भद्रपुर । झापा–१ अघिल्लो निर्वाचनहरूमा विघटित प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माको कारण चर्चामा रहन्थ्यो । पछिल्ला तीन निर्वाचनमा निरन्तर यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका काङ्ग्रेसबाट निर्वाचित शर्मा यस पटक प्रतिस्पर्धामा छैनन् । 

नेपाली काङ्ग्रेसमा विद्रोह गरेर उपसभापति बनेका शर्मा २०७०, २०७४, २०७९ को निर्वाचनमा लगातार विजयी भएका थिए । पछिल्लो निर्वाचनमा शर्मा १४ हजार २ सय ७५ मतान्तरले निर्वाचित भएका थिए । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका थिए । शर्माले भने ३९ हजार ६ सय २४ मत ल्याएका थिए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका लोकप्रिय नेता रविन कोइराला र २०७४ मा तत्कालीन नेकपाका उम्मेदवार राम कार्की (पार्थ क्षेत्री)लाई पराजित गरेका थिए । विशेष परिस्थितिबाट घोषणा भएको फागुन २१ को निर्वाचनमा ‘नयाँलाई अवसर’ दिनुपर्ने तर्कसहित उनी पछि हटे । यो निर्णय उम्मेदवार परिवर्तन मात्र होइन, पार्टीभित्र ‘क्षेत्र कब्जा’ र ‘सधैँ आफै उम्मेदवार’ हुने संस्कृतिलाई चुनौती दिने राजनीतिक सन्देश पनि हुने विश्लेषकहरू बताउँछन् ।

उनको क्षेत्रमा झापा क्षेत्र नम्बर ३ स्थित भद्रपुर–१ निवासी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी होमिएकी छन् । पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी डाँगी यसअघिको प्रतिनिधि सभामा क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसद् भएकी सबैभन्दा कान्छी उमेरकी हुन् । २९ वर्षीया डाँगी यो पटक झापा १ मा नयाँ उम्मेदवार हुन् । 

त्यस्तै काङ्ग्रेस झापाका उपसभापति केशवराज पाण्डे (५४) विद्यार्थी राजनीतिदेखि नै सक्रिय छन् । सङ्गठन निर्माणमा दक्ष र नेता कृष्णप्रसाद सिटौलानिकट मानिने पाण्डे पार्टीभित्र बलियो सङ्गठनात्मक आधार भएका नेताका रूपमा चिनिन्छन् । यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा झापा १ को प्रदेश (क) तर्फ काङ्ग्रेसका तर्फबाट उम्मेदवार रहेका थिए । पाण्डेको प्रतिनिधि सभामा जाने पहिलो खुट्किलो हो । 

त्यस्तै नेकपा (एमाले) बाट उम्मेदवार रहेका रामचन्द्र उप्रेती (६७) सहकारीकर्मीका रूपमा परिचित छन् । नेकपा (एमाले) का पुराना नेताका रूपमा स्थापित भए पनि उप्रेती पछिल्लो समय पार्टी जिम्मेवारीमा सक्रिय थिएनन् । उनी नेपाल बहुउद्देशीय सहकारी संस्था (एनएमसी) का पूर्व अध्यक्ष हुन् । स्थानीय भए पनि प्रतिनिधि सभामा उनी नयाँ अनुहारमा हुन् ।  

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार भएका अशेष घिमिरे (४२) इन्जिनियर हुन् । इलेक्ट्रोनिक तथा कम्युनिकेशन इन्जिनियर घिमिरेले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । ‘पैसा दिएर मत नकिन्ने’ घोषणासहित चुनावी प्रचारमा निस्किएका घिमिरे नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा गहिरो दख्खल राख्ने युवा नेतामा पर्छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका हेमराज कार्की (६०) पेसाले प्राध्यापक हुन् । केही समय मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गरेका कार्कीले लामो समय काठमाडौँका विभिन्न क्याम्पसमा प्राध्यापन गरे । हाल मेचीनगरको बाहुनडाँगीस्थित एउटा शिक्षण संस्थाको नेतृत्वमा बसेर काम गरिरहेका अर्थशास्त्रका विज्ञ कार्कीले राप्रपाको केन्द्रीय विभागमा रहेर काम गरिरहेका छन् । 

