उदयपुर /  उदयपुरको भुल्केमा भारतीय जमातीसहित स्थानीयवासीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि त्यसबारे विस्तृत बुझ्न सङ्घीय सरकारले वैशाख दोस्रो हप्तातिर काठमाण्डूबाट स्वास्थ्यविज्ञहरूको एउटा टोली आएको थियो ।

भुल्केमा कुल २८ जना सङ्क्रमित पाइएकोमा ११ जना भारतीय र बाँकी नेपाली थिए।

पहिलो परीक्षणपछि वैशाख ४ गते नतिजा आयो र ११ भारतीय जमाती एवम् एक नेपालीमा सङ्क्रमण भएको पुष्टि भयो।

त्यसपछि वैशाख ७ गते ६९ जनाको परीक्षण गर्दा थप १२ जनामा सङ्क्रमण देखियो। वैशाख १० गते परीक्षण गर्दा अर्का तीन जनामा पोजिटिभ देखियो।

त्यसपछि वैशाख ११ गते थप एक व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भयो।

जमातीहरूले कोरोनाभाइरस सङ्क्रमण सारेको र मस्जिदभित्र लुकेर बसेको भन्दै कतिपय सञ्चारमाध्यममा समाचारहरू आइरहँदा सरकारले विज्ञहरूको टोली खटाएको हो ।

तीन सदस्यीय उक्त टोलीले स्थानीय स्वास्थ्यकर्मी, मुस्लिम तथा अन्य समुदायका व्यक्ति र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका स्थानीय प्रतिनिधिलाई भेटेर वस्तुस्थिति बुझ्ने काम गरेको थियो ।
टोलीले सरकारलाई उदयपुर अध्ययनको प्रतिबेदनसमेत बुझाइसकेको बताइएको छ ।

जमातीहरूबाट कोरोनाभाइरस सरेको थियो र जमातीहरू लुकेर बसेका थिए भन्ने आरोप गलत भएको टोलीको निष्कर्ष छ।

टोलीका एक सदस्यले यस्तो बताए
हामीले कन्ट्याक्ट ट्रेसिङबाट के पायौँ भने भुल्केका तीनजना बासिन्दा लकडाउन हुनुभन्दा तीन दिनअघि विदेशबाट आएका रहेछन्।

दुईजना भारतको सूरत र लखनउबाट तथा एकजना दुबईबाट फर्केका रहेछन्। उनीहरू तीनैजना सङ्क्रमित भएको पाइएपछि अस्पताल भर्ना गरिएका थिए।

तीन जनामध्ये एकजना सूरतमा कपडा सिलाउने टेलर मास्टर रहेछन् भने अर्को लखनउमा पढ्ने विद्यार्थी र तेस्रो व्यक्ति दुबईमा काम गर्ने पुरुष रहेछन्।

हामीले ती तीनजना र भारतीय जमातीहरूको विगतका यात्रा विवरणबारे बुझेर त्यसको ुइपिडिमियोलोजिकल रिलेशनु हेर्‍यौँ।

यात्रा विवरण
जोगबनी नाकाबाट आएर जमातीहरू भुल्केको मस्जिदमा बसेको त्यतिबेला २२ दिन पुगेको रहेछ। उनीहरू चार महिनाअघि नै नेपाल आएको पाइयो।

सङ्क्रमितहरूमध्ये लखनउ पढ्ने नेपाली युवक सबैभन्दा पछि नेपाल फर्केका रहेछन्। उनी आएको र भुल्केमा मानिसहरू सङ्क्रमित भएको मितिमा एक महिनाको मात्रै अन्तर रहेछ।

उनी र उनको परिवारका चार जनासहित एकै घरका पाँचजना सङ्क्रमित भएको देखियो।

उदयपुरस्थित मस्जिदमा बसेकामध्ये कतिपयमा सङ्क्रमण पाइएको थियो
उनीसँग घटनाको अर्को सम्बन्ध के देखियो भने उर्दू भाषा जान्ने भएकोले भारतीय जमातीहरूसँग बिहानीदेखि बेलुकासम्म उनले समय बिताउँदा रहेछन्।

उनले जमाती समूहको किनमेलमा सघाउनेदेखि उनीहरूसँगै खाना खाने रहेछन्।

'जमातीबाट सङ्क्रमण होइन'
त्यसबाट हामीले के स्थापित गर्‍यौँ भने ती नेपाली विद्यार्थीबाट जमातीहरूलाई सङ्क्रमण सरेको हो, जमातीले सङ्क्रमण सारेका होइनन्।

सरसर्ती हेर्दा स्थानीय सङ्क्रमण हो भन्ने हामीले एउटा ुहाइपोथेसिसु बनायौँ। र, हामीले माथि त्यही कुरा जानकारी गरायौँ।

त्यसपछि हामीले त्यहाँका मेयर तथा उपमेयरलाई के भन्यौँ भने सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका र ुट्राभल हिस्ट्रीु जति लिन सक्यौँ हामीलाई सङ्क्रमित को(को हुन् भन्ने पत्ता लगाउन उति नै सजिलो हुन्छ।

अनि पीसीआर कसलाई गर्ने र आरडीटी कसलाई गर्ने भन्ने कुरा त्यसले बाटो देखाउँछ भनेर भन्यौँ।

त्योभन्दा अगाडि त भुल्केमा सबैको परीक्षण भइसकेको थियो। भुल्के अन्यत्र उहाँहरूले ुस्याम्पलिङुका आधारमा परीक्षण गर्दै आएकोमा हामीले भनिसकेपछि अलि व्यवस्थित रूपमा उहाँहरूले परीक्षण शुरू गर्नुभयो।

हामी पुग्दा त्यो गाउँ सील गरिएको थियो। त्यहाँका स्थानीय बासिन्दाहरूको मनोबल अनि मनोविज्ञान के कस्तो छ भन्ने हिसाबले बुझ्न पनि हामी त्यहाँ गएका थियौँ।

बाहिर हामीले सुन्दा उनीहरू एकदमै असहयोगी छन्, केही भन्दैनन्, लुक्छन् भन्ने कुरा थिए तर हामीले त्यस्तो पाएनौँ। हामीहरू गएपछि बाहिर आएर ठ्याक्क हामीले सोधेका कुराहरू उहाँहरूले राम्रोसँग बताउनुभयो।