धरान/ कोरोना महामारी रोकथामका लागि घोषित लकडाउन अवधिमा धरानको व्यापार–व्यवसायले व्यहोर्नु परेको क्षतिको अनुमान गर्न थालिएको छ । यसरी अनुमान गर्दा दुई महिनाभन्दा लामो लकडाउनमा धरानको आन्तरिक खपत मात्र नभई धरानको उत्तर–दक्षिण व्यापारले पुर्याउने राष्ट्रिय योगदान समेट्न जरुरी हुन्छ ।

महाभारत चुरे शृङ्खलासँग जोडिएको १ सय ९२ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धरान करिब ३१.९२ क्षेत्रफलमा मात्रै व्यापार–व्यवसाय चलायमान छ । यही व्यापार–व्यवसायले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा लगभग २.५ प्रतिशत योगदान दिन्छ । क्षेत्रफलका हिसाबले सानो भए पनि ‘उत्तर–दक्षिण व्यापारका लागि धरानले ठूलो व्यापार सेवा पु¥याएको’ केन्द्रीय तथ्याङ्क विभाग २०७४ को प्रतिवेदनमा उल्लेख छ । आर्थिक एकाइ सूचीकरण २०७३ का अनुसार धरान, इटहरी, दुहबी र इनरुवामा मात्रै ९ हजारभन्दा बढी व्यापारिक तथा औद्योगिक प्रतिष्ठान रहेको उल्लेख छ । देशको जीडीपीमा थोरै भए पनि योगदान दिने धरानको व्यापार– व्यवसाय कोरोनाको प्रभावबाट अलग रहन सकेको छैन ।

प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको ४९ नम्बर बुँदामा ‘व्यापार–व्यवसायमा परेको नकारात्मक प्रभाव, असहज अवस्थालाई ध्यानमा राखी करका दायरा, दर तथा अन्य बाधा अड्चनलगायत क्षेत्रमा पुनरूत्थान तथा आवश्यक प्रोत्साहनको प्याकेज ल्याई सहजीकरण गरिनेछ’ भनेर उल्लेख गरिनुले नै कोरोना प्रभाव मूल्याङ्कन गर्न सकिन्छ । अर्थसम्बन्धी जानकार व्यवसायी कृष्णकुमार अग्रवाल भन्छन्, ‘कोरोनाले धरानको व्यवसायलाई ७० प्रतिशतमा खुम्च्याइदिएको छ ।’

धरानमा सबै व्यवसायबाट ८५ अर्ब बराबरको वार्षिक कारोबार हुने गरेको छ । लकडाउनको यो तीन महिनामा करिब २ सय २० करोड क्षति व्यहोर्नु परेको व्यवसायी अग्रवालको तर्क छ । तर, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा तीन महिनाको अवधिमा करिब ३ सय करोडको क्षति व्यहोर्नुपरेको बताउँछन् । यसको प्रभाव अझै केही सयमसम्म परिरहनेछ । जबकि सुनसरी उवासङ्घमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वस्तुगत, वाणिज्य, उद्योग, एसोसिएट गरी १८ सय व्यापारिक प्रतिष्ठान नवीकरण छन् ।

उवासङ्घसँग आबद्ध धरान उपहार तथा मनिहारी व्यापार सङ्घका अध्यक्ष रामस्वरूप शर्माका अनुसार लकडाउनपछि मात्रै करिब १४ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबर क्षति व्यहोर्नु परेको छ । आर्थिक वर्ष २०७५÷७६ मा ७५ करोड कारोबार गरेको सङ्घले चालू आ.व.को चैत १० गतेसम्म ५६ करोड २५ लाख रुपैयाँ मात्रै कारोबार भएको छ । त्यसैगरी धरान मदिरा व्यवसायी सङ्घका अध्यक्ष नवीन तामाङका अनुसार तीन महिनाको अवधिमा ६० करोड घाटा व्यहोर्नु परेको छ । सङ्घले वार्षिक २० अर्ब ४० करोड बराबरको मदिरा बिक्री गर्दै आएको छ । यता सुन–चाँदी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष किशन मास्केका अनुसार तीन महिनाको अवधिमा १६ करोड १० लाख रुपैयाँ क्षति व्यहोर्नु परेको छ । वार्षिक ४८ करोड २० लाख बराबर कारोबार गर्ने गरेकोमा चालू आर्थिक वर्षको लकडाउन अघिसम्म ३२ करोड १२ लाख रुपैयाँ मात्रै कारोबार भएको छ । यी प्रतिनिधि व्यवसायी सङ्गठनको तथ्याङ्कबाटै पनि कोरोनाले व्यवसायमा कस्तो प्रभाव पारेको छ भन्ने बुझाउँछ ।

उवासङ्घले जेठ २९ गते अनिल अग्रवालको संयोजकत्वमा ‘घरबहाल समस्या समाधान समिति’ गठन गर्नुले पनि प्रभावलाई केही आँकलन गर्न सकिन्छ । यो समितिको उद्देश्य ‘घरबहालमा छुट गर्नका लागि घरधनीलाई उत्प्रेरणा गराउने र छुट गर्ने घरधनीलाई सम्मान गर्ने’ रहेको कार्य समिति सदस्य विष्णु बराल बताउँछन् । त्यसो त कर छुट, घरबहाल छुटको माग गर्दै पटक–पटक अर्थ मन्त्रालयमा ज्ञापन–पत्र पठाएको छ । यसलाई थप पुष्टि गर्ने गरी धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा र सुनसरी हेर्ने धरानको आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्ष ५ अर्ब ७० करोड कर सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ३ अर्ब ३८ करोड मात्रै कर सङ्कलन गरेको छ ।

