धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ल्याएर तामझामका साथ उद्घाटन गरिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा संक्रमित नराखेर पेइङ वार्डतिर राखेको पाइएको छ ।

वैशाख १३ गते उद्घाटन गरिएको कोभिड अस्पतालमा नराखेर झापालगायत स्थानबाट ल्याएका कोरोना संक्रमितलाई पेइङ वार्डतिर राखेका कारण थप जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । बीपी प्रतिष्ठान स्रोतका अनुसार हाल कोभिड १९ अस्पतालमा एक जना पनि बिरामी राखिएको छैन । सबै पेइङ वार्डतिर राखिएको छ । जसका कारण थप जोखिम बढेको छ । कोभिड अस्पतालमा उपकरणहरू जडान नभएको स्रोत बताउँछ । मुख्यमन्त्री राईले उद्घाटन गर्दा आंशिक समयका लागि ५ वटा भेन्टिलेटर जडान गरेको देखाइएको थियो । उद्घाटन भएको केही समयपछि नै फेरि त्यहाँबाट हटाइएको छ ।

भेन्टिलेटरसहितको सुविधा सम्पन्न कोभिड अस्पताल बनेको दाबी गरेका प्रतिष्ठानमा हालै नियुक्त भएर आएका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले उक्त अस्पताललाई हालसम्म सञ्चालनमा ल्याउन सकेका छैनन् । एक महिलासहित २७ जना संक्रमितहरूलाई पेइङ वार्डमा राखेका कारण थप संक्रमणको जोखिम बढेको अन्य बिरामीका आफन्तले पनि बताए । एक आफन्तले ब्लाष्टकर्मीलाई भने, ‘कोभिड अस्पतालमा नराखेर बिरामी त यता पेइङ वार्डतिर राखेको रहेछ, यस्तो हुँदा अरू बिरामीलाइ पनि जोखिम बढेकाे छ ।’

यस विषयमा बुझ्नका लागि प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई फोन सम्पर्क गर्दा फोन उठाएनन् । यता प्रवक्ता डा. निदेश सापकोटाले प्रतिष्ठानमा निर्माण गरिएको कोभिड अस्पताल ‘लेभल थ्री केयर सेन्टर’ भएकाले त्यहाँ डायलसिस, भेन्टिलेटरमा राख्नुपर्ने वा सल्यक्रिया गर्नुपर्ने अवस्था आएमा मात्रै राखिने बताए । र, कम्तीमा पनि ७० जनाभन्दा बढी संक्रमित भइसकेको अवस्थामा कोभिड अस्पतालमा राख्ने गरी व्यवस्था गरिने उनले बताए ।

‘बिरामीलाई भेन्टिलेटर चाहियो, सिरियस बिरामी लगेर राख्ने हो’ उनले फोन सम्पर्कमा भने,–‘कम्तीमा ७० जना भइसकेपछि ठाउँ सार्न सकिन्छ । अहिले पेइङको सुविधा सम्पन्न आइसोलेसनमा राखिएको छ । अरू गम्भीर संक्रमित आएको अवस्थामा त कोभिड अस्पतालमै राख्ने हो ।’

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले आफूहरूलाई यस विषयमा सुरूवाती चरणमा औपचारिक रूपमा जानकारी नभएकाे बताए । उनले भने, ‘बाहिरबाट ल्याएको भन्ने मैले पनि समाचारहरूमा थाहा पाएँ, त्यसपछि उपकुलपतिको कार्यकक्षमा शुक्रबार औपचारिक बैठक बसेर यस्ता कुरा उपमहानगरसँग पनि आदानप्रदान गर्नुपर्छ भनेर भिसीलाई भनियो ।’

उनका अनुसार उक्त बैठकमा उपकुलपति डा. गिरीले प्रदेश मन्त्रालयले मोरङको गोठगाउँमा अस्पताल नबनिञ्जेलसम्मको लागि राख्न आग्रह गरेका कारण यहाँ ल्याएर राखिएको जानकारी गराएका थिए । ‘दुईचार दिनमा सिफ्ट गर्ने भनेर हामीलाई भन्नुभएको हो’ उनले भने, ‘वार्डतिर राखियो भन्ने सुनेकै कारणले बैठकमा बसेका थियौं । सुरुमा जानकारी नभएकै हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा १०० बेड क्षमताको बनेको छ । १२ करोड ५० लाख रुपैयाँको लागतमा स्थापना गरिएको कोभिड अस्पतालमा भेन्टिलेटरसहित १३ आइसियु बेडलगायत रहेका छन् ।