएन। माथि उल्लेख भएजस्तै नेपालमा हाल र पहिले प्रचलित सबै संवतमध्ये मानदेव संवत र नेपाल संवत मात्र स्वदेशी संवत हुन्।

मानदेव संवत ई. ५६६ साल वि.सं ६३३, शक संवत् ८०२) सालमा रोकियो । यसको स्थान नेपाल संवतले लियो र त्यस बेलादेखि हालसम्म एक स्वदेशी संवतको रूपमा नेपाली इतिहासमा यसको विशेष भूमिका रहेको छ।

चीनमा नेपाल संवत्
यो संवत्ले छिमेकी देश चीनमा पनि मान्यता पाएको थियो। इतिहासविद् धनवज्र जोशीका अनुसार चीनको मिङवंशी वादशाह पनि नेपालको काभ्रेतिरका सामन्त राजा शक्तिसिंह राव बच्चनलाई लेखेको परवाना पत्रको सकल परराष्ट्र मन्त्रालयमा सुरक्षित छ।

रञ्जना लिपी संस्कृत भाषामा लेखिएको उक्त पत्रमा नेपाल संवत् ५३५ अङ्कित छ, जुन रञ्जना लिपीसहित नेपाल संवत्को पनि प्रचलन केहीरूपमा चीनमा भएको पुष्टि हुन्छ।

प्रताप सिंह शाहको पालामा तिब्बतसँगको सन्धिमा नेपाल संवत् र नेपाल भाषा प्रयोग गरिएको पाइन्छ। त्यस्तै, अन्य सन्धि सम्झौतामा पनि नेपाल संवत् प्रयोग भएको पाइन्छ।

नेपाल संवतको परिचय
नेपाल संवत चन्द्रमासमा आधारित संवत हो। मोटामोटीरूपमा चन्द्र वर्ष ३ सय ५४ दिनको हुन्छ र प्रत्येक ३ वर्षमा अधिमास हुन्छ। नेपाल संवतअनुसार पनि १ वर्षको १२ महिना हुन्छ। तर, हरेक तेस्रो वर्षमा १ वर्षको १३ महिना हुन्छ।

नेपाल संवतअनुसारका महिना निम्नानुसार छन् :
१. कछला २. थिङ्ला ३. पोहेला ४. सिल्ला ५. चिल्ला ६. चौला ७. बछला ८. तछला ९. दिल्ला १०. गुँला ११. ञँला १२. कौला उपर्युक्त १२ महिनाका अतिरिक्त प्रत्येक ३ वर्षमा आउने अधिमासलाई ‘अनाला’ (मनमास) भनिन्छ।

नेपाल संवतका महिनालाई शुक्लपक्ष र कृष्णपक्षअनुसार दुई भागमा विभाजन गरिन्छ। शुक्ल पक्षलाई बुझाउन महिनाको अन्त्यमा ‘थ्व’ जोडिन्छ। जस्तैः कछलाथ्व, थिँलाथ्व, पोहेलाथ्व, सिलाथ्व इत्यादि। त्यस्तै, कृष्ण पक्षलाई बुझाउन महिनाको अन्त्यमा ‘गाः’ जोडिन्छ। जस्तैः चिंल्लागाः, चौलागाः, वछलागाः, अनालागाः इत्यादि।

नेपाल संवत कात्तिक शुक्लपक्ष प्रतिपदा अर्थात् कछलाथ्व पारुदेखि प्रारम्भ हुन्छ। नेपाल संवतअनुसार दिन गणनालाई सरलताका लागि तल प्रस्तुत गरिएको छ ।

दिन तिथि
शुक्लपक्ष कृष्णपक्ष

१. प्रतिपदा प्रतिपदा

२. द्वितीया द्वितीया

३. तृतीया तृतीया

४. चतुर्थी चतुर्थी

५. पञ्चमी पञ्चमी

६. षष्ठी षष्ठी

७. सप्तमी सप्तमी

८. अष्टमी अष्टमी

९. नवमी नवमी

१०. दशमी दशमी

११. एकादशी एकादशी

१२. द्वादशी द्वादशी

१३. त्रयोदशी त्रयोदशी

१४. चतुर्दशी चतुर्दशी

१५. पूर्णिमा औंसी

तिथिलाई अङ्कमा लेख्ने चलन पनि छ। जस्तैः ११३७ कछलाथ्व प्रतिपदालाई ११३७ कछलाथ्व १ पनि लेखिन्छ। त्यस्तैः ११२४ कछलागाः प्रतिपदालाई ११२४ कछलागाः १ पनि लेख्न सकिन्छ। यस सन्दर्भमा एउटै कुरा सम्झिनुपर्ने के छ भने औंसीलाई १५ लेखिन्छ भने पूर्णिमालाई ३० लेखिन्छ।

