बिर्तामोड/ के तपाईंले सङ्लो पानी देख्नेबित्तिकै पिउने गर्नुभएको छ ? त्यस्तो बानी छ भने अब सचेत हुनुपर्ने भएको छ । विज्ञहरूका अनुसार मानिसले पिउने पानीमध्ये ३ प्रतिशत मात्र गुणस्तरीय छ ।

मानिसका लागि अत्यावश्यक शुद्ध पानीको समस्या विकराल बन्दै गएको छ । प्रदेश १ का १४ प्रतिशत मानिस अझै पनि गुणस्तरीय पिउने पानीबाट बञ्चित रहेको खानेपानी महाशाखा प्रदेश १ ले जनाएको छ । महाशाखाको प्राथमिक तथ्याङ्कमा ३८ लाख जनसङ्ख्याले मात्र हालसम्म स्वच्छ खानेपानीको सुविधा उपभोग गरिरहेका छन् । जुन प्रदेशको कुल जनसङ्ख्याको ८३.९९ प्रतिशत मात्र हो ।

नेपालमा दूषित पानीका कारण हरेक वर्ष हजारौंले ज्यान गुमाउने गरेको विज्ञहरू बताउँछन् । सबै मानिसको पहुँचमा शुद्ध पानी उपलब्ध नहुने हुँदा पनि मृत्यु हुनेको सङ्ख्या बढी भएको हो । जनसङ्ख्याको तीव्र वृद्धिसँगै शुद्ध पानीको समस्या थपिएको त्रिभुवन विश्वविद्यालय वातावरण विभागका केन्द्रीय उप–प्राध्यापक डा. जितबहादुर साह बताउँछन् ।

२०५० सम्ममा पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्ने जानकारहरूको भनाइ छ । यसले आगामी दिनमा गुणस्तरीय पानीको समस्या अझ जटिल बन्दै जाने साहले बताए । काठमाडौँ उपत्यकाको ४० लाख जनसङ्ख्याका लागि अहिले न्यूनतम् दैनिक ४० करोड लिटर पानीको माग छ । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको छ । तर, बढीमा यसको ३ प्रतिशत मात्र प्रयोगमा आउन सक्छ । समुद्रमा रहेको ९७ प्रतिशत पानीलाई पिउनयोग्य बनाउन ठूलो लगानी आवश्यक पर्छ ।

मुहानको पानी चट्टान तथा बोटबिरुवा हुँदै बग्ने भएका कारण प्राकृतिक स्वादको मात्रा बढी हुने रसायन शास्त्री मीनप्रकाश मैनाली बताउँछन् । मैनालीका अनुसार अन्य स्रोतको भन्दा मुहानको पानीमा अक्सिजनको मात्रा पर्याप्त हुनाले यो स्वादिलो हुन्छ ।

तराई क्षेत्रमा १० फिट गहिराइबाट पानी निकालिन्छ । सामान्यतया पिउने पानीको परीक्षण गर्ने प्रचलन छैन । यस प्रकारको पानीमा मानव र पशुको पाच्य पदार्थ मिसिने सम्भावना हुन्छ । विस्तारै माटोको छिद्रबाट भूमिगत पानीको स्रोतसम्म पुग्ने हुनाले पानी जुनसुकै अवस्थामा पनि दूषित हुने मैनालीले बताए । ‘बजारमा बिक्री हुने बोतलको पिउने पानी पनि धेरैजसो तराई क्षेत्रबाट निकालिन्छ’ मैनालीले भने, ‘तराई क्षेत्रका पानी उद्योगले पानीमा अक्सिजन मिसाउन नाङ्लो जस्तो छिद्र भएको ‘झारी’ बाट पानी ट्याङ्कीमा झार्छन्, छोटो दूरीमा मिसिएको उक्त अक्सिजन आवश्यक मात्रामा हुँदैन ।’

