आफु जित्दा भन्दा अरु हार्दा रमाउनेहरु

alt
  • चैत्र ३, २०७५
  • भूपेन्द्र तिम्सिना

इमान्दारिताको फाइदा उठाइरहन्छन् सधैं ।
ढुकढुकीलाई मुटुबाट छुटाइरहन्छन् सधैं ।
‘अनुशीलन’ मा कहिले काँही त के नै लेखौं र भन्ने लाग्छ । जति जे जे लेखेपनि मान्छेका कठोर मनहरु कति नै पग्लिएर भन्ने पनि सम्झन्छु । आफ्नो मनको कोमल हतियारले अरुको कठोर मनको पर्खाललाई भत्काउन ज्यादै गाह्रो हुन्छ । मेरो पत्रकारिताको २३ औं वर्षमा हजारौं लेख र लाखौं समाचार लेखें ।
 
कतिका मन पग्लिएका पनि छन्, कतिका झन कठोर भएका समेत छन् । राजनीतिक र क कस्को आडमा झन खतरनाक भएर निस्किनेहरु समेत केही छन् । कतिका प्रतिभा उजागर हुँदा उनीहरुले सम्भावनाको फराकिलो आकाशमा आफुलाई विचरण गराउन पाएका पनि छन् । असल काम गर्नेहरुको प्रगति लेख्दा उनीहरु समाजका प्रगतिका नमूना बनेर चौतर्फी सम्मान र चर्चामा पुग्नेहरुको संख्या पनि छ म नजिक । उज्यालोको विरुद्ध अँध्यारो बोक्नेहरु अर्थात खराब मनस्थिती भएकाहरु कति सुध्रिएका पनि छन् ।
 
तर पनि समग्रतामा मलाई बेला बेला प्रश्नले छोड्ने नै गरेको छैन कि, लेखेरै मात्रै के नै हुनेरहेछ र ? यथार्थलाई लत्याएर राजनीतिक रुपमा संस्थागत वचावट र संस्थागत विरोधको अवस्था जवसम्म भइरहन्छ तवसम्म देशको नीति, नियम एवम् इमान्दारिताको अक्षरस कार्यान्वयनमा समस्या भइरहन्छ । लेख्ने त हाम्रो कामै हो, धर्मै हो । तथापि जवसम्म हाम्रो कमल भन्दा तरबार शक्तिशाली बनिरहने राजनीतिक आड हुन्छ, तवसम्म लेखकहरु पिलन्धरे लाग्न सक्छन् । अग्रगति र राजनीतिक स्थिरताका लागि प्रयासरत प्रणालीको अहिलेको तरल अवस्थाको शिकार भइरहनु परेको छ ।
 
अहिले सीके राउत र विप्लवको आ आफ्ना तार्किक चर्चा छ । देश विखण्डन हुने त्रासको अलि बढी तरंग छ । लुट्न सके लुट गीतमा रमाउने एउटा पक्ष छ । कहाँ लुटिएको छ भनेर त्यसको विरोधमा उत्रिने अर्काे पक्ष छ । लुटन् हुँदैन भन्ने कुराको खवरदारी भन्दा पनि लुट्ने वातावरण भएको देश भनेर अरुले भनिदिँदा हामीलाई त्यही कुरा स्वाद पर्छ । लुट्न कसरी रोक्ने भन्ने कुरामा हामी एकमत हुँदैनौ ।  पक्ष र विपक्ष भएर राजनीतिक खुराक खोज्नेहरुका लागि गतिलै खुराक मिलेको छ । पक्ष र विपक्षका विभाजनका आधारमा हामी आआफ्नैखाले सत्य सिर्जना गर्छाैं ।
 
धमिलो पानीमा माछा मार्न पल्केकाहरु जहिल्यै धमिलो पानी पर्खिरहन्छन् । खुट्टा तान्नेहरु कहाँनिर खुट्टा चिप्लिन खोज्छ भनेर प्रगतिको सिँढीको अखेटा काट्ने दाउमा सधैं पछि लागिरहन्छन् । लेख्दा कमि कमजोरी पनि हुन्छन् । तर नियतवस कमजोरी नगरी इमान्दारितापूर्वक काम गर्नेहरुका लागि समय झन किन चुनौतीपूर्ण बनिरहन्छ ? मेरो दिमागमा यो प्रश्नले ठाउँ पाइनै रहेको छ । यो प्रश्न मेरो दिमागबाट हट्ने दिन आएको छैन । इमानको खेती गर्ने धेरैका दिमागमा यो प्रश्न प्रश्नकै रुपमा दोहोरिइरहेको छ नै ।
 
सधैं लेखिइरहेर खै के नै पाइयो र ? यो समाजले कति बुझ्यो ? कति बुझाउन सकियो ? बुझाउनै पो सकिएन कि ? कस्का लागि लेखियो ? लेख्दा कस्लाई फाइदा पुग्यो ? कि गतिलो कुरा नै लेखिएन कि ? यी र यस्ता प्रश्नहरु पनि खेल्छन् बेला बेला । सरकारी जागिर खाएको भनें पेन्सन पकाएर मजाले पेन्सन खाएर वस्ने बेलासम्ममा खै के पाइयो ? अरुले बाहिरै खुलेर भन्न नसकेपनि उस्ले खै के नै पायो र भनेर मन मनै विना उपलब्धि समय खेर फालेको ठान्नेहरु धेरै छन् । अरुका लागि रातदिन दौडधुप गर्नु के नै उपलब्धि हो र भन्ने समाजको बुझाई सामु मेरो र मेरो जस्ता यात्रा गर्ने यात्रीका लागि यात्रा निरन्तर कठिन नै छ ।
 