‘लकडाउन अगाडिसम्म हामी लक्ष्यको ९३ प्रतिशत नजिक पुगेका थियौं भने लकडाउनले ७० प्रतिशतमा झ¥यौं’–प्रमुख कर अधिकृत तीर्थराज बराल भन्छन् । यसले पनि आर्थिक रूपमा कोरोनाको प्रभाव बुझ्नलाई मद्दत गर्छ । आर्थिक विधेयक २०७७ को दफा २५ मा कोभिड १९ को सङ्क्रमणको कारण व्यापारमा परेको प्रभावलाई लक्षित गर्दै कर छुटमा सहुलियतसम्बन्धी व्यवस्था गरेको छ । उक्त दफाको उपदफा १ मा वार्षिक बीस लाख रुपैयाँसम्मको कारोबार वा दुई लाखसम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई आर्थिक वर्ष २०७६÷७७ मा लाग्ने करमा पचहत्तर प्रतिशत छुट हुने व्यवस्था उल्लेख छ । यो विधेयक पनि व्यापार–व्यवसायमा कोरोनाको प्रभाव मूल्याङ्कन गर्न काफी छ ।

नपालाई करिब २ करोड योगदान
धरान उपमहानगरपालिकामा १० हजारभन्दा बढी साना–ठूला व्यवसाय दर्तामा छन् । यसमा कतिपय आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर (पान) लिनेहरू पनि छन् । जसमा ठूला व्यापारीहरू न्यून मात्रै रहेको धरान उपमहानगरपालिकाको राजस्व महाशाखा बताउँछ । महाशाखाको तथ्याङ्कमा १० हजार २ सय ४७ व्यवसाय दर्ता रहेको महाशाखा अधिकृत तथा सूचना अधिकारी खगेन्द्रप्रसाद खतिवडा बताउँछन् । यी व्यवसायबाट गत आर्थिक वर्षमा एक करोड ७६ लाख २७ हजार ६ सय ६६.२५ रुपैयाँ कर सङ्कलन भएको देखिन्छ । चालू आ.व.को वैशाखसम्म एक करोड ८६ लाख ५४ हजार २ सय ८१ रुपैयाँ कर सङ्कलन गरेको देखिन्छ । असार मसान्तसम्म अझै बढ्ने अधिकृत खतिवडा बताउँछन् । यसबापत व्यवसायीले धरान उपमहानगरपालिकाबाट सरसफाइ, बिजुलीबत्ती र आंशिक सुरक्षाको प्रत्याभूति पाउँछन् । ‘नगरपालिकाबाट केही छैनभन्दा सरसफाइ, बिजुलीबत्ती र आगजनी हुँदा दमकलको सुविधा दिएकै छ’ व्यवसायी तथा अर्थसम्बन्धी जानकार कृष्णकुमार अग्रवाल भन्छन्, ‘नगरपालिकाले कम्तीमा बिमा स्किमहरू ल्याएर धेरैभन्दा धेरै व्यवसायीलाई जोडोस् भन्ने हाम्रो माग हो ।’

जीडीपीमा योगदान
सन् २०१५ को तथ्याङ्कलाई केलाउँदा धरानले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.२५ प्रतिशत योगदान दिँदै आएको अर्थविज्ञ डा. राजेन्द्र शर्मा बताउँछन् । केन्द्रीय तथ्याङ्क विभागले तत्कालीन अवस्थामा सार्वजनिक गरेको तथ्याङ्कमा धरानले सो हाराहारीमा योगदान दिँदै आएको उनको भनाइ छ । अहिले यो बढेर २.५० प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्यलाई आधार मान्दै अर्थसम्बन्धी जानकार अग्रवालका अनुसार २.५० प्रतिशत योगदान दिँदै आएको बताए । प्रदेश १ ले देशको जीडीपीमा १५.८२ प्रतिशत योगदान गर्दै आएको प्रदेश सरकारले हालै जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । तर, कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा सुनसरीका औद्योगिक उत्पादन ५० दिनसम्म पूर्ण प्रभावित बने । त्यस समयमा औद्योगिक उत्पादन लगभग शून्यमा झ¥यो । जसको प्रत्यक्ष असर जीडीपीलाई पर्ने अर्थसम्बन्धी जानकार अग्रवाल र अर्थविज्ञ डा. शर्माको तर्क छ । अग्रवालका अनुसार जीडीपीलाई महत्वपूर्ण योगदान दिँदै आएको धरानको औद्योगिक क्षेत्र, कृषि बजार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हो ।

विश्व बैङ्कले कोरोना महामारी शुरु भएपछि गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा खुम्चिने जनाइसकेको छ । एशियाली विकास बैङ्कले कोरोना महामारीका बेला जारी गरेको एक तथ्याङ्क थप रोचक छ । उसले विश्व अर्थतन्त्रमा २.३ देखि ४.८ ट्रिलियन डलर बराबरको क्षति व्यहोर्नुपर्ने उल्लेख गरेको छ । जसको असर अनुरूप विश्वभर करिब दुई करोड ५० लाख मानिसले रोजगार गुमाउने छन् ।
(धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा सञ्चालित पत्रकार लेखनवृत्ति कार्यक्रमका लागि तयार परिएको फिचर)