दमक/ डाँडो जग्गा धेरैजसो महिना बाँझो नै रहने गरेको थियो । सिंचाइको सुविधा नभएकाले धान खेतीसमेत आकाशे वर्षाको भरमा मात्र हुने गरेको थियो । खेतीबाट जीवन धान्नै मुस्किल भएपछि यो स्थान बेचेर बसाइँ सर्ने मनस्थितिमा पुगेका थिए । झापाको बाह्रदशी गाउँपालिका–६ निवासी युवा चन्द्रबहादुर राईले पाँच वर्ष अघिसम्म यस्तै समस्या भोग्ने गरेको बताउँछन् ।
केही वर्षको वैदेशिक रोजगारको बसाइबाट चित्तबुझ्दो कमाइ नभएर घर फर्केका राईले सुख्खा भिरालो पानी नजम्ने जग्गामा हुने रबर खेती शुरु गरेका छन् । विदेशमा गरेको श्रम र आम्दानी सम्झेर गाउँमा केही गर्नुपर्छ भन्ने प्रेरणा जाग्यो । आफ्नो साढे पाँच बिघा खेतमा रबर खेती लगाए । करिब १५ सयवटा रबरका बिरुवा रोपेको थिए । रोपेको पाँच वर्षदेखि सात वर्षसम्ममा आम्दानी दिन शुरु हुँदो रहेछ ।
यसबाट अहिले दैनिक १५० लिटर रबर उत्पादन गर्ने कच्चा पदार्थ चोप उत्पादन हुने गरेको छ । उत्पादन भएको रबरको चोपलाई घरमा नै केमिकल प्रयोग गरेर कच्चा रबर निर्माण गरिन्छ । कच्चा रबर उत्पादन भएपछि विभिन्न प्रयोजनमा यसको बिक्री हुने गरेको छ । खासगरी टायर रिसोलिङमा सबैभन्दा उपयोगी मानिन्छ । बजारको कुनै समस्या छैन । जति उत्पादन गरेपनि स्थानीय बिर्तामोड बजारमा नै बिक्री हुने गरेको छ । मागअनुसारको उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।
एक पटक रोपिएको रबरको बोटले वर्षौसम्म लगातार उत्पादन दिन्छ । चोप उत्पादन हुन थालेपछि खर्च कम र आम्दानी राम्रो हुने गरेको उनी अनुभव सुनाउँछन् । रबर बिक्रीबाट मात्र करिब महिनाको ३० हजारभन्दा बढी आम्दानी हुँदै आएको उनको भनाइ छ । चन्द्रबहादुर राई जस्तै यो गाउँका युवाहरू रामबहादुर राई, आइतबहादुर राई, ज्ञानबहादुर राईलगायतले समेत रबर खेती लगाएका छन् । रबर खेती गर्दा यसभित्र घुसुवा बालीको रूपमा चिया खेतीसमेत गर्न सकिने किसानको अनुभव छ । रबरको बिरुवाले चियालाई ‘स्याडो’ अर्थात् छानोको समेत काम गर्ने भएकाले बहुउपयोगी हुन्छ । रबरको रुख ठूलो भएपछि चियालाई स्याडोको काम गर्ने र चिया उत्पादन समेत बढ्ने गरेको छ ।
झापामा एक हजार हेक्टरमा खेती
जिल्लामा करिब एक हजार हेक्टर क्षेत्रफलमा रबरको व्यावसायिक खेती हुँदै आएको साना किसान प्राकृतिक रबर उत्पादक सङ्घका अध्यक्ष पुष्पप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा २०४७ बाट रबर खेती शुरु भए पनि यसको व्यावसायिक खेती भने डेढ दशक अघिबाट शुरु भएको हो । जामुनखाडी सामुदायिक वन, आदर्श सामुदायिक वन र कालिका सामुदायिक वनसहित साविकका अर्जुनधारा, शनिश्चरे, शान्तिगर, बुधबारे, धाइजन, महेशपुर, पृथ्वीनगर, घेराबारी, राजगढ, खुदुनाबारी र सुरुङ्गा गाविस तथा दमक नगरपालिकाका कृषकले व्यवसायिक रबर खेती गर्दै आएका छन् ।
जिल्लामा उत्पादित रबर स्थानीय बजारमै खपत हुँदै आएको छ । नेपालमा वार्षिक १५ अर्बभन्दा बढीको रबरको माग छ । मुलुकभित्र उत्पादित रबरले ५ प्रतिशत हिस्सामात्रै ओगट्ने गरेको छ । औद्योगिक बालीका रूपमा लिइने रबर खेतीको बजार प्रवद्र्धनमा सरकारी कदम आवश्यक रहेको कृषकको माग छ । उष्ण हावापानी अर्थात् गर्मी क्षेत्रमा मात्र हुने रबर खेतीका लागि ३० देखि ४० डिग्रीको तपक्रम उचित हुने गरेको पाइन्छ ।
































