धरान / लिम्बु समुदायले मनाउदै आएको परम्परागत मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम शनिबार सकिएको छ । धरानको चुम्लुङ हिममा याक्थुङ चुम्लुङले चारदिने चासोक तङ्नाम सांस्कृतिक पर्यटन उत्सवको रुपमा मनाएको थियो ।
उक्त अवसरमा चुम्लुङले मुन्धुमका तिनै विद्यामा दक्ष येवा÷येमानी, साम्बा र फेदाङ्बा बोलाएर विधिवतरुपमा न्वागी उत्सव मनाएको थियो । चुम्लुङले पहिलो पटक याग्राङ्सिङ उठाएर तङ्सिङ तक्मा गरेको थियो । उत्सवका मुल संयोजक मोहन हुक्पाचोङ्बाङ्का अनुसार लिम्बु समुदायको याक्थुङ मुन्धुम अनुसार चासोक तङ्नाम मनाइएको थियो । उनकाअुनसार आदिम कृषीयुगसंग सम्बन्ध राख्ने चासोक तङ्नामको बारेमा मुन्धुममा बर्णन गरिएको छ । लिम्बुसमुदायले नया अन्नबाली पाकेरपछि आफ्नो इस्टदेवीलाइ कृतज्ञताकालागि अपर्ण गरेपछि खाने उत्सव नै चासोक तङ्नाम हो ।
चुम्लुङ्ले चासोक तङ्नामलाई बास्तविकरुपमा मनाउन येवा÷येमानी, साम्बा र फेदाङबा ल्याइएको थियो । चासोक मुन्धुम वाचनकालागि सन्तवीर नाल्बो लिम्बु, विजय लिम्बु लगायतको टोली सहभागी भएका थिए ।येवाले याग्राङ्सिङ उठाएर आंखी डाही, गाली सराप बगाउने गर्छ फेदाङ्बाले घरको देउदेउता मन्साउने गर्छ । साम्बाले सामाजिक पारिवारिकरुपमा इष्टमित्र, कुलकुटुम्बमा सुख शान्तिको कामना, अन्नबाली उत्पादन वृद्धिको प्रार्थना, धन दौलत, शौर्यताको प्राप्तीकालागि तागेरानिङ्वाफुमाङ (प्रकृति) संग मुन्धुम फलाक्ने गर्छ ।
मुन्धुम र याक्थुङ लिम्बु वीचको सम्बन्ध नछुटिनेगरी जोडिएको र मुन्धुमविना याक्थुङ लिम्बुको अस्तित्व नै नरहने भएकाले चासोक तङ्नामलाई मुन्धुम अनुसार मान्नकालागि जानकार येवा येमानी, साम्बा र फेदाङ्बा नै ल्याएर धरानमा चारदिने न्वागी उत्सव मनाएका मोहन हुक्पाचोङबाङ्ले बताए । उनकाअनुसार चारदिने चासोक तङ्नाममा आफ्नो मौलिक पहिरनमा लिम्बु समुदायका युवायुवतीहरु सजिएर सामुहिक रुपमा यालाङ (धाननाच) र के लाङ (च्याब्रुङ नाच), हाक्पारे, पक्लुङ जस्ता सांस्कृति प्रदर्शन गरेका थिए । समापनमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मौलिक परम्परागत संस्कृति जोगाउन सवै एकजुट हुनु पर्ने बताए । यसअघि विराटनगरबाट चुम्लुङ अध्यक्ष मनोज सुव्वा (मेन्याङ्बो) को नेतृत्वमा भित्रास फालेको सिंगै सुंगुर र रक्सीको कोशेली बोकेर धरानको चासोकमा सहभागी भएका थिए ।