असार महिनाको झरी । चारैतिर कालो बादलले ढाकिएको छ । लगातारको झरीले चिसो बढेको छ । वर्षात्का साथै हुरी बतास चलेको छ । कर्कलाको पातबाट मोतीका दानाजस्ता पानीका थोपााहरू अविरल गतिमा झरिरहेछन् । परसम्मको क्षितिज आँखाले देख्दैन ।

भूइँ कुइरोले ढाकिएको छ । मेरो वधैवामा रहेको रुख कमलको पहेँलिएका पातहरू मन्द गतिमा झरिरहेछन् । सायद जीवन यस्तै होला ? जन्मनु मर्नु । मेरो वधैवामा चहल–पहल गर्ने कोइली, ढुकुर, भङ्गेरा, मैना आदि कुनै पन्छीहरूको चहल–पहल देखिँदैन । गोबरले लिपेको सिकुवामाथिको दलिनमा गुँड बनाएर बसेका गौंथलीका जोडी पनि चकमन्न छन् । झरी र हावाहुरीले गर्दा सायद आफै गुँडमा ओथारा बसेका होलान् ।

बिहानको चियाको चुस्कीका साथ काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिक नागरिकको मुख्य समाचारमा मेरो आँखा पुग्छ । शीर्षक हुन्छ –महेश लामिछानेको इन्काउन्टरमा मृत्यु ।

दिमागमा बडो खुल्दुली मच्चिन्छ । हलचल पैदा हुन्छ । एक सासमा सबै समाचार पढ्छु । हुनसम्मको दुःख र आश्चर्य लाग्छ । कसैको मृत्यु हुनु त्यसै त दुःखद् समाचार हो । त्यसमाथि झन् इन्काउन्टरमा मृत्यु । कुनै पनि व्यक्तिको इन्काउन्टरमा मृत्यु हुनु भनेको दुःखद् समाचार हो । म यही निष्कर्षमा पुग्छु । चियाको चुस्की सकेर यस घटनाको पृष्ठभूमि के हो ? यसरी घटना घट्यो ? भन्नेतिर म ठोक्किन पुग्छु ।

पूर्वी पहाड तेह्रथुम जिल्ला आठराई सङ्क्रन्तिमा बसोबास गर्ने चन्द्र लामिछाने हुन् । युवा अवस्थामा स्थानीय त्रिमोहन हाईस्कुलबाट उनले एसएलसी पास गरेका उनी मध्यम्वर्गीय परिवारका हुन् । जागिरको खोजीमा काठमाडौं छिर्छन् । आफ्ना नातागोता र ठूलाबडाको चाकरी गरेर भनसुनको आधारमा मालपोतको अस्थायी खरिदारको जागिर पाउँछन् । विद्यार्थी अवस्थादेखि नै उनी जेहेन्दार विद्यार्थी थिए । जागिर खाँदै रात्रि कलेजमा अध्ययन गर्दै उनले अर्थशास्त्रमा एमए गरे । छोटो समयमै सुब्बा तथा अधिकृत भए । लामो समयसम्म अर्थ मन्त्रालय अन्तर्गतको जागिरे भएर विभिन्न मालपोत कार्यालय, भन्सार हुँदै अन्तमा एयरपोर्टको भन्सार विभागबाट पेन्सन लिए ।

चन्द्र लामिछानेले काठकाडौंको मुटु नयाँ बानेश्वरमा जग्गा, बङ्गला, गाडी तथा अर्बौंको सम्पत्ति जोड्छन् । ऐयासी जीवन बिताउँछन् । झन् एयरपोर्टको भन्सार विभागमा काम गर्न थालेपछि त उनको जीवनमा आकाश जमिनको फरक देखिन थाल्छ । रेड लेभल, ब्ल्याक लेभल र विहेकै रक्सीमा उनी रमेका हुन्छन् । एयरपोर्टको जागिरे जीवनदेखि नै उनी अल्कोहोलिक एडिक्टेड भइसकेका हुन्छन् । रिटार्यड जीवनदेखि उनलाई दिक्क थाल्छ । दिन काट्ने कोसँग, जागिरमा हँुदा उनले आफ्ना साथीभाइ दोस्ती पनि बनाउने मौका पाएनन् । लेख्ने के लेख्ने ? पढ्ने के पढ्ने ? दिन काटेमा रात कसरी काट्ने । रात काटेमा दिन कसरी ? हुनथाल्छ । सपनामा पनि एयरपोर्टमा ठूला–ठूला जहाज उडेको देख्छन् । भन्सारको दृश्य देख्छन् । केजीका केजी पहेँलो सुन देख्छन् । रक्सीकै सहारामा उनी दिन–रात काट्न बाध्य हुन्छन् ।

