धरानमा बर्सेनि दोहोरिने खानेपानी सङ्कट कुनै नयाँ समस्या होइन । सुख्खायाम सुरू भएसँगै धारामा दिन बिराएर पानी आउनु, कतिपय टोलमा हप्तौंसम्म पानी नआउनु धरानेका लागि नियति जस्तै बनेको छ । यस्तो अवस्थामा कोशी प्रदेश सरकारले करिब ७ करोड रूपैयाँ लगानीमा निर्माण गरेका भूमिगत पानीका डिपवेल प्रयोगमा नआउनु झनै दुःखद् र गैरजिम्मेवारपूर्ण अवस्था थियो । धरान–१७ स्थित कुम्भी आहाल र धरान–१५ को जङ्गल क्षेत्रमा निर्माण गरिएका तीनवटा डिपवेल एक वर्षभन्दा बढी समयदेखि परीक्षण सम्पन्न भई हस्तान्तरणको तयारीमा हुँदाहुँदै पनि प्रयोगमा आउन नसक्नु विडम्बना हो । विद्युत् खपत र प्राविधिक भेरिफिकेसनको नाममा स्थानीय नेतृत्वको हिच्किचाहटले गर्दा जनता पानीको अभावमा छट्पटाइरहँदा तयार संरचना अलपत्र पार्नु गम्भीर प्रश्नको विषय हो । विकासको उद्देश्य जनताको जीवन सहज बनाउनु हो, कागजी तर्कमा अल्झाएर सङ्कटलाई लम्ब्याउनु होइन । यस्ता कुरा स्थानीय नेतृत्वले बुझेनन् भने उनीहरुको आफ्नै लोकप्रियता घट्ने मात्र होइन, पतनको बाटोमा लाग्नेछन् ।
कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले जिम्मेवारी सम्हालेपछि पानीको स्रोत व्यवस्थापन, चुहावट नियन्त्रण र उपलब्ध स्रोतको अधिकतम् उपयोगतर्फ देखाएको सक्रियताले धराने जनतामा आशा जगाएको छ । १५ दिनभित्र दुईवटा डिपवेलबाट बुस्टर पम्प जडान गरी पानी मुख्य ट्याङ्कीमा जोड्ने प्रतिबद्धता व्यवहारमा उतारिनु अहिलेको प्रमुख आवश्यकता हो । यी डिपवेल सञ्चालनमा आएपछि दैनिक करिब ४० लाख लिटर पानी थपिनु धरानका लागि सानो उपलब्धि होइन । हाल धरानमा प्रतिदिन करिब २ करोड ४० लाख लिटर पानी आपूर्ति भइरहेको छ । धरानको जनसङ्ख्यालाई प्रतिदिन ३ करोड लिटरभन्दा बढी पानी चाहिन्छ । अझ सुख्खायाम चर्किंदै जाँदा प्राकृतिक स्रोतबाट आउने पानीको मात्रा घट्ने निश्चित छ । यस्तो अवस्थामा भूमिगत पानीजस्ता वैकल्पिक स्रोतलाई समयमै उपयोग गर्नु दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण कदम हुन सक्छ ।
तर यो सुरूवात मात्र हो । खानेपानी समस्या समाधानका लागि केवल नयाँ स्रोत थप्नु पर्याप्त छैन । चुहावट नियन्त्रण, वितरण प्रणालीको सुधार, ऊर्जा–दक्ष प्रविधिको प्रयोग र दीर्घकालीन जलस्रोत संरक्षण नीति अनिवार्य छ । साथै नेतृत्व परिवर्तनसँगै नीति र निर्णय पनि फेरिइरहने प्रवृत्तिले विकासलाई बन्धक बनाउने अवस्था अन्त्य हुनुपर्दछ । धरानको पानी सङ्कट व्यवस्थापन केवल प्राविधिक विषय होइन, यो सुशासन, नेतृत्वको इच्छाशक्ति र जनउत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको विषय पनि हो । उपप्रमुखले तामझामका साथ पानी परीक्षण केवल प्रचारका लागि मात्र नहोस् । यो दीर्घकालीन र नियमित अभियान हुनु पर्दछ । पानीको स्रोत भए पनि वितरण प्रणालीमा अनियमितता र चुहावटका कारण पनि धरानमा पानी अभाव भइरहेको छ । यसलाई नेतृत्वले मिहिन ढङ्गमा अध्ययन गरी समाधान गरिनु पर्दछ । धराने जनताले वास्तविक राहत अनुभूति गर्न पाउनु पर्दछ ।
































