इटहरी/ इटहरी क्षेत्रमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरीत सञ्चालनमा रहेका छन् । इटहरीको मुख्यबजार क्षेत्रमा समेत मासु पसलहरू मापदण्ड विपरीत सञ्चालित छन् । धेरैजसो व्यवसायीले खुल्लमखुल्ला मासु बिक्री गरिरहेका छन् ।

सामान्य मापदण्ड पनि पूरा नगरी व्यवसायीहरूले मासु काट्ने गरेका छन् । मापदण्डअनुसार व्यवसायीले मासु काट्दा र बिक्री गर्दा एप्रोन र मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । पसलमा डिप फ्रिज, जालीको व्यवस्था गरी, सफा पानी प्रयोग गर्नुपर्ने न्यूनतम् मापदण्डभित्र पर्दछ । तर, व्यवसायीले न्यूनतम् मापदण्डसमेत पूरा नगरी खुला रूपमा मासु बिक्रीवितरण गरिरहेका छन् । प्रायः सबै मासु पसलहरूमा मूल्यसूची समेत टाँसिएको छैन ।

धुलो, धुवाँ र फोहोरमा व्यवसायीले खुला रूपमा मासु बिक्री गर्दा पनि नियमनकारी निकायहरू मौन देखिन्छन् । उपभोक्ताको स्वास्थ्यलाई असर गर्ने गरी मासु बिक्री भइरहँदा पनि त्यसप्रति कसैको ध्याननगएको इटहरीका उपभोक्ता अर्जुन कार्कीको आरोप छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव पिताम्वर पोखरेलले मासु पसल मापदण्ड विपरीत भए अनुगमन गर्नुपर्ने बताए । मापदण्ड विपरीत मासु पसल सञ्चालनमा आएको भए अनुगमन हुनुपर्ने बताए । नेपालीहरूको मुख्य चाड नजिकिएसँगै मासु पसलहरूमा अनुगमन गर्न उनले पनि माग गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको मुख्यबजार आसपासमा रहेका दर्जनौं मासु पसलहरू अव्यवस्थित र खुल्ला रूपमै सञ्चालन हुँदैआएको माछामासु व्यवसायी सङ्घ इटहरीका अध्यक्ष नेत्रबहादुर पन्तले स्वीकार गरे । अधिकांश मासु पसलले मापदण्ड पूरा नगरी बिक्री वितरण गर्दै आएको उनी बताउँछन् । जथाभावी मासु पसलहरू सञ्चालन हुँदा लाखौं रुपैयाँ लगानी गरेर खोलेको मासु पसलहरू सङ्कटमा परेको उनी बताउँछन् । मासु व्यवसायीहरूको मनपरी भएको अध्यक्ष स्वयम् स्वीकार गर्छन् ।

व्यावसायिक रूपमा मासु बेच्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने बताउँछन् नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जन । मासु तथा माछा पसलमा बेला–बेला अनुगमन गरिरहनु पर्ने उनको भनाइ छ । माछामासु पसल अनुगमन गर्न स्थानीय सरकारलाई आग्रह गर्ने समाजका अध्यक्ष डुम्जनको भनाइ थियो ।

नागरिकको स्वास्थ्यलाई असर गर्ने गरी खुला ठाउँमा धुलो धुवाँसहित सञ्चालित अव्यवस्थित मासु पसल व्यवस्थित गर्ने इटहरी उपमहानगरका बजार अनुगमन समितिका नवलकिशोर भट्टराईले बताए । कोरोनाको कारण केही समयदेखि बजारका मासु पसलहरू अनुमगन नभएको बताउँदै तत्काल बजार अनुगमन गरिने बताए । कोरोनाको कारण कार्यालय बन्द भएको र कार्यालय सुचारु भएलगत्तै बजार अनुगमन गरिने उनको भनाइ थियो ।

बधशालाको कन्तबिजोक
इटहरी बजारभरि जथाभावी सामान्य मापदण्डसमेत पूरा नगरी मासु पसलहरू सञ्चालनमा आए पनि इटहरीमै कराडौं लगानीमा निर्माण भएको व्यवस्थित बधशालाको भने कन्तबिजोक छ । बधशालाकै लागि बनाएको भौतिक संरचनाहरू अझै प्रयोगविहीन छन् ।

तर, व्यवस्थितस्थलको अभावमा मासु व्यवसायीहरूले भने खुल्ला ठाउँमै पशुबध गरी मासु बिक्रीवितरण गरिरहेको पाइन्छ । लामो समयदेखि बधशाला सञ्चालनमा नआउँदा करोडौं लगानीमा निर्मित बधशाला लथालिङ्ग हुन पुगेको छ । आवास तथा शहरी विकास विभाग तथा कृषि विकास विभाग र इटहरी उपमहानगरको ३ करोड बढी साझेदारीमा इटहरीको मुख्य बजार क्षेत्रमा निर्माण सम्पन्न भएको इटहरी पशु बधशाला तथा तरकारी र फलफूल बजारस्थल यतिखेर दुर्गन्धित र अव्यवस्थित छ ।