चन्द्र लामिछानेको एक मात्र छोरा हुन्छ महेश लामिछाने । बाबुको छोरो महेशको पढाइ लेखाइ काठमाडौंको अत्यधिक महँगो बोर्डिङमा हुन्छ । ऊ पढाइमा मेहनती विद्यार्थी पनि होइन । सामान्य स्तरको हो । साथीहरूसँग घुमघाम, तडक–भडक र खानपिनमै उसको स्कुले जीवन बित्छ । थुप्रैचोटी परीक्षा दिँदा पनि उसले एसएलसी पास गर्न सकेन । साथीभाइहरूको सङ्गतले ऊ लागूपदार्थको सेवन गर्न लाग्छ । बाबुको छोरो महेशले लागूपदार्थ सेवन गर्न र साथीहरूलाई सेवन गराउन दिल खोलेर पैसा खर्च गर्छ । उसमा पैसाको कमी थिएन । हुँदाहुँदै महेशले पढाइ छोडेर लागूपदार्थ सेवन गर्ने महिला तथा पुरुष साथीहरूको ग्याङ नै बनाउँछ । लागूपदार्थ सेवन गर्ने, तस्करी गर्ने र बेचबिखनको कारोबारसमेत गर्न थाल्छ । लागूपदार्थ सेवन गर्नुका साथै इन्जेक्सन समेत प्रयोग गर्न थाल्छ । प्रहरीको नजरमा लागूपदार्थ तस्करी र ओसार–पसार गर्नेको कालोसूचीमा पर्छ । प्रहरीको नजरमा ऊ वान्टेड लिस्टमा पर्छ ।

लागूऔषध सेवन गर्ने सिलसिलामा लागूऔषध सेवन गर्ने एक युवतीसँग उसको प्रेमविवाह हुन्छ । युवतीको नाम हुन्छ सरिता । उनीहरूबाट एक छोरी जन्मन्छ । लागूऔषधको सेवनको कारणले हो वा के हो छोरी असाधारण लुली लङ्गडीजस्ती हुन्छे । केही समयपछाडि छोरीको कारणले हो वा के हो महेश र सरिताबीच ठूलो मनमुटाव हुन्छ । सरिता छोरी लिएर माइत फर्कन्छे ।
यता महेशका बुबा चन्द्र लामिछाने रक्सीको लतमा यस्तो लागेको हुन्छ । अब ऊ पूरै अल्कोहोलिक एडिक्टेड हुन्छ । माटाको

मड्केलोको माटो खन्दा त सकिन्छ भने धन सम्पत्ति कति दिनसम्म रहन्छ ? रक्सीले गर्दा बाबु चन्द्र र लागूपदार्थले गर्दा महेशसँग अब कुनै सम्पत्ति रहँदैन । पहिला विदेशी रक्सी खाने चन्द्र अब रक्सी भट्टीमा गएर घरेलु रक्सी खान थाल्छ । सडकमै मातेर मस्त निदाउन थाल्छ । लोग्ने र आफ्नो एउटै मात्र छोरो महेशको यो हविगत र चालामाला देखेर मानसिक तनावले महेशकी आमाको हृदयाघात भई मृत्यु हुन्छ ।

चन्द्र लामिछानेका आफन्तहरुले यसले त हाम्रो नाकै काट्यो , घोर वेइज्जती भयो भनेर चन्द्रलाई शहरको एक सुधार केन्द्रमा लगेर राख्छन् । यता प्रहरीको निगरानीमा मोस्ट वान्टेड सूचीमा रहेका महेशलाई प्रहरीले पक्रन खोज्दा प्रहरीको घेरा तोडी भाग्न लाग्छ र प्रहरीले चलाएको गोली लागी मृत्यु हुन्छ । घर छिमेकमा हल्लीखल्ली मच्चिन्छ । दिनदहाडै गोली हानी महेशको मृत्यु भएकोमा नाराजुलुस निस्कन्छ ।

तानाशाही पुलिस–
मूर्दावाद ।
महेश लामिछाने–
जिन्दावाद ।
ज्यानमारा सरकार–
मूर्दावाद ।

महेशको मृत्यु भएपछि सुधार केन्द्रमा रहेका बुबा चन्द्र लामिछानेलाई घर ल्याइन्छ । रक्सीको सेवनले गर्दा परालको त्यान्द्रोजस्तो ज्यान भएका चन्द्रका हातखुट्टा लगलग कामेका हुन्छन् । पानी सकिएका कुवाजस्ता गहिरा नयन युगलमा आँशु रित्तिएको हुन्छ । अनुहारमा हजारौं चाउरी परेको हिमाल झैं फुलेको दाह्री, जुँघा र कपाल हुन्छ । थरथर कामिरहेका हातले आफ्नो अति प्रिय एक्लो छोरो महेशको मृत शरीरलाई अँगालो मार्छन् । (लेखकः पूर्वप्रशासक तथा पत्रकार हुन् ।)