नेपाल संवत चन्द्रको गतिअनुसार चल्ने हुँदा कहिलेकाहीं कुनै तिथि २ दिन पर्ने र कुनै तिथि टुट्ने पनि गर्छ। नेपाल संवतका केही आफ्नै विशेषता र महŒव छन्, जसलाई निम्नानुसार बुँदागतरूपमा प्रस्तुत गर्न सकिन्छ।

क. यो संवत आफ्नै देशभित्र उत्पन्न भएको नेपालको मौलिक संवत हो।

ख. यो संवत कुनै व्यक्ति वा जातिको नाममा समर्पित नभई आफ्नै देशको नाममा समर्पित देशकै नामले चलेको संवत हो।

ग. यो संवत रणविजय, राज्यारोहणजस्तो उपलक्ष्यमा चलाइएको होइन। ऋणमा डुबेका ऋणीको मुक्तिको अवसरमा चलाइएको संवत हो।

घ. यो कुनै राजा महाराजाबाट स्थापित संवत होइन। यसका प्रवर्तक सामान्य नागरिक हुन्। अतः यसलाई जनस्तरबाट स्थापित संवत भन्न सकिन्छ।

साझा संवत् नेपाल संवत
नेपाल संवत धेरैजसो नेवारको मात्र संवत हो भन्ने धारणा कतिपय नेवारको बीचमा भए तापनि गैरनेवारमा भने धेरै छ। यो कुरा अशिक्षित वर्गमा मात्र नभएर सचेत वर्गमा पनि त्यतिकै देखिन्छ। नेपाल संवतको आन्दोलन, अभियान र परम्परामा नेवारहरू मात्र लागेको देखेर पनि यसो भनिएको हुनुपर्छ।

नेपाल भाषा अथवा नेवारी भाषा पनि नेपालको भाषा हो। यस अर्थमा यो पनि नेपाली हो। तर, संवतको अर्थमा हेर्ने हो भने त्यस प्रकारबाट मात्र नेपाली होइन। यो संवतलाई पहिला त राष्ट्रको नाममा स्थापना गरिएको छ ।

त्यसैले, यो नेवारको मात्र संवत होइन। दोस्रो यो नेपालमै उत्पत्ति भएको हो। त्यसैले, नेपालकै राष्ट्रिय र मौलिक संवत हो। यस्तै, शंखधर शाख्वा भन्ने व्यक्ति नेवार नै भन्ने कुनै स्पष्ट छैन। संवत शुरुआतको समय लिच्छवीकालीन अवस्था थियो, जुन बेला नेवारी भाषाको साहित्य र नेवार जातिको छुट्टै अस्तित्वको गणना छैन।

कसैले संवतको शुरुआत गर्नुप¥यो भने देशमा सबैलाई ऋणमुक्त गर्नुपर्ने भन्ने कुरा पूर्वीय संस्कृतिको भनाइ छ। यो शंखधरको कुरा होइन। तर, यसप्रकार शुरू भएको संवत अरू भने छैन। सम्भवतः सामन्तकालीन, सम्राट् र राजाहरूको जगजगीका बेलामा त्यस्तो जनस्तरबाट शुरू गरिएको संवत नेपालमा नभए पनि भारतमा विस्तार भएको हुन सक्छ। यसैले पनि यो नेपालको संवत हो।

त्यस्तै, संवतको वर्ष शुरू हुने पहिलो दिन कछलाथ्व पारु वा कात्तिक शुक्ल प्रतिपदा पनि पूर्वीय मान्यताभित्र परेको भनाइ छ। नेपाल संवत प्रयोग भइरहेको कछला, थिँला, पोहेला, दिल्ला, गुँला, ञँला र कौला भन्ने महिनाको नामको मूल रूपको नेपालीकरण भएको छ।

नेपाल संवत प्रयोग गर्ने पात्रो चतुर्मासमा आधारित छ। यसमा फेरि मुसलमानले प्रयोग गर्ने क्यालेन्डरमा जस्तै विशुद्ध चतुर्मास नभएर दिन र वर्षलाई मात्र सौर्यमासका आधारमा मिलाएर प्रयोगमा ल्याएको देखिन्छ।

यस्तै प्रकारले सूर्योदय हुने समयमा कुनै–कुनै तिथि परेको देखिन्छ। त्यसै तिथिलाई त्यस दिनको तिथिको रूपमा लिइयो र यसै प्रकारले तिथि दोहोरिने र टुट्ने भएको पाइन्छ। शक संवत र भारतमा विक्रम संवतको पनि चन्द्रमास यसरी नै गणना भएको देखिन्छ। यस अर्थले यो पूर्वीय सभ्यताको परम्परा नै हो भन्ने स्पष्ट हुन्छ।

न्युज अफ नेपालबाट साभार