धरान/ गत कार्तिक महिनामा धरानका विभिन्न वडामा डेङ्गुका आठजना बढी बिरामी भेटिएका थिए ।

अहिले डेङ्गु लाग्ने सिजन होइन तर यो साता धरान–१५ का तीन जनामा डेङ्गु भेटिएको छ । एकसातायता प्रतिष्ठानमा धरान–१५ का तीन बालबालिकामा डेङ्गु देखिएपछि रोकथामका लागि उपमहानगरले औषधि छर्ने काम शुरु गरेको छ । डेङ्गु भेटिएका तीनजना बालबालिका छन् । प्रतिष्ठानमा उपचाररत १४ वर्षीया बालिका बगरकोटकी हुन् । १० र ७ वर्षका २ जना बालक पुष्पलाल मार्गका हुन् ।

प्रतिष्ठानको बालरोग विभागको आकस्मिक कक्षमा उपचार गर्न पु¥याइएका बालबालिकामा एक्कासि ज्वरो, पेट दुख्ने, उल्टी आउनेलगायत लक्षण देखा परेको थियो । उनीहरूको रगतको ल्याव परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको थियो । तीन जनामध्ये १० र ७ वर्षको बालकमा डेङ्गु भएको रिपोर्ट आइसकेको छ । १४ वर्षीया बालिकामा डेङ्गु भएको रिपोर्ट नआए पनि सबै लक्षण डेङ्गु ज्वरोकै भएकोले डेङ्गुकै उपचार भइरहेको छ ।

प्रतिष्ठानका बालरोग विभागका चिकित्सक डा. अरुणकुमार सिंहका अनुसार डेङ्गु सङ्क्रमित तीनैजनाको उपचार भइरहेको छ । उनले भने, ‘डेङ्गु प्रकोप गाउँघरमा भन्दा शहरमा बढी देखिन थालेको छ । शहरको सरसफाइ राम्रो नहुँदा र प्रदूषित वातावरण, पानीका खाल्डाखुल्डी, ढलमा पानी जम्ने आदि कारणले डेङ्गुको लार्भा विकसित हुने भएकाले शहरमा यसको प्रकोप बढ्न थालेको छ । तर डराइहाल्नु पर्ने अवस्था छैन । बेलैमा उपचार गर्न सकियो भने निको पार्न सकिन्छ ।’

धरान उपमहानगरपालिकाले बुधबारदेखि डेङ्गु प्रभावित क्षेत्रमा फगिङको माध्यमबाट औषधिसहितको धुवाँ छर्न शुरु गरेको छ । धरानमा पछिल्लो एकसातायता एउटै वडामा तीनजनामा डेङ्गु फैलिएपछि उपमहानगरपालिकाले डेङ्गु प्रभावित क्षेत्रमा औषधि छर्न शुरु गरेको हो । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा धरान–१५ बाँझगराको पाथीभरा लाइन, एभरेष्ट लाइन, पुष्पलाल मार्ग, देवकोटा चौक, बुढासुब्बा चोक, सदन मार्ग, पिण्डेश्वर चौक, धु्रवज्योतिपथलगायतमा औषधि छर्किएको उनले बताए ।

बीपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहले बिरामीको रगतमा प्लेटलेट्स (रगत जमाउन चाहिने कोषिका) को अत्यधिक कमी भएको लक्षण देखिएपछि उपचार शुरु गरिने बताए । उनका अनुसार रगतमा प्लेटलेट्सको सङ्ख्या डेढ लाखदेखि ३ लाखसम्म हुनुपर्छ । तर डेङ्गु हुँदा शरीरको रगतमा प्लेटलेट्सको संख्या २०–३० हजारमा झर्छ, जसले गर्दा बिरामीलाई रगत दिइरहनु पर्छ ।

उपमहानगरपालिकाका स्वास्थ्य संयोजक घनश्याम सिग्देलले डेङ्गु सङ्क्रमित लामखुट्टेको अण्डा वर्र्षाैंसम्म पनि रहिरहने र पानी परेपछि लार्भा बनेर लामखुट्टे बन्ने भएकोले अफ सिजन भएर पनि अहिले डेङ्गु भएको हुनसक्ने उनले बताए । यसअघि गत कार्तिक महिनामा धरानका विभिन्न वडामा डेङ्गुका आठजना बढी बिरामी भेटिएका थिए । त्यसबेला उपमहानगरपालिकाले डेङ्गु सार्ने एडिस एजिप्टाइ जातको लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको थियो ।

चिकित्सकहरूका अनुसार डेङ्गुको भाइरस सङ्क्रमित एडिस एजिप्टाई जातको जमेको सफा पानीमा बस्ने पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो मानिसमा सर्छ । एडिस एजिप्टाई लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले दिनमा आवश्यक सतर्कता अपनाउनु नै उत्तम विकल्प हो ।

प्रतिष्ठानका माइक्रो बायोलोजी विभागका एडिस्नल प्रोफेसर डा. नारायण भट्टराईका अनुसार सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुटेले मानिसलाई टोक्दा डेङ्गुमात्र नभएर चिकनगुनिया, जिका सङ्क्रमण पनि हुनसक्ने भएकाले नियन्त्रण गर्न जरुरी रहेको छ । उनले भने, ‘यो लामखुट्टे जमेको तर सफा पानीमा मात्र बस्छ । त्यसैले आफू बस्ने वरिपरि फालेको खाली बट्टा, फुटेको कप, टायर, बोतलहरूमा लामो समयसम्म पानी जम्न दिनु हुँदैन ।’

उनका अनुसार डेङ्गु भयो भन्दैमा आत्तिनु पर्दैन । डेङ्गुको निदान र उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुन्छ । डा. भट्टराईका अनुसार डेङ्गु टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार किसिमको हुने गर्दछ । उनका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोको साथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने पनि लक्षण देखिन्छ । यस्तै जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने पनि हुन्छ ।