होम आइसोलेसन डायरी

alt तस्बिरः गुगल
  • कार्तिक २८, २०७७
  • भोजराज श्रेष्ठ

Bhojraj

असोज ७ । बिहानैदेखि बेहिसाबले टाउको रन्किएको छ । धेरै वर्षपछि यो रन्काइलाई अलिक निको मानिनँ । कोभिड–१९ अर्थात् नोबल कोरोना भाइरस सुरु भएको ११ महिनापछि ममाथि ‘अट्याक’ गरेको हो कि भनी लख काटेँ । एकोहोरो टाउको दुखाइसँगै एक्कासि शरीर कमजोर भएको महसुस गरेँ ।

कोरोनाका विभिन्न लक्षणबारे सुनेको, पढेको त थिएँ नै तर, पनि टाउको दुखाइ नै यसको प्रमुख लक्षण होला भन्ने अनुमान चाहिँ गरेको थिइनँ । त्यसदिन खाना पनि उतिसारो रुचि भएन । तर, पनि नियमित खुराकलाई कायमै राखेँ । जब कोरोना चीनको वुहान हुँदै पश्चिमा देशहरुलाई आतङ्कित पारिरहेको थियो । त्यहीबेलादेखि ‘कोरोना’ सँग कुनै न कुनै दिन सामना गर्नुपर्ने रहेछ भन्ने लागेकै हो । त्यसैले पनि आन्तरिक तयारीमै थिएँ तर, पनि सतर्कता अपनाएकै थिएँ । सतर्कता अपनाउनुको दुई कारण थिए; एउटा त म आफू सङ्क्रमित भइहालेँ मेरो कारणले अन्य सङ्क्रमित नहोऊन् भन्ने थियो । दोस्रो, १७ महिने छोरी र १० वर्षीय छोराका लागि पनि आफू सतर्क हुनुपर्ने थियो । सतर्कताका बावजुद पनि असोज ७ मा लक्षणको एउटा अंश देखियो ।

त्यही दिनदेखि परिवारका सदस्यबाट केही फरक दूरीमा बस्न थालेँ । आफूले खाएका र प्रयोग गरेका भाँडावर्तनहरु आफैले सफा गर्न थालेँ । मैले समाएका वस्तुहरुलाई सामान्य सेनिटाइज गर्ने र पानीले सफा गर्ने गर्थें । एकोहोरो टाउको दुखाइ भएपछि बाध्य भएर औषधि सेवन गरे । सामान्यतः टाउको दुख्दा प्रयोग गरिने औषधि सेवन नगरेको झण्डै झण्डै २३ वर्ष बितिसकेछ । त्यत्रो लामो अन्तरालपछि औषधि खान बाध्य हुनुले पनि कोरोना पो हो कि भनी लख काट्ने आधार बनेको थियो ।

भोलिपल्ट अर्थात् असोज ८ गते ठीकठाक भएँ । औषधिले काम गरेको थियो । नियमित काम गरियो । तर, सोही राति एक्कासि घाँटी दुखेको महसुस भयो । त्यसले मेरो आशङ्कालाई थप बल पु¥यायो । भोलिपल्ट बिहान धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासँग कुराकानी भयो । उहाँले ‘टाउको दुख्दा पनि कोरोना देखिएको’ आशयको कुरा गर्नु भएपछि भने स्वाब दिने निर्णयमा पुगेँ । त्यो बेला सरकारले पीसीआर जाँच गर्ने किट तथा रिएजेण्टहरु नपठाएका कारण नगरमार्फत् स्वाब दिन सम्भव भएन । लगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर स्वाब दिएँ ।

भोलिपल्ट रिपोर्ट आउने भनिए पनि पर्सिपल्ट अर्थात् असोज ११ गते मात्रै रिपोर्ट आयो । त्यो दुई दिन मेरा लागि जीवनको सबैभन्दा लामा दिनहरु थिए । एक दिनमा २४ घण्टा नै हुन्छ, त्यो मलाई थाहा छ तर, सयौं घण्टा जस्तो अत्यन्तै पीडादायी भइदियो । रिपोर्ट के आउने हो भन्ने त्रास अर्कोतिर उस्तै थियो किनकि कोरोनाबाट केही मित्रहरु भेण्टिलेटरमा पुगेर फर्किएको समाचार आफैले लेखेको थिएँ । साथीहरुले कोरोनालाई हेल्चेक्र्याइँ नगर्नु होला भन्दै उपदेश दिएको पनि ताज्य थियो । रिपोर्ट जब आयो, त्यो बेला शरीरमा एक प्रकारको कम्पन भएको महसुस भयो ।
‘भोजराजजी स्वाब दिनुभएको थियो ?’–बीपी प्रतिष्ठानका डाक्टर नारायण भट्टराईले फोनमा सोध्नुभएको थियो ।
हो त !

