धरान । कोरोनाभाइरसको महामारीका बेला नमूना सङ्कलन गरेर पत्ता लगाउने प्रविधिमध्ये आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र पिसिआर (पोलिमरेड चेन रियाक्सन) मानिन्छन् । तर, पछिल्लाे समय नेपालमा प्रयाेग भइरहेकाे आरडिटीकाे विश्वसनीयताप्रति प्रश्न उठिरहेकाे छ । 

अहिले कतिपय स्थानमा आरडिटीको माध्यमबाट कोरोना भए/नभएको पत्ता लगाउने काम भइरहेको छ । कतिपय स्थानमा नेगेटिभ (संक्रमण नभएकाे) रिपाेर्ट अाए पनि पिसिआरमा पोजेटिभ देखिएको छ । जसले गर्दा नागरिकमा एक खाल्को भ्रम सिर्जना भइरहेको छ । तर, विज्ञहरू भने पिसिआरलाई मात्रै विश्वास गर्नका लागि आग्रह गरिरहेका छन् ।

पहिलो परीक्षण (आरडिटी) लाई स्क्रिनिङको रूपमा मात्रै लिइन्छ । यो सतप्रतिशत हुँदैन । ‘यसबाट तत्कालका लागि संक्रमितमा कोरोना छ÷छैन भन्ने विषयमा सामान्य जानकारी दिनसक्छ । तर, सतप्रतिशत मानिँदैन’–केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभागका विभागीय प्रमुख धिरेन लिम्बू भन्छन् । उनका अनुसार आरडिटी गर्दा सुरुमा संक्रमितको आशङ्का लागेकाहरूको १० देखि १५ माइक्रोलिटर रगतको नमूना संकलन गरिन्छ । त्यसमा ९० माइक्रोलिटर बफर हालिन्छ । बफर रसायनिक तत्त्व हो । बफरको सहायताले नमूना संकलन गरिएको रगतमा सरेर जान्छ ।

प्रशुति भए/नभएको पत्ता लगाउने किटजस्तै हुने उक्त किटमा कन्ट्रोल (सी) र टेष्ट (टी) लेखिएको हुन्छ । यदि सीमा कोरोनाको संक्रमण छैन भने ‘पर्पल कलर’ को धर्का आउँछ । सी र टी दुवै धर्का आएको खण्डमा त्यसलाई पोजेटिभ भएको मानिन्छ । ‘यदि सीमा आयो, टीमा आएन भने नेगेटिभ मानिन्छ’ उनले भने, ‘तर, आरडिटीलाई सतप्रतिशत मान्न सकिँदैन । यसमा कहिलेकाहीँ नेगेटिभ आएको आशङ्का भएका संक्रमित पनि पिसिआरमा परीक्षण गर्दा पोजेटिभ पनि आउन सक्छ ।’ आरडिटीमा पोजेटिभ (संक्रमण) देखिएको व्यक्तिमा पिसिआरमा नेगेटिभ आएमा पोजेटिभ फल्स र नेगेटिभ (संक्रमण) नभएको देखिएको व्यक्तिमा पिसिआरमा पोजेटिभ देखिएमा नेगेटिभ फल्स भनिन्छ ।

यो प्रविधिलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र फुड एण्ड ड्रग एड्मिस्ट्रेसन (एफडीए) ले आधिकारिता दिएको छैन । डब्ल्युएचओ र एफडीएले मान्यता प्रदान गरेको भनेको पिसिआर नै हो । यो एकमात्रै विश्वस्तरीय प्रविधि हो । त्यसमा पनि आरटिपिसिआर (रियल ट्रान्सक्रिप टेष्ट पोलिमेरेड चेन रियाक्सन) लाई डब्ल्युएचओ र एफडीएले मान्यता दिएको छ । जसले शरीरमा सानो अंशमा पनि कोरोना भाइरस रहेको अवस्थामा पत्ता लगाउँछ । तर, यो प्रविधिले क्षणिक समयमै रिजल्ट दिन सक्दैन । बीपीमा हाल सञ्चालन भइरहेको पिसिआरले प्रत्येक ८ घण्टामा रिपोर्ट दिने गरेको छ । महामारीको रूपमा फैलिएको कोरोना ‘आरएनए’ जेनेटिक भएको भाइरस हो ।

पिसिआरमा टेष्ट गर्दा थोरै नम्बरमा भाइरस छ भने पनि धेरै नम्बरमा एम्लिफाइ गरेर पत्ता लगाइदिने काम गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका एडिसनल प्रा.डा. नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार नमूना संकलन गरिसकेपछि जीनका टुक्राहरूमा भाइरस छन् कि छैनन् भनेर परीक्षण गरिन्छ । जीनका टुक्राहरूमा भाइरस भेटिए प्रमाणित हुन्छ । त्यो भाइरस कतिदिनसम्म व्यक्तिको शरीरमा रहन्छ भन्ने विषयमा चाहिँ उसको प्रतिरोधात्मक क्षमता (एण्टी बडी) मा भर पर्छ । व्यक्तिमा रोगसँग लड्ने क्षमताअनुसार भाइरस ढिलो र छिटो क्लियर हुने हुन्छ ।

बीपीमा नमूना संकलनको आधारमा एक दिनमा १ सय २० जनासम्मको पिसिआर टेष्ट हुन सक्छ । तर, नमूना संकलनमा ढिलाइ वा ढिलो गरी आइपुगेको खण्डमा भने त्यो मात्रामा टेष्ट हुन नसक्ने डा. भट्टराई बताउँछन् ।