विराटनगर/ हातमा झ्याम्टा, शरीरमा भिरेको मादल र ढोलक । सबैको साथमा हुन्छ बाँसुरी । बोलावट भएको कार्यक्रम र जात्रामा यसरी नेवार सामुदायका किशोरकिशोरीहरू संस्कृति झल्किने पहिरनमा सजिएर पुग्छन् ।

विराटनगर–४ कञ्चनबारीका २५ वर्षीय ईश्वरी श्रेष्ठ कुनै कार्यक्रममा पुग्दा नेवारी पहिरनमा सजिएर जातीय कला, संस्कृति लिई पुग्ने गरेका छन् । धिमे बाजादेखि लाखे नृत्य पनि गर्न जानेका उनले सधैँ कार्यक्रममा आफ्नो जातीय कला, संस्कृति देखाउने गरेका हुन् । ‘यसरी जातीय संस्कृतिको कला देखाउन शुरु गरेको चार वर्ष पूरा भयो’ नेवारी जातीय पहिरनमा सजिएका ईश्वरीले भने, ‘अग्रजहरूले प्रशिक्षण दिएपछि अहिले धिमे बाजादेखि लाखे नृत्य पनि राम्रोसँग गर्न सक्ने भएको छु ।’

कुनै कार्यक्रम वा नेवार सामुदायले निकाल्ने जात्रामा पनि आफ्नो कला, संस्कृति पस्किने गरेको उनले सुनाए । ‘पुस्ता हस्तान्तरण हुनसके मात्र आफ्नो धर्म, संस्कृतिको संरक्षण गर्न सकिन्छ’ उनले भने, ‘हामीले सिकेको कला, संस्कृति हामीभन्दा पछिका पिँढीलाई पनि सिकाउँदै लैजानु पर्दछ । यसो गर्दा मात्र आफ्नो संस्कृतिलाई जोगाउन सकिन्छ ।’ उनीहरू १५ देखि २० जनाको समूह बनाएर आफ्नो कला, संस्कृति देखाउन बोलावट भएको विभिन्न कार्यक्रम, जात्रा आदिमा सरिक हुने गरेका छन् । ‘बोलावट भएको कार्यक्रममा नेवारी संस्कृति देखाउने एउटा कलाकारको टोली रहेको छ’ उनले भने, ‘समूह बनाएको कलाकारको टोलीले लाखे नाच, धिमे बाजा, डण्डी नृत्य प्रदर्शन गर्दछौं ।’

Danti-Nita-

कला, संस्कृतिको संरक्षणमा अहिले समूह बनाएर विराटनगरका नेवार समुदायका युवाहरू लागिपरेका छन् । विराटनगर–४ स्थित विराट नेवा पुचः मा आबद्ध भएका युवाहरूले कला, संस्कृतिको संरक्षण गर्दै अगाडि बढेका छन् । यहाँ आबद्ध धेरै युवाहरूलाई धिमे बाजा, लाखे नाच्नदेखि बाँसुरी र गीतको तालमा लठ्ठीलाई मिलाएर नाच्ने (डण्डी नृत्य) गर्दछन् । विराटनगरका २७ वर्षीय अमूलदीप तम्राकारले चार वर्षदेखि लाखे नृत्य र धिमे बाजा बजाउँदै आएको बताए ।

‘सबैभन्दा बढी चाडपर्वको बेलामा आफ्नो कला, संस्कृति देखाउने गरेका छौं’ उनले भने, ‘विराट नेवा पुचः मा हाम्रो युवाको समूह छ । यहाँ हामीजस्तै अन्य युवाहरूले आफ्नो कला, संस्कृति देखाउँदै आएका छन् ।’ एक सयभन्दा बढी युवा आबद्ध भएको उक्त संस्थामा दुई दर्जन बढी युवा कलाकार रहेको विराट नेवा पुचः का सांस्कृतिक कार्यक्रम संयोजक पदम श्रेष्ठले बताए । ‘युवालाई प्रशिक्षण दिएपछि अहिले हामीले आफ्नो जातीय कला, संस्कृतिमा नृत्य गर्नेदेखि धिमे बाजा बजाउने कलाकार उत्पादन गर्दै आएका छौं’ –श्रेष्ठले भने ।

नेवार समुदायका भाषा, संस्कृति संरक्षण गरी पर्यटनमा समेत टेवा पु¥याउने लक्ष्य रहेको विराट नेवा पुचः का अध्यक्ष जयकुमार श्रेष्ठले बताए । ‘कुनै स्थान तथा क्षेत्रको पहिचान भनेको त्यस ठाउँको संस्कृति, त्यहाँ बसोबास गर्ने समुदायको परम्परा, संस्कार भएकाले यी हाम्रा अमूल्य निधि हुन्’ उनले भने, ‘भावी सन्ततिका लागि परम्परागत भाषा, संस्कृतिको महŒव बुझाउनु पर्दछ, त्यसैले आजैदेखि हामी सबै आफ्नो ठाउँबाट संरक्षण अभियानमा लाग्नु पर्छ ।’