आइसोलेसनमा बस्नुस् है, तपाईंको भाइरल लोड धेरै छ, कुनै पनि बेला अस्पताल पनि आउनुपर्ने हुनसक्छ है ।

तर, नआत्तिनु होला, केही हुँदैन भनेर आश्वासन दिनुभयो । आश्वासनलाई सकारात्मक रुपमा लिए पनि दिमागले कोरोनाबारे नकारात्मक प्रवाह गरिहाल्यो । मेरो आफ्नो अनुभवले के भन्छ भने कोरोनाले शारीरिक रुपमा असर नगरे पनि दिमागी रुपमा सबैभन्दा बढी असर गर्ने रहेछ । त्यो मेरो मात्रै अनुभव रहेन । धेरैभन्दा धेरै साथीहरुको अनुभव त्यही छ ।

कोरोना पोजेटिभ भएको खबर श्रीमती सीताजीलाई सुनाए । त्यो बेला मभन्दा पनि श्रीमतीजीले ढाडस दिँदै भनिन्, ‘केही हुँदैन ।’

श्रीमतीजीको त्यो भनाइलाई आत्मसात गर्न समय लागेन किनकि कुनै न कुनै दिन कोरोनाको सामना गर्नुपर्छ भन्ने मलाई पहिला नै लागेकै हो । शारीरिक रुपमा कुनै कष्ट अनुभूति भएन, केही आंशिकबाहेक । कोरोना पोजेटिभ देखिएको दुई दिनपछि स्वाद र गन्धहरु आउन छाड्यो । केही दिनसम्म यथावत् रह्यो । जे खाए पनि स्वाद नआउने, गन्धहरु थाहा नपाइने । मानौं त्यो बेला फोहोरको डङ्गुरमा लगेर राखिदियो भने पनि त्यसको गन्ध कस्तो हुन्छ भन्ने अनुमान गर्न गाह्रो हुने । त्यस्तो परिस्थिति सिर्जना भयो ।

तातो पानी, बेसार पानी, गुर्जो पानी । विभिन्न पानीहरु खाइँदै गइयो । बेला–बेला सुख्खा खोकी पनि लाग्थ्यो । होम आइसोलेसनमै बसेकाले खानपानमा असहजता थिएन । कोरोना कालखण्डभरि साथीभाइ, अग्रज तथा गुरुहरुको आगमनले आत्मबल मिल्थ्यो । बिहान दैनिक योगा गर्ने र साँझमा सामान्य व्यायाम नित्यकर्म जस्तै भयो । त्यसो त सामान्य बेलामा पनि शारीरिक व्यायामको लागि दैनिक एक डेढ घण्टा गुज्रिने गरेकै हो । आइसोलेटेड भएर बस्दा चाहिँ सामान्य खालका व्यायामलाई मात्रै प्राथमिकता दिएँ किनकि शारीरिक रुपमा केही थकान भएको महसुस हुन्थ्यो । लामो समयसम्म बसिरहन नसकिने भएकाले केही न केही गरेरै दैनिकी चलिरहेको थियो । केही थाती रहेका आख्यानहरुलाई पूरा गर्ने मौका पनि प्राप्त गरेँ तर, पढ्न उति रुचि पनि नहुने रहेछ ।

कलात्मक फिल्महरु हेर्थें । जसले एक खालको आनन्द प्रदान गथ्र्यो । केही समय यतादेखि मैलाई नाम चलेका अभिनेता, अभिनेत्रीको फिल्महरुप्रति चासो घट्दै गएको थियो । आइसोलेटेड भएर बस्दा त्यो कुरालाई थप मलजल ग¥यो । भनौं व्यापारिक फिल्महरुप्रति रुचि घटेको अनुभूति हुँदै थियो । नामै नसुनेका पात्रहरुको फिल्महरु हेर्दा पनि व्यावसायिक अभिनेता, अभिनेत्रीको भन्दा उत्कृष्ट लाग्यो ।

मेरो बुझाइमा फिल्मले केही न केही सन्देश दिनुपर्छ, सन्देशविहीन फिल्म कृत्रिम मुटुजस्तै हो । जसबाट मानिस केही समय त बाँच्ला तर, एउटा कालखण्डसम्म बाँच्न सक्दैन । सायद यो कुरा सबैमा लागू हुन्छ होला । कोरोना वैश्विक समस्या बनेको छ आज । कतिपयले यसलाई सामान्य रुपमा लिइरहेको देख्छु । कम्तीमा यो भ्रमबाट चाहिँ मुक्त हुनुपर्छ । कोरोनालाई सामान्य नठानौं, यसले शारीरिक कष्ट नदिए पनि मानसिक कष्ट अन्त्यन्तै धेरै दिन्छ ।

कतिपय साथीभाइले मलाई भने, ‘भोजजी मलाई त राति सुतेपछि बिहान उठ्छु कि उठ्दिन जस्तो हुन्थ्यो ।’

हो, यस्ता थुप्रै मानसिक तनावले कोरोनाको समयमा गाँजिरहेको हुन्छ । तर, मलाई कहिल्यै त्यस्तो अनुभूति चाहिँ भएन । मानसिक तनाव भने भएकै हो । विशेषगरी सानो छोरी र छोरा भएकाले पनि केही बढी तनाव झेल्नुपरेको महसुस गरेँ । उनीहरुलाई पनि कोरोना भयो कि भन्ने डर मनमा रहिरहन्थ्यो । दैनिक उनीहरुको अनुहार र गतिविधि नियाल्थेँ तर, जतिदिनसम्म आइसोलेटेड भएर बसियो त्यो बेलासम्म उनीहरुमा समस्या देखिएन ।