पैसाको पछि लाग्ने समाज हामीले नै सृजना गरेका हौं । हामीले अरुको देखासिकी गर्ने र अरुका कुरालाई प्रगति ठान्ने परजिवी दिमाग हामीले विकास गरिरहेका छौं । जसका कारण हामीलाई अरुले प्रयोग गर्न सजिलो हुन्छ । बाबु बाजेले आशिर्वाद दिँदा नै धेरै पढ्नु, धेरै पैसा कमाउनु र सुखसँग पाल्नु भनेर सामन्ती चिन्तन हामी भित्र घुसाइएको छ । अहिले पनि यसखाले आशिर्वादको शैली हटेको होइन बढेको चाँही देख्छु म ।
 
धेरै कमाउने र पैसाको सुखमा पाल्ने आशिर्वादले छोराछोरीलाई जसरी पनि कमाउनु पर्नेरहेछ भन्ने दिमागमा छिर्छ । पैसा कमाउन नसक्ने मान्छे कमजोर हो भन्ने प्रभाव घुसाएपछि जसरी पनि पैसा धेरै कमाउने नाममा इमान्दारिता बेच्छ । अनि भ्रष्टाचार, कमिशनखोरी, ठगी बढ्छ । त्यसपछि धेरै पैसा कमाउन आशिर्वाद दिने आमाबाबुलाई छोराछोरीले बृद्धाश्रम पुर्याइरहेका छन् । बृद्धाश्रमको संख्या बढाइरहेका छन् । आमालाई बृद्धाश्रममा पुर्याएर नेपाल आमाप्रति भक्तिभाव देखाउन खोज्ने नौटंकीवाजहरु बढेका बढेकै छन् ।
 
तिनै आशिर्वाद पाउने शिक्षकहरु किसान चाँही लुगा फाटेको झुत्रेझाम्रे हुन्छ अनि नेता वा कर्मचारी चाँही ठाँटिलो, चटक्क परेको सुकिलो मुकिलो हुन्छ भनेर अरुलाई पढाइरहन्छन् । किसान र कर्मचारीको चित्र बनाउनु पर्दा पनि त्यसरी फरक बनाइदिन्छन् ।  अनि किसानप्रति सानैदेखि तल्लोस्तरको मान्छे भन्ने पर्छ । जसले सारा मान्छेको ज्यान बचाउँछ, उसलाई महान मान्छे बनाउने पाठ खै अहिलेसम्म पढाउन सकिएको ? पैसाले र पेसाले कोही पनि ठूलो र सानो हुँदैन । जात, धर्म, वर्ण, सम्प्रदाय, शरीरले कोही ठूलो र सानो ठहरिदैन । मन र विवेक सहितको ज्ञानले चाँही मान्छे ठूलो र सानो हुनसक्छ भन्ने पाठ पढाउन अझै पनि शिक्षकहरुको शिक्षाविधि पूर्ण तयार छैन ।
 
अव त शिक्षकहरु नै आफ्नो पेशाप्रति हिनताबोध गर्ने गरेको समेत मैले देखेको छु । निजामति कर्मचारी हुन पाए, नेता हुन पाए पो खास जिन्दगी हो भन्ने भान चिर्न शिक्षककै तागत कमजोर बनिदै गएको देख्छु । शिक्षक वर्षाैंदेखि अरुलाई शिक्षा दिन आफ्नो जीवन घोटिरहेको हुन्छ । उसले पढाउँदा ८ कक्षा फेल भएको विद्यार्थी विदेश गएर पैसा कमाएर ५ वर्षमा शिक्षकको भन्दा ठूलो घर ठड्याउँछ । गाउँको ठूलो मान्छे कहलिन्छ, समाजसेवी ठहरिन्छ, कर्मशील जनिन्छ । अनि उही त्यही विद्यालय व्यवस्थापन समितिमा आएर त्यहाँका शिक्षक र विद्यालयको नेतृत्व गर्छ । उस्ले कस्तो नेतृत्व गर्ला अव ?  ती शिक्षकहरु हेरेको हेर्यै । राजनीतिले शिक्षा प्रणालीलाई हस्तक्षेप गरेर जीवन उपयोगी शिक्षा बनाउन र त्यसरीनै पढाउने कुरामा जान नसक्नुको बेफाइदामा हामी निरन्तर पिल्सिरहेका छौं ।
 
हामी त अरुको  आरिस गर्छाैं । बेरोजगार भइयो भनेर चोक चोकमा बाजीमा लुडो खेलिरहन रमाउँछौं । हामी पसिना बगाएर, समय लगाएर मेहनत गरेर काम गर्नुपर्ने मान्यता भुलिसक्यौं । चाँडोभन्दा चाँडो कसरी कमाई हुन्छ त्यो तर्फ उन्मुख भयौं । आफुले जितिएन नै भनेपनि अरु हार्दा रमाउने संस्कार विकास गरिरहेका छौं ।
आफु जित्दा भन्दा पनि अरु हार्दा रमाउँछौ ।
पसिनाको कमाइ भन्दा जूवा मार्दा रमाउँछौ ।

कानेपोखरीमा विदेशबाट ...

पथरी / मोरङको कानेपोखरी गाउँपालिकामा बैदेशिक रोजगारबाट ...

कोरोनाका कारण बेलायत ...

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोन ...

प्रदेश १ मा १०५ जना ...

धरान  / प्रदेश १ मा ३ हजार ३१ जना क्वारेनइनमा ...

कोरोनाभाइरसः विश्वका ...

एजेन्सी /  जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरे ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved