तेह्रथुम/ माइतीमा हुँदैदेखिको शोख थियो सुभद्राराज भण्डारीलाई ढाका सिक्ने र पछि गएर उद्यमी बन्ने । यो उनको शोख विवाह गरेर तेह्रथुमको म्याङलुङ बजार आएपछि बिस्तारै पूरा हुन थाल्यो । उनी अहिले एक सफल ढाका उद्यमी भनेर चिनिन थालेकी छन् । उनको म्याङ्लुङ बजारमा आफ्नै पसल छ । यो पसलमा उनी आफ्नै घरेलु ढाका उद्योगबाट उत्पादित साडी, पछौरा, टोपी, स्कार्फ, सल, नेकटाइ, ब्लाउज, सर्ट, रुमाल आदि सामान बिक्रीका लागि राख्ने गर्छिन् ।

खोटाङ जन्म घर भएकी सुभद्रा १८ वर्ष अगाडि तेह्रथुम भागी विवाह गरेर आएपछि घरमा नै १ ओटा तान राखेर ढाका बुन्न शुरु गरेको बताउँछिन् । ‘त चिता म पु¥याउँछु भने झै २०५८ सालमा संयुक्त राष्ट्र सङ्घीय निकाय युएनडिपीले गरिबी निवारण योजना अन्तर्गत लघु उद्यम विकास कार्यक्रम ढाका उत्पादन र बुनाइ सम्बन्धमा सात दिने तालिम दिएको थियो । तालिमपछि यो संस्थाले उद्योग शुरु गर्न आवश्यक तान, अन्य उपकरण र २० हजार रुपैयाँ ऋण र तयारी ढाका उत्पादन बेच्नका लागि पसल खोल्नसमेत सहयोग गरेको उनले बताइन् ।

श्रीमान् र दुई बच्चाका साथ दुःख सुख जीवन चलाउँदै आएकी सुभद्राको ढाका उद्योग शुरु गरेको एक वर्षभित्रै जीवन स्तर फेरिन थाल्यो । अन्तरजातीय विवाह गरेर माइती न घर भएकी थिए तर एक वर्षको समयमा राम्रो कमाई हुन थालेकाले सन्तोषको श्वास फेरेको सुभद्राले बताइन् । अब दुई गाँस खान र एक सरो लगाउन समस्या हुन छाडेको छ । तर, २०५९ सालमा बजारमा आगलागी भयो । आगलागीबाट आफ्नो समान सबै जलेको उनले बताइन् । त्योबेला आफूलाई साह्रै दुःख लागेको उनले स्मरण गरिन् । तर पनि हिम्मत नहारी फेरि ढाका उद्योग स्थापना गर्न सुभद्राले शुरु गरिन् । बिस्तारै आफ्नो व्यवसाय बढाउँदै लान थालेको उनले बताइन् । आफ्नो उद्योगमा निम्न आय भएका महिलाहरूलाई रोजगार दिनको लागि ८ वटा तान राखेको सुभद्राको भनाइ छ । त्यहाँ काम गर्ने महिलाहरूले प्रति महिना लगभग १० हजार रुपैयाँसम्म कमाउन थालेका थिए ।

बिस्तारै आफ्नो व्यवसाय बढाउँदै लगेकी सुभद्राले अहिले ५० जनाभन्दा बढीलाई रोजगार दिएकी छन् । उनीहरूले उत्पादन गरेका ढाकाका सामान सुभद्राले जिल्लादेखि बाहिर धरान, धनकुटा, इटहरी, विराटनगर र काठमाडौंसम्म पठाउने गर्छिन् । ढाका कपडाको माग अहिले पनि धेरै रहेको उनले बताइन् । कहाँ लगेर बेच्ने भन्ने चिन्ता नभएको उनले बताइन् । सुभद्राका श्रीमान् पनि ढाका बुनाइ तालिम दिने गर्छन् । जिल्लामा विभिन्न सङ्घसंस्थाले आयोजना गरेको ढाका बुनाइ तालिममा सुभद्रा र उनका श्रीमान्लाई तालिम दिन भ्याईनभ्याई हुने गरेको उनीहरूको भनाइ छ । आफ्नो पेशाबाट पूर्णरूपमा सन्तुष्टी मिलेको सुभद्राले बताइन् ।

यही पेशाले सुभद्रालाई नयाँ परिचय पनि दिएको छ । उनले यही पेशाबाट थुप्रै पुरस्कारसमेत हात पार्न सफल भएकी छन् । सुभद्राले घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयले २०७१ सालमा आयोजना गरेको राष्ट्रिय औधोगिक प्रदर्शनीको रजत महोत्सवमा उत्कृष्ठ उद्यमी पुरस्कार पनि हात पार्न सफल भएकी छन् । यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल सरकार विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले २०७० सालमा आयोजना गरेको १२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सुभद्राले उत्कृष्ठ उद्यमी बनेर प्रमाण–पत्र हात पार्न सफल भइन् । २०७० सालमा इलाममा भएको क्षेत्रीय औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनीमा पनि उनले प्रमाण–पत्र हात पार्न सफल भएको बताइन् ।

यसै ढाका उद्योगबाट उनले र उनका श्रीमान्ले मासिक ७५ हजारभन्दा बढी कमाइ गर्दै आएका छन् । उनको छोरो ओभरसियर र छोरीले साइन्स विषय लिएर पढ्दै आएका छन् । उनीहरूको पढाइ खर्च पनि ढाका उद्योगले नै धानेको छ । अचेल आएर ढाकाबाट बनेका पर्दा भित्तामा झुण्ड्याउने, ढाकाका जुत्ता, झोला, कुसन, खोल आदिको पनि निकै बजारमा माग बढेको सुभद्राले बताइन् । सुभद्रा स्थानीय, क्षेत्रीय र राष्ट्रिय व्यापार मेलाहरूमा पनि सहभागी भइरहन्छिन् । उनका श्रीमान् पनि विभिन्न तालिम, गोष्ठि, कार्यक्रमा सहभागी भइरहेको पाइन्छ । दश वर्ष पहिलेको तुलनामा उनीहरू अहिले बढी सुविधापूर्ण जीवन बिताइरहेका छन् । सुभद्राले ढाका उद्योगबाटै बजारमा एउटा घडेरी पनि किनिसकेकी छन् ।