धरान । गोर्खा सेमिट्रिज ट्रष्ट हङ्कङको आयोजनामा यही जनवरी ३१ तारिखमा हङ्कङमा आयोजना हुने सातौँ गोर्खा ट्रेलब्लेजर रनमा नेपालबाट दुई धावक सहभागी हुने भएका छन् ।

धरानमा हुँदै आएको तेस्रो गोर्खा ट्रेलब्लेजरका महिला तथा पुरुष विजेता पुष्पा लिम्बू (शेर्मा) र सरोज लिम्बू उक्त प्रतियोगितामा सहभागिता जनाउन हङ्कङ प्रस्थान गरेका छन् ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ र प्रशासन विभाग प्रमुख भोजानन्द राईले बिहीबार खेलाडीहरूलाई बिदाइ गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताले देशको पहिचान र गौरव बढाउने विश्वास उनीहरूले व्यक्त गरे ।

बिदाइ कार्यक्रममा गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र प्याराग्लाइडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल चाम्लिङ राईको पनि उपस्थिति रहेको थियो । 

वीर गोर्खाहरूले देश र विश्वका विभिन्न स्थानमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूको सम्मान र स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदै आएको गोर्खा ट्रेलब्लेजर रनको यो सातौँ संस्करण भएको प्रतियोगिता संस्थापकमध्येका देवराज राईले जानकारी दिए । यस प्रतियोगिताले गोर्खा इतिहास र साहसिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

गोर्खा सेमिट्रिज ट्रष्ट नेपालले विगत तीन वर्षदेखि धरानमासमेत गोर्खा ट्रेलब्लेजर आयोजना गर्दै आएको छ । तेस्रो संस्करणका महिला र पुरुष विजेता खेलाडीहरू हङ्कङमा हुने प्रतियोगितामा सहभागी हुन लागेका हुन् । औपचारिकरूपमा धरानमै बिदाइ कार्यक्रम आयोजना गर्ने तयारी भए पनि खेलाडीहरूको भिसा ढिलो लागेका कारण धरानबाट बिदाइ गर्न नसकिएको गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

अन्य दुई धावकहरूको भिसा नलागेका कारण प्रतियोगितामा सहभागी हुन पाएनन् ।  अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा धरानका खेलाडीहरूको सहभागिताले स्थानीय खेल क्षेत्रलाई थप उत्साह र प्रेरणा दिने अपेक्षा गरिएको छ ।