धरान । वीर गोर्खाहरूको सम्मान र स्मृतिमा गोर्खा सेमेट्रीज ट्रष्ट हङ्कङको आयोजनामा शनिबार सम्पन्न सातौँ गोर्खा ट्रेल ब्लेजर हङ्कङ २०२६ मा नेपालका पुष्प लिम्बू र सरोज लिम्बू विजेता बनेका छन् ।
२९ देशका २ सय ४९ धावक–धाविकालाई पछि पार्दै महिला र पुरुष दुवै १२ किलोमिटर विधामा नेपाली खेलाडी विजेता बनेका हुन् । उनीहरू सन् २०२५ मा धरानमा भएको गोर्खा ट्रेल ब्लेजरका विजेताहरू हुन् । यो वर्षदेखि धरानका विजेताहरूलाई आयोजकले हङ्कङमा हुने प्रतियोगितामा सहभागी गराउन थालेको हो ।
महिला १२ किलोमिटर विधामा पुष्प लिम्बूले १ घण्टा २ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितिन् । पुरुषतर्फ सरोज लिम्बूले ५० मिनेटमै दौड पूरा गर्दै स्वर्णपदक हात पारे । सरोजले गत वर्षका विजेता बेलायतका रायन भेलानको ५७ मिनेटको रेकर्ड तोड्दै नयाँ कीर्तिमानसमेत कायम गरे । भेलानले यस वर्ष ५८ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरे । धरान निवासी तथा हाल हङ्कङमा बसोबास गर्दै आएका यमनाथ लिम्बू ५८ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।
महिला विधामा नेपालकै पद्मकुमारी सुनुवारले १ घण्टा ९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरिन् भने बेलायतकी एलिना विलियम्स १ घण्टा १७ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् ।
३० किलोमिटर विधामा युक्रेन र चीनका खेलाडी विजेता
३० किलोमिटर ट्रेल विधाको पुरुषतर्फ युक्रेनका अलेक्सी मेलनिकले ३ घण्टा २२ मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते । महिलातर्फ चीनकी चे क्वान लीले ४ घण्टा ३० मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरिन् ।
पुरुषतर्फ हङ्कङका चे किङ युन ४ घण्टा १८ सेकेन्डमा दोस्रो र फ्रान्सका सिरिल गोमेज ४ घण्टा १९ सेकेन्डमा दूरी पार गरी तेस्रो भए । महिलातर्फ नेपालकी दिलु लिम्बूले ४ घण्टा ३४ मिनेट ४० सेकेन्डमा दोस्रो स्थान हासिल गरिन् भने हङ्कङकी हङ किउ किम्मी लेउङ ५ घण्टा १२ मिनेट १७ सेकेन्डमा दूरी पार गरी तेस्रो भइन् ।
३० देशका धावक–धाविकाको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई मेडल, वीर गोर्खाको पहिचान झल्किने खुकुरी तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । पुरस्कार वितरण रोयल ब्रिटिस लिजन हङ्कङ चाइनाका शाखा अध्यक्ष स्टिभ ट्रायट, लिङ्मा कन्स्ट्रक्सन इन्जिनियरिङकी निर्देशक माया थुलुङ, ब्रिटिस कन्सुलेट हङ्कङ चाइनाकी कन्सुलर जनरल सारा रोबिन्सन तथा पीएचसीपीएस स्कुलकी प्रिन्सिपल आइरिन लाईले गरेका थिए ।
ट्रेल रेस हङ्कङको लौ सि हुङ क्षेत्रमा १२ र ३० किलोमिटर गरी दुई विधामा आयोजना गरिएको आयोजक नेपाल प्रतिनिधि विकास चाम्लिङ राईले जानकारी दिए ।































