इटहरी/ भोजपुरका गरिब परिवारमा जन्मेका खड्गबहादुर सार्कीको परिवारले पुस्तौंदेखि जुत्ता सिलाए पनि यसकै भरमा बिहान–बेलुकीको छाक टार्न सधैं हम्मेहम्मे पथ्र्यो । तर, पुर्खादेखि चल्दै आएको पेसालाई यी ६८ वर्षसम्म पुग्दासमेत चटक्क छाड्न सकेनन् र समयअनुसार व्यावसायिक बनाए । त्यही साहसले उनलाई अहिले नाम र दाम दुबै दिएको छ ।
यही पेसामा लागेका धेरै युवा टिक्न नसकेर वैकल्पिक कामका लागि भारत गइरहँदा खड्गबहादुर भने वार्षिक करोड भन्दा बढीको व्यापार गर्छन् । तरहरा चोकमा सेतै फुलेका उनी जुत्ता सिलाउँदै गरेका त कहिले मुडा बन्दै गरेका भेटिन्छन् खड्गबहादुर ।
अहिले पनि फुर्सदको समयमा एकै छिन घरमा बस्दैनन् उनी । उनको पेसामा प्रयोग हुने विभिन्न सामग्री बोकेर उनी बिहानै घर–घरमा पुग्छन् । दैनिक जुत्ता सिलाउने पेसा गर्दै आएको उनी बताउँछन् । ‘मेरो आमा २१ वर्षको हुँदा बुबा बित्नु भा’को म जम्मा १ वर्षको थिएँ रे, पहिला म साह्रै दुःखी मान्छे, अहिले मलाई दुःख छैन सर ।’ उनी भन्छन्, ‘म सानो हुँदा मलाई बाउ टोकुवा भन्थे रे मेरो आमाले पनि धेरै दुःख पाइन्, तर अहिले खुसी नै छु ।’
बाबुबाजेले गर्दै आएको पेसालाई परिवर्तन नगरेका उनी यसैलाई बरु परिमार्जन गर्दै गएका उनले यसैबाट राम्रो दाम र नाम कमाइरहेको बताउँछन् । ‘मेरो छोरानाति पनि यही पेसामा राम्ररी कमाइ रहेका छन् ।’ सार्की भन्छन् । चोकमा राम्रो बोलेर जुत्ता सिलाउने उनलाई फुर्सद कहिले हुँदैन । खाली हात कहिले बस्नु पर्दैन ।
‘पुराना ग्राहक खोजी–खोजी आउँछन् ।’ खुसी हुँदै खड्गबहादुर भन्छन् । बैङ्कमा पनि राम्रै बचत छ उनको । जुत्ता सिलाएरै मोरङमा डेढ बिघा जग्गा पनि जोडेको बताउने उनी भन्छन्, ‘अझै केही वर्ष मिहिनेत गर्छु ।’ दिनदिनै बेरोजगारी समस्याबारे समाचार सुन्दै आएका खड्गबहादुर काम जानेका मान्छे कहिले बेरोजगार नहुने बताउँछन् । काम गर्ने हो भने पैसा कमाइन्छ जस्तो लाग्छ । ‘म त जताततै पैसा मात्र देख्छु ।’ उनी भन्छन् ।
तरहराको सडक वर्षौंदेखि पुराना जुत्ता चप्पल र झोला सिलाइरहेका छन् ।उध्रिएको सिलाएर आफ्नो जीवन उनिरहेका खड्गबहादुर कहिले निराश हुँदैनन् । यही सडकमा बर्षौंदेखिको पुस्तैनी व्यापार धानिरहेका छन् । खड्गबहादुरलाई सडक किनार पसल चलाउन थाल्दा सुरूमा अप्ठ्यारो भएको थियो ।
अहिले यही चोक तथा बजार डुलेर उनले दैनिक १७ सय भन्दा बढी बैङ्कमा जम्मा गर्ने गरेको सुनाउँछन् । जुत्ता सिलाएर उनी समाजसेवासम्म गर्छन् । तरहराको बिहीबारे बजारमा करिब ९० हजार लगानीमा पानी निकालिदिए । त्यस्तै श्रीमती र आमाको नाममा तरहरा बसस्टेण्डमा फलैंचा बनाए । १३ बालबालिका पढाउन रामधुनीस्थित विद्यालयलाई सहयोग समेत गरेका छन् । सामाजिक काममा समेत सक्रिय खड्गबहादुर भन्छन्, ‘मरेर के लानु छ र ?’
































