विराटनगर/ अनुगमन टोली आएको देखेपछि विराटनगर–४ नोबेल शिक्षण अस्पतालअगाडि रहेका १८ वटा औषधि पसल बन्द गरेर सञ्चालकहरू फरार भएका छन् ।

औषधि व्यवस्था विभाग विराटनगर शाखा कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलको नेतृत्वमा निस्किएको टोली देखेपछि यहाँ रहेका अधिकांश फार्मेसी बन्द गरी सञ्चालकहरू फरार भएका हुन् ।
औषधि पसलहरूमा विकृति बढेको जनगुनासो आएपछि विभागले सोमबार अनुगमन गरेको थियो । विराटनगर अस्पताल (विराट नर्सिङ होम) भित्रको फार्मेसीसहित आधा दर्जन औषधि पसल अनुगमन गरेपछि विभागको टोली नोबेल अस्पतालअगाडिका फार्मेसीमा अनुगमनमा गएको थियो । अनुगमन टोली आएको पत्तो पाएलगत्तै फार्मेसी सञ्चालक फरार भए ।

अनुगमन टोली आएको जानकारी पाएपछि फार्मेसी बन्द गरेर भाग्नेहरूमा शिव पावर्ती फार्मेसी, कोहिना मेडिकल हल, धनुषा फार्मेसी, बूढासुब्बा फार्मेसी, कास्मि फार्मेसी, सिद्धार्थ फार्मेसी, सुजता फार्मेसी, चाहना फार्मेसी, सहलेश मेडिकल हल रहेका छन् । यस्तै समर फार्मेसी, किर्पा फार्मेसी, जोया फार्मेसी, शान्ता फार्मेसी, परिचय फार्मेसी, जनता मेडिको, जस्मित फार्मेसी, सिरहाली फार्मेसी र हरिहोम मेडिकल हलका सञ्चालक अनुगमन टोली आएको देखेपछि फरार भएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए । ‘अनुगमन टोली आएको देखेपछि एकपछि अर्को गर्दै सटर बन्द गरी सञ्चालकहरू फरार भए’ फार्मेसी निरीक्षक खड्काले भने, ‘बन्द गरेको फार्मेसीलाई एक साताभित्रमा औषधि व्यवस्था विभागको शाखा कार्यालयमा उपस्थित हुन पत्र काट्नेछौं । उपस्थित नहुने फार्मेसीलाई कारबाहीको दायरामा ल्याउछौं ।’

औषधि बिक्री गर्न पसलमा अनिवार्य ‘फर्माशिष्ट’ पढेको व्यक्ति हुनुपर्दछ । तर, नोबेलअगाडिका अधिकांश व्यवसायीहरूले फर्माशिष्ट नराखी औषधिको बिक्रीवितरण गर्ने, औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधिसमेत बिक्री गर्ने गरेकोले सञ्चालक फरार भएको स्रोतले बताए । ‘फार्मेसी क्षेत्रमा विकृति बढेको जनगुनासो आएपछि अनुगमनमा हिँडेका थियौं’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘नोबेलअगाडिका अधिकांश फार्मेसीहरू बन्द गरेर सञ्चालक फरार भए । फरार भएका सबैको लिष्ट तयार भएको छ । उनीहरू सबैलाई पत्र काटेर कार्यालयमा अनिवार्य उपस्थित गराउँछौं ।’

यसअघि पनि औषधि व्यवस्था विभाग विराटनगरको टोली नोबेलअगाडिका फार्मेसी अनुगमन गर्न जाँदा पसल बन्द गरेर सञ्चालक फरार भएका थिए । बारम्बार अनुगमन टोली जाँदा फरार हुनुले पनि विभागमा दर्ता नभएका औषधिको बिक्री वितरण र चिकित्सकले लेखेको भन्दा फरक औषधि बिक्री गरेको हुनसक्ने विभागले पनि आशङ्का गरेको छ ।

नोबेललाई आफ्नै फार्मेसी राख्न निर्देशन
अस्पताल फार्मेसी निर्देशिकाअनुसार अस्पताल आफैले औषधि पसल सञ्चालन गरिनुपर्ने मापदण्ड छ । तर, विराटनगरस्थित नोबेल मेडिकल अस्पतालले महँगो भाडा लिएर सुस्वास्थ्य फार्मेसी र मेडिकियन फार्मेसी दुईवटा फार्मेसी सञ्चालन गर्न दिएको छ । निर्देशिका अनुसार नोबेल अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न औषधि व्यवस्था विभाग विराटनगरले निर्देशन दिएको छ । ‘अस्पताल निर्देशिकाअनुसार आफ्नै फार्मेसी हुनुपर्दछ’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले भने, ‘६ महिनाभित्रमा अस्पताल आफैले फार्मेसी सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

दुईवटा फार्मेसी बन्द
विराट नर्सिङ होमअगाडिका दुईवटा फार्मेसी बन्द गरिएको छ । मापदण्ड अनुसार सञ्चालन नगर्ने दुईवटा फार्मेसी आइतबार बन्द गरिएको हो । समर फार्मेसी र सिंहदेवी फार्मेसी बन्द गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार समर फार्मेसीमा फर्माशिष्ट पढेका व्यक्ति नराखी औषधि बिक्री वितरण गरेको पाइएपछि बन्द गरिएको बताए । त्यस्तै सिंहदेवी फार्मेसी मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि बन्द गरिएको उनले बताए । औषधि व्यवस्था विभागले फार्मेसी बन्द गरेर गएको दुई घण्टा बित्न नपाउँदै व्यवसायीले पुनः पसल खोलेको पाइएको थियो ।

medical-anugaman1 medical-anugaman medical-anugaman2