पहिलो पटक निर्वाचनमा होमिएका श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राई (४८) ले नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलमा आबद्ध रही राजनीतिक यात्रा सुरु गरेका थिए । तरुण दल मेचीनगरको तत्कालीन अध्यक्ष रहेका राई काङ्ग्रेस परित्याग गरी पहिचानवादीको आन्दोलनमा जोडिएका नेतामा पर्छन् । पार्टीको केन्द्रीय सदस्य राई युवा पुस्तामा खारिएको व्यक्तित्वका रूपमा परिचित छन् ।

विभिन्न राजनीतिक दलका उम्मेदवारको बीचमा फरक परिचय स्थापित गर्दै स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेल पनि चुनावी अभियानमा छन् । निडर र हक्की स्वभावका खरेल नेकपा (एमाले) को कार्यकर्ताको पृष्ठभुमिबाट उदाएका युवा नेता हुन् । झापा १ मा दुई स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा छन् । यी सबै उम्मेदवार झापा १ का मतदाताका लागि नयाँ पर्छन् । 

मतदानका लागि आफूलाई उत्कृष्ट साबित गर्दै मत आफूतिर तान्न यतिबेला उम्मेदवारसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू चुनावी मैदानमा छन् । 

सबै नयाँ अनुहार भए पनि एमाले र रास्वपाको टक्कर हुने मतदाता नरेश सञ्जेलको अनुमान छ । काङ्ग्रेसले पाण्डेको स्थानमा पूर्व मेयर विमल आचार्यलाई अघि सारेको भए अगाडि आउन सक्ने उनले बताए । मतदाताको माहोल र व्यक्तिगत धारणालाई तुलना गर्दा रास्वपाको चहलपहल बढी देखिएको मतदाता नेत्रकुमार कार्की बताउँछन् । यस्तै अवस्था रहने हो भने ०६४ को अवस्था दोहोरिन सक्ने उनले बताए । 

झापा १ पूर्वी नेपालको सीमावर्ती क्षेत्र पनि हो । भारतसँग सिमाना जोडिएको मेचीनगर नगरपालिकाका सबै १५ वटा वडाहरू, बुद्धशान्ति गाउँपालिकाको ४ वटा वडा र भद्रपुर नगरपालिकाको २ वटा वडा गरी २१ वटा वडा समेटिएको क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता छन् । जसमा ६५ हजार ८ सय ५८ पुरुष र ६५ हजार दुई सय ९ जना महिला मतदाता रहेका छन् ।

पछिल्लो अद्यावधिकसँगै १० हजार ६ सय ९२ जना नयाँ मतदाता थपिएका छन्, जसले यसपटकको निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्न सक्ने आँकलन गरिएको छ ।

 अघिल्लो निर्वाचनको समानुपातिक मत

अघिल्लो निर्वाचनको समानुपातिक मत परिणामले झापा–१ को राजनीतिक समीकरण झल्काउँछ । नेपाली काङ्ग्रेसले २५ हजार ४ सय २० मत प्राप्त गरेको थियो भने नेकपा (एमाले)ले २२ हजार ५ सय ४७ मत ल्याएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ७ सय ५० मत पाउँदै तेस्रो स्थान सुरक्षित गरेको थियो । त्यस्तै, माओवादी केन्द्रले ५ हजार मत पाएको थियो भने नेकपा (एकीकृत समाजवादी) ५ सय २९ मतमा सीमित भएको थियो । यो तथ्याङ्कले मुख्य प्रतिस्पर्धी दलबीचको दूरी साँघुरो रहेको देखाउँछ । नयाँ मतदाता र नयाँ उम्मेदवारको प्रभावले यस पटकको नतिजा अघिल्ला निर्वाचनभन्दा फरक आउन सक्ने आँकलन स्थानीयको छ । 

झापा–१ मा यसपटक जित–हारभन्दा पनि मतदाताले कुन पुस्ता, कुन शैली र कुन राजनीतिक भाषालाई रोज्छन् भन्ने प्रश्न बढी पेचिलो बन्दै गएको छ ।