आक्रमण–प्रत्याक्रमण एक सिक्काका दुई पाटा हुन् । जब आक्रमण हुन्छ, त्यहाँ प्रत्याक्रमण निश्चिन्त बनिदिन्छ । जतिसुकै निरीह किन नहोस् ऊ आफ्नो बलबुताले भ्याएसम्म प्रत्याक्रमणमा उत्रन्छ । र, अन्तिम सास रहुञ्जेलसम्म ऊ भिडिरहन्छ, लडिरहन्छ ।

म यस्तै आक्रमणमा परे । जहाँ मैले बाध्य भएर प्रत्याक्रमण गर्नुपर्ने भयो, गरेँ । मेरा अघि ऊ निरीह थियो । मोटाइ, उचाइ, वजन, शरीर सबै सबैमा म ऊभन्दा सयौं गुणा भीमकाय थिएँ तर उसको आक्रमणका सामु म एकाएक निरीह थिएँ ।

कुनै चालबिनै उसले मलाई आक्रमण गरेको थियो । मेरो माथामा गरेको उसको आक्रमणले म छिन्नभिन्न हुँदै थिए । एक्कासी भएको त्यो आक्रमणबाट म बच्नका लागि दगुरिरहेको थिए । एकलास सुनसान त्यो स्थानमा मलाई बचाउने अन्य मानिसहरू पनि थिएनन् । जे गर्नु थियो मैले नै गर्नु थियो । मै अगाडि सर्नु थियो । हिंस्रक बन्नुथियो त मलाई नै । ज्यानमारा बन्नुथियो त मलाई नै । म ज्यानमारा बन्दै थिएँ । अर्थात् हत्याराको सूचीमा दर्ज हुँदै थिएँ । तर, अफसोच थिएन मलाई म हत्यारा हुन लागेकोमा । किनकी, उनीहरूले मलाई आक्रमण गरिसकेका थिए । म जवाफी कारबाहीमा उत्रिनुभन्दा अर्को विकल्प थिएन ।

शारीरिक बनावटका हिसाबले ऊ मभन्दा कयौं गुणा पातलो थियो, सानो थियो, निरीह थियो । तर, उसको आक्रमण भने डरलाग्दो थियो, ह्रिंसक थियो । म अरिङ्गालको कुरा गरिरहेको छु । जुन अरिङ्गालको चर्चा नेपाली राजनीतिक वृत्तमा पनि निकै चलेकै हो । हालका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिङ्गालझैं बन्न निर्देशन दिएकै हुन् । सामजिक सञ्जाल, विद्वान् तथा राजनीतिक चिन्तकहरूले त्यसको खुलेर विरोध गरेकै हुन् । त्यही विरोधका कारण नै होला, अरिङ्गाल बन्न लागेको कार्यकर्ताहरू पुनः सेलाए ।

तर, यो अरिङ्गाल जसको चेतना पनि निरीह छ । सायद म त्यहाँ पुग्दा उसले प्रतिरक्षा गरेको हुन सक्छ । मेरो भाषामा भन्दा प्रत्याक्रमण गरेको हुनसक्छ । तर, मैले उसलाई नै प्रत्याक्रमण गर्न पुग्छु । मेरा मथिङ्गलमा दुई पटक आक्रमण गरिसक्यो । एउटाले मेरो हातमा आक्रमण गरिरहेको थियो । भुनभुनाउँदै केहीले मलाई लखेटिरहेका थिए । म निरीह भएर भाग्दै थिएँ । मथिङ्गलमा भएको आक्रमणले गर्दा दुखाइ बढ्दै थियो । जसले मलाई हातमा आक्रमण गरिरहेको थियो । उसलाई मैले हत्या गर्न लागिरहेको थिएँ । ऊ जबर्जस्त मलाई टोकिरहेको थियो । कोट लगाएका कारण भित्रै छिचोल्न भने पाएको थिएन । त्यसैको फाइदा लिएर मैले बोकेको मोबाइलले नै म उसको हत्या गर्नमा उद्यत थिएँ ।