भूमिगत पानीमा भएको कीटाणु मार्न कतिपय उद्योगमा क्लोरिनेशन गर्ने गरेका छन् । पानीमा भएको क्लोरोनले पनि स्वास्थ्यमा असर गर्ने मैनालीले बताए । ‘खाद्य प्रविधि विभागले पानीको परीक्षण राम्रोसँग नगरी पास गर्ने गर्छ’ –मैनालीले भने । ५०–१५० मिलिग्राम टिडियस प्रति मात्रामा भएको पानी पिउन योग्य हुने उनी बताउँछन् । १५०–२५० मिलिग्राम टिडियस भएको पानी खेलाडीका लागि उपयुक्त हुने जानकारी उनले दिए । २५० –५०० मिलिग्राम टिडियस भएको पानीले स्वास्थ्यलाई असर गर्ने उनले बताए । भूमिगत पानीमा सोडियमको मात्रा पनि बढी हुने गर्दछ । पिएच लेबललाई सन्तुलन गर्न क्याल्सियमको काम बढी भएको पानीले शरीरलाई फाइदा पु¥याउने उनले बताए ।

पानीमा आवश्यक मिनरल (क्याल्सियम, आइरन, म्याग्नेसियम) प्रतिलिटर ०.३ मिलिग्राम हुन आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ । मर्करी, रेडियम, आर्सेनिक ०.०१ मिलिग्रामसम्म खानयोग्य हो । लामो समयसम्म आर्सेनिक पानी पिउँदा छालामा फोका निस्कने, टाइफाइड र पेटसम्बन्धी रोग लाग्ने विज्ञको भनाइ छ ।

विशेषगरी वर्षायामको समयमा पहाडीक्षेत्रमा पाइने ‘एसिडरोन’ ले पनि पानीको स्वाद बढाउने रसायन शास्त्रका प्राध्यापक जयनारयण मित्रुकाले बताए । भूमिगत स्रोतबाट उत्पन्न हुने पानीको ३ प्रतिशत मात्र स्वच्छ हुने प्राध्यापक मित्रुकाको भनाइ छ । भूमिगत पानीमा रहेको कीटाणुलाई मार्न शुद्धीकरण गरेर बजारमा बिक्री गर्ने गरिएको छ । ७ पिएचभन्दा माथिको पानी स्वादिलो र लामो समयसम्म पिउनयोग्य हुने मित्रुका बताउँछन् ।

पानीबाट मानिसलाई प्रत्येक दिन १०० देखि २०० मिलिग्राम क्याल्सियम र ४०–८० मिलिग्राम म्याग्नेसियम आवश्यक हुन्छ । तथ्याङ्कअनुसार सिंचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत पानी प्रयोग भएको पाइन्छ । नेपालको १० प्रतिशत मानिसको पहुँचमा मुहानको शुद्ध पानी रहेको छ । त्यस्तै १३ प्रतिशत मानिस जमिन मुनीबाट तानिएको गुणस्तरहीन पानी उपभोग गर्न बाध्य छन् । सन् २०१३÷१४ मा गरिएको वार्षिक घरधुरी सर्वेक्षणले ५१.६ प्रतिशत मानिस पाइपबाट वितरण गरिएको पानी प्रयोग गर्दै आएका छन् ।

दिन प्रतिदिन पानीको स्रोत सुक्दै गएकाले संरक्षणमा राष्ट्र अग्रसर हुनुपर्ने देखिन्छ । आगामी पुस्तालाई मुहान र भूमिगत पानीको महŒव, जनचेतना र स्रोतको दिगो व्यवस्थापन गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराउन आवश्यक रहेको विज्ञको भनाइ छ । पानीका स्रोत तथा मुहान बचाउन प्रकृतिको संरक्षण अनिवार्य छ ।

नेपालको संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुग्ने गरी स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ । सन् २०१७ सम्म आम नागरिकलाई खानेपानी उपलब्ध गर्ने घोषणा गरे पनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत सफलता प्राप्त भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । नेपालले सन् २०३० सम्मका लागि निर्धारण गरेको विश्वव्यापी दिगो विकासका लक्ष्यअनुसार केही सूचकहरू निर्धारण गरेको छ ।

यस अवधिमा ९९ प्रतिशत घरपरिवारले आधारभूत पानीको सुविधा प्राप्त गर्नेछन् भने ९५ प्रतिशत घरधुरीसँग पाइपबाट पानीको आपूर्ति हुनेछ । स्वच्छ खानेपानीको पहुँचलाई जीवनस्तरको एक महत्वपूर्ण सूचकको रूपमा लिने गरिन्छ । तर, पानीको संरक्षणमा चेतना अभिवृद्धि अझै पनि हुन सकेको छैन ।