विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को चुनावी मैदान यसपटक रोचक र पेचिलो बनेको छ । अघिल्ला दुई निर्वाचनमा सहकार्य गरेका र एउटै कित्तामा उभिएका तीन प्रभावशाली नेता यसपटक आमने–सामने छन् । पूर्वमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अमनलाल मोदी यहाँ जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छन् भने नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे र पूर्व प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन घिमिरे आफ्नो सङ्घको संसदीय यात्रा सुनिश्चित गर्ने दाउमा छन् ।

विगतमा ‘सहयात्री’ बनेका यी तीन नेताबीचको प्रतिस्पर्धाले मोरङ–४ लाई देशकै ध्यान खिच्ने ‘हट स्पट’ बनाएको छ । थपिएको नयाँ चुनौती हो— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी, जसले परम्परागत दलका स्थापित नेताहरूको मत काट्ने डर पैदा गरिदिएका छन् ।

मोदीको साख र थारू सेन्टिमेन्ट

२०७४ र २०७९ को निर्वाचन जितेर संसद् पुगेका अमनलाल मोदी यस क्षेत्रका लागि परिचित अनुहार हुन् । २०७४ मा काङ्ग्रेसका प्रभावशाली नेता महेश आचार्य र २०७९ मा एमालेका राजनीतिक खेलाडी विनोद ढकाललाई पराजित गरेका मोदी यसपटक पनि आफ्नो जितको सिलसिला जारी राख्ने दाउमा छन् । थारू समुदायको बाहुल्य रहेको यस क्षेत्रमा मोदीको आफ्नै समुदायसँगको गहिरो पकड र युवा पुस्तामाझको पहुँच उनको मुख्य शक्ति हो ।

यद्यपि, अघिल्लो निर्वाचनमा काङ्ग्रेसको साथ पाउँदा ३० हजार ६ सय १२ मत ल्याएका मोदीका लागि यसपटक काङ्ग्रेस र एमाले दुवै एक्ला–एक्लै मैदानमा हुनुले चुनौती थपेको छ । सत्ता र शक्तिमा रहँदा उनले गरेका कामको परीक्षण यसपटकको मतपेटिकामा हुनेछ ।

गुरुराजको अग्निपरीक्षा

नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेका लागि यो निर्वाचन केवल पदको लडाइँ मात्र होइन, उनको राजनीतिक पुनरागमनको परीक्षा पनि हो । २०७९ को मोरङ क्षेत्र नं. ४ (१) को प्रदेशसभा निर्वाचनमा एमालेका उम्मेदवार जयप्रकाश चौधरीसँग झिनो मतले पराजित भएपछि केही समय ओझेल परेका घिमिरे काङ्ग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेसँगै नयाँ उत्साहका साथ मैदानमा छन् । विद्यार्थी राजनीतिबाट स्थापित घिमिरे वैचारिक र प्रखर नेताका रूपमा चिनिन्छन् । अघिल्लो पटक मोदीलाई सघाएका उनी यसपटक आफै मैदानमा उत्रिएका हुन् । उनलाई काङ्ग्रेसको पुरानो विरासत फर्काउने र पार्टीभित्रको आफ्नो प्रभावशाली भूमिकालाई संसदीय राजनीतिमा प्रमाणित गर्ने चुनौती छ ।

जीवनलाई जित्न एमाले सङ्गठनको भर 

नेकपा (एमाले) ले पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अघि सारेर आफ्नो बलियो सङ्गठनको लाभ लिन खोजेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रका २३ वडामध्ये १८ वटामा एमालेले जित हासिल गर्नु घिमिरेका लागि सबैभन्दा ठूलो आधार हो ।

यद्यपि, प्रदेशसभामा मोरङ क्षेत्र नम्बर ४ (२) मा काङ्ग्रेसका नेता भीम पराजुलीसँग पराजित भएका घिमिरेका लागि एमालेको त्यो वडागत मतलाई केन्द्रको चुनावमा कसरी जोगाउने भन्ने मुख्य चुनौती पनि छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले पाएको २४ हजार ४ सय ६३ मतलाई वृद्धि गर्दै त्रिकोणात्मक प्रतिस्पर्धामा बाजी मार्ने रणनीतिमा एमाले देखिन्छ । इमानको राजनीति गरेका र कुनै पनि आक्षेप नखेपेका घिमिरेलाई केन्द्रीय संसदीय यात्राका लागि यो निर्वाचन आधार हुने स्थानीयको आँकलन छ । 

निर्णायक बन्न सक्छ नयाँ दल र युवा मत

यसपटकको चुनावमा पूर्वपत्रकार सन्तोष राजवंशी (रास्वपा) को उम्मेदवारीले परम्परागत दलका नेताहरूलाई सशङ्कित बनाएको छ । अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवारले ल्याएको ५ हजार ३ सय ३३ मत यसपटक बढ्ने आँकलन गरिएको छ । यदि राजवंशीले उल्लेख्य मत ल्याएमा त्यसले मोदी, गुरुराज वा जीवनमध्ये कसको मत बढी काट्छ, त्यसैले हार–जितको फैसला गर्नेछ ।

अङ्कगणितको पेचिलो खेल

१ लाख १९ हजार २ सय ५५ मतदाता रहेको मोरङ ४ मा ग्रामथान, कटहरी, बेलबारीका ५, ६, ७  वडा र विराटनगर महानगरका १, २, ३, ८, १० र १९ वटा वडा पर्दछन् । यस क्षेत्रमा १ लाख १९ हजार २ सय ५५ मतदाता रहेका छन् । २०७९ को समानुपातिक मत परिणाम हेर्दा काङ्ग्रेस पहिलो (१९ हजार ५ सय ५५), एमाले दोस्रो (१८ हजार ३ सय ८६) र माओवादी तेस्रो (९ हजार ७ सय ६०) स्थानमा छन् ।

गठबन्धन विनाको यो प्रतिस्पर्धामा माओवादीको मत निर्णायक देखिन्छ भने काङ्ग्रेस र एमालेबीचको मतान्तर निकै कम छ । हालैको ग्रामथान उपनिर्वाचनमा माओवादीले जित हात पार्नुले मोदीलाई केही राहत दिएको छ भने काङ्ग्रेस र एमालेलाई थप मिहिनेत गर्नुपर्ने सन्देश दिएको छ ।