परिवारमा मात्रै होइन, कोठा नजिक बसेका अन्य मित्रहरु तथा परिवारलाई पनि त्यो समस्या देखिएन । जसले गर्दा म सन्तुष्ट हुन्थेँ । थप मनोबल बढ्थ्यो । मनोबल यस्तो चिज रहेछ, जसले मान्छेलाई क्षण–क्षणमा बाँच्न प्रेरित गर्दो रहेछ । आइसोलेटेड भइञ्जेलसम्म मेरो आत्ममनोबल गिरेन । त्यसलाई थप धरान मेडिकल समूहकी उश्मा र मन्दिरा बहिनीहरुले सहयोग गरे । आइसोलेटेड भएको सातादिनपछि उनीहरुले दैनिक भाइबरमार्फत् सम्पर्क गरे । मेरो स्वास्थ्य अवस्था, खानाको डाइट चार्टलगायत पठाएर सहयोग गरे । उश्माप्रति ऋणी छु किनकि हरेक दिन उनले स्वास्थ्यमा कुनै समस्या आए–नआएको विषयमा सोधिरहिन् । अन्तिम क्षणसम्म उनीहरुले मेरो स्वास्थ्य अवस्थाबारेमा चिन्ता व्यक्त गरिरहे ।

म उहाँहरुप्रति आभारी छु । आभारीका पात्र मेरा अग्रज, साथीभाइ पनि हुनुहुन्छ, जसको नाम उल्लेख गर्दा केही लामो होला । जसले हरेक दिनजसो फोन तथा प्रत्यक्ष भेटघाट गरेर स्वास्थ्य लाभको कामना गरिरहे । उहाँहरुप्रति नतमस्तक छु । थप आभारी मेरा घरबेटी कुमार श्रेष्ठ र मलाई होम आइसोलेसनमा बस्नका लागि सहयोग गर्नुहुने रोइला राई, आवश्यक परेको बेलामा औषधिलगायतका सामग्री ल्याएर सहयोग गर्नुहुने कृष्ण सापकोटाप्रति ऋणी छु ।

कोरोना डरलाग्दो पनि छैन, यसको मतलव सामान्य पनि छैन । मृत्युसँग हरेक मान्छे डराउँछ । युद्धपोतमा उभिएको योद्धाको मनमा दुईवटा ज्वारभाटा चल्छन् सायद, या त युद्ध जितेर पुनः सामान्य अवस्थामा फर्किन्छु या त सहादत प्राप्त गर्नेछु । ऊ दोस्रो अवस्थासँग सधैँ नै चिन्तित र त्रसित हुन्छ । पहिलो अवस्था उसका लागि आत्ममनोबल हो भने दोस्रो उसका लागि डर र चिन्ताको भूमरी हो । यो भूमरीबाट बाहिर आउन सके मात्रै आत्मबल बढ्छ ।

रहेक दर्शनको एउटै मान्यता छ–कारण बिना कार्य हुँदैन । हरेक कार्य हुनका लागि कारण चाहिन्छ । कारण त्यो वस्तु हो, जो सृष्टिसँग अन्तरघुलित छ । नश्वर प्राणी हामी पनि सृष्टिसँग अन्तरघुलित छौं । त्यसैले पनि चिन्ता समस्याको समाधान होइन, त्यसलाई जित्नका लागि आत्मबल चाहिँ ठूलो अस्त्र हो । कोरोना लाग्दैमा सवस्र्व सकियो भन्ने अनुभूति हाम्रो अवचेतन मस्तिष्कमा छिराउनु हुँदैन । किनकि कुनै झुट कुरा पनि पटक–पटक भनेमा सत्य जस्तो लाग्छ । तर, सत्य होइन भनेर हाम्रो चेतन र अवचेतन मस्तिष्कमा छिराउन सक्यौं भने हाम्रो जित सुनिश्चित छ । कोरोनाको हकमा पनि त्यो गर्न जरुरी छ ।

आजको अवस्थामा कोरोनाबाट जतिको मृत्यु भएको छ, म दाबीका साथ भन्छु, तिनीहरुमा कोरोनाप्रतिको डर र आत्मबल कमजोर भएरै हो । र, अर्को चाहिँ अस्पतालले उचित उपचार नगरेकै कारणले कोरोना सङ्क्रमितहरु मृत्युको मुखमा पुग्न बाध्य छन् । अस्पतालका चिकित्सकहरुले यो कुरा स्वीकारुन्–नस्वीकारुन् अन्तिम सत्य यही नै हो । केही चिकित्सकले मसँग यस विषयमा खुलेर कुरा पनि गरेका थिए ।

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

भारतीय विदेश सचिव श ...

ब्लाष्टखबर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई ...

बिहिबार सुनचाँदीको म ...

ब्लाष्टखबर । नेपालमा बिहिबार सुनचादिकाे मुल्य स्थितर बन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved