विजयपुर । सरकारले इन्ट्रान्स तयारी कक्षा एवं ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने जानकारी गराएको छ । विज्ञप्तिमा विभिन्न कक्षा र तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि निजी संस्थाहरूले सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याउने उल्लेख छ । साथै, अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भारसमेत थप्ने निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार आगामी वैशाख १ गतेदेखि देशभर यस्ता कार्यक्रमहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा सो निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको उल्लेख छ। साथै, यस्ता कार्यक्रम सञ्चालन भएरनभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गरिएको छ ।































