भोजपुर/ परम्परागत रूपमा प्रयोग हुने मौलिक ढिँकी जातो लोप हुने अवस्थामा पुगेको छ ।  बिजुली तथा डिजेलबाट चल्ने आधुनिक प्रविधिका मिल गाउँ–गाउँमा स्थापना भएसँगै ढिँकीजातो लोप हुने अवस्थामा पुगेको हो ।
 
भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ८१ वटा वडामा सडक सञ्जाल बिस्तार भएको छ । सडक बिस्तार भएपछि शहरबाटै चामल, पिठो, दाललगायतका दैनिक उपभोग्य वस्तु गाउँघरमा ल्याउने प्रचलन बढेको छ । जसले गर्दा ढिँकी जातोको प्रयोग घटेको छ । कुटानी पिसानीका लागि मिलहरू बन्ने क्रम तीव्र बनेपछि अहिले जाँतो प्रयोगमा आउन छाडेको आम्चोक गाउँपालिका–२ दाङ्खाकी धनमाया राईले बताइन् । उनले विगतका कुरा सम्झदै भनिन्, ‘गाउँघरमा मिल नहुँदा हामी राति १२ बजेसम्म जाँतोमा मकै, कोदो पिसेर मात्र सुत्ने गर्थिम्, भालेको डाँकमा बिहान ३–४ बजे उठेर ढिँकीमा धान कुट्ने चलन थियो । अहिले जमना फेरियो, मिल भएपछि सजिलो भएको छ ।’
 
राईका अनुसार गाउँघरमा मिल नहुँदा चाडबाडका बेला ढिँकी नहुनेले ओख्लीमा पनि धान, चिउरा र पीठो कुट्ने चलन थियो । ढिँकी जाँतो प्रयोग गर्दाको समय स्मरण गर्दै रामप्रसाद राई गाउँपालिका–७ का रामबहादुर राईले भने, ‘उति बेलाको समय साच्चै रमाइलो थियो, गाउँघरमा एक अर्कालाई सहयोग गर्दै पालो गरेर धान, पीठो, चिउरा पालैपालो कुट्थ्यौ, अहिले त्यो चलन हरायो, खेतीपाती पनि कमैले गर्छन्, सबै चलानी सामान प्रयोग गर्ने बढे, ढिँकी जाँतो त बिस्तारै एकादेशको कथाजस्तै हुन लागेको छ ।’ उनले आधुनिकताको नाममा भित्रिने चलानी सामान प्रयोग गर्नाले स्वास्थ्यमा भने समस्या बढ्दै गएको बताए ।
 
उनले थपे, ‘अहिले गाउँमा मकैको च्याख्लाको भात खानै छोडियो, कम गुणस्तरको हात्ती ब्राण्डको भए पनि चामलकै भात खाने संस्कार विकास भो, अनि कता जाँतोको प्रयोग हुनु, जाँतोको तुलनामा ढिकी चाहिँ केहीँले प्रयोग गरेका छन् ।’ जिल्लाका युवा पुस्ता भने पूर्खाले चलाएका ढिँकी जाँतोको प्रयोग नभए पनि संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् । पत्रकार महासङ्घ भोजपुर शाखाका पूर्व सहसचिव आरके बान्तावाले गाउँगाउँमा कुटानी पिसानी मिल स्थापना भएर सहज भए पनि परम्परादेखि पूर्खाले प्रयोग गरेका ढिँकी जाँतो संरक्षणमा जोड दिए ।
 
उनले भने, ‘अहिले मिलबाट कुटानी पिसानी सहज भएको छ, प्रविधिको विकाससँगै योभन्दा अझ राम्रो प्रविधिको विकास होला, तर मानव जीवनमा प्रयोग गरिएका ढिँकी जाँतो, ओख्ली जातिगत पहिचान पनि मेटिन लागेको छ । यसको संरक्षणमा राज्यले नै ध्यान दिनुपर्छ । त्यसका लागि स्थानीय सरकारहरूले सङ्ग्रहालय बनाउनु आवश्यक छ ।’ बढ्दो आधुनिक प्रविधिको आकर्षणका कारण गाउँघरका ढिँकी जाँतो र ओख्ली लोप हुने अवस्था रहेको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका वरिष्ठ उद्योग अधिकृत चेतनाथ गौतमसमेत स्वीकार्छन् । घरेलु तथा साना उद्योग विकास समिति भोजपुरको तथ्याङ्कअनुसार हाल जिल्ला भर एक सय ८२ वटा कुटानी पिसानी मिलहरू सञ्चालित छन् ।