उसको प्राण पखेरु नगइञ्जेलसम्म मैले थिचिरहेँ, हत्या गरिरहेँ । ऊ पनि प्रत्याक्रमणमा जुटिरहेको थियो र म पनि । शुरुमा उसले ममाथि ज्यादती गरेको थियो । त्यही कारण मैले उसलाई छाड्ने अवस्था थिएन । मैले पनि प्रत्याक्रमण गरिरहेँ । जब ऊ निस्प्राण भयो । तब मात्रै मैले छाडेँ । जुन बेलादेखि ममा चेतना भरियो । त्यहाँदेखि नै मैले कुनै पनि प्राणीको हत्यामा संलग्न भइन । सिवाय लामखुट्टे र झिँगाको । चेतना भरिएपछि यी दुई जीवलाई मैले कैयौंपटक हत्या गरेको छु । तर, अन्य जीवको हत्यामा जानाजान संलग्न भएको छैन । अञ्जानमा थुप्रै जीवको हत्या गरे हुँला । त्यो भुलवश भएको हत्या हो भने आज अर्थात् भाइटीकाकै दिन मैले गरेको यो हत्या भने जानजानको हत्या हो । म हत्यारा हो । किनकी यो लोकमा रहनका लागि बाँच्नका लागि त्यस्ता जीवहरूको पनि आवश्यकता पर्छ ।

ती जीवहरू छन् र त हामी पनि छौं । यो लोकको सूत्रपात हुँदा यस्ता जीवहरू थिएनन् । त्यो बेला मनु पनि थिएनन् । जब जब जीवहरू उत्पन्न हुँदै गए तब मात्रै मनुको जन्म हुन पुगेको हामीले इतिहासमा पढेका छौं । म त्यो इतिहासको अन्त्य गर्न चाहन्नँ, अञ्जानमै सही । त्यस्ता कुनै हत्या मेरा लागि स्वीकार्य छैनन् । प्राणी हुन् या जीव सबै पृथ्वीलोकलाई अड्याउने एउटा भ्रूण हुन् । अरिङ्गाल पनि यही पृथ्वी लोकको अनुपम उपहार हो । जसले यो पृथ्वीको चक्रलाई कायम राख्न मद्दत गर्दछ । सायद, उसले ठान्यो होला, कुनै भीमकाय जीवले हामीलाई आक्रमण गर्न लागिरहेको छ । त्यही भएर प्रत्याक्रमणमा उत्रिएको हुन सक्छ । जब ममाथि उसले आक्रमण गर्न पुग्छ । तब मात्रै म प्रत्याक्रमणमा उत्रिएको छु । दोष मेरो होइन भनौं भने म चेतनशील छु । ममा चेतना छ । मबाट केही भुल भएको हुनसक्छ ।

त्यो काठे पुलमा जानु नै मेरो भुल हो सायद । तर, त्यही काठे पुल नै निर्विकल्प उपाय थियो मेरो लागि । छङ्ग–छङ्ग बगिरहेको पानी माथि लगाइएको त्यो काठे पुलबाट मैले प्रकृतिको रमणीय दृश्यावलोकनको आस्वादन लिन खोजेँ । त्यही मेरो लागि भुल हुनसक्छ । केही क्षण त्यहाँ नबिताएको भए, सायद ममाथि उसले आक्रमण गर्दैनथ्यो कि ? । तर, यी त भए कल्पनात्मक कुरा । पहिलो पटक बहिनीका घरमा भाइटीका लगाउन पुगेको म बबुरोमाथि उसले नराम्ररी खल्लो बनाएको थियो । त्यो हिसाबमा मैले उसको हत्या गरेर ठिकै गरेँ भन्ने लाग्यो ।

मेरा लागि भाइटीका केही खल्लो पनि भयो । दुखाइका बीच भाइटीका लगाइयो । बहिनीको घरपरिवारलाई पनि खल्लो लागिरह्यो । बुबा र ज्वाइँका भाइहरू भन्दै थिए, ‘हिजै भन्दै थिए आगो लगाउनुपर्छ भनेर ।’ ज्वाइँ पनि खल्लो मानिरहेका थिए । अरिङ्गालकै कारण बहिनीको परिवारमा एक किसिमको खल्लोपना थियो । नागबेली सडक, अक्करको भीर छिचोल्दै पहिलो पटक पुगेको म बबुरोलाई पनि अविस्मरणीय बनाइदिएको थियो उसले । जसलाई मैले हत्या गर्न पुगँे । धेरैमध्ये एउटालाई मैले प्रसव पीडा दिएर हत्या गरेको थिएँ । पुण्य तिथिकै दिन, दिदीबहिनी र दाजुभाइबीचको मिलन हुने त्यो दिन । म भने संयोगवश अरिङ्गालको हत्यारा बन्न पुगेको थिएँ ।