पथरीशनिश्चरे / उनी ठाँटिएर विहानै १ सय ५० सीसीको पल्सर मोटरसाइकलमा सरर आउँछन् । कार्यालयमा आएर मोटरसाइकल राख्छन् । अनि ट्रयाक्टरमा चढेर आफ्नो सरसफाइको दैनिकी थाल्छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाका कर्मचारी लोकबहादुर विश्वकर्माले विगत ४ वर्षदेखि आफ्नो दैनिकी यसैगरी अघि बढाइरहेका छन् । उनको व्यवस्थित दैनिकीले फोहोरमैला व्यवस्थापनको काम गर्ने झुत्रेझाम्रे मान्छे हुन्छ भन्ने पुरानो मान्यतालाई परिवर्तन गरेर हरेक कामको सम्मानको सन्देश छर्लङ्ग पार्छ । ‘मैले सुरुदेखि नै मोटरसाइकल चढेर कार्यालय आउने अनि फोहोर उठाउन जाने गर्दै आएको छु ।’– उनले भने ‘काम सानो र ठूलो हुँदैन । तर आफु अलि राम्रो बनेर हिँडियो भनें अरुले हेप्दैनन् पनि । अनि कामको पनि सम्मान हुन्छ ।’
विहान ७ बजेदेखि वेलुका ४ बजेसम्म उनको दैनिकी फोहोरमैला टिपेर ट्रयाक्टरमा हाल्ने र लगेर फाल्नेमै वित्छ । २ वटा ट्रयाक्टरमा एक एकजना कर्मचारी यसरी खटिन्छन् । घरबाट कार्यालयको दुरी १ किलोमिटर पनि पर्दैन । उनको मोटरसाइकलमा हिड्ने चाहनाले ४ वटा मोटरसाइकल फेरिसकेको छ । आफ्नै कमाईबाट मोटरसाइकल किन्दै चढ्दै आएका उनले पछिल्लो समय अढाई वर्ष अघि पल्सर किने । ‘कमाएको बचाएर सानो घर बनाएको छु । मोटरसाइकल चढिराको छु, ६ जनाको परिवार पालेको छु ।’– उनले वचत गर्ने शैली सहित आफ्नो कुरा सुनाए । उनको तलव भनें मासिक १४ हजार हुन्छ । ४ जना छोराछोरीलाई पञ्चायत माविमा पढाउँदैछन् ।
सोही नगरपालिकामा उनीजस्तै सरसफाइ मजदुरका रुपमा काम गर्छन् ५० वर्षीय छेदी मल्लिक । विगत १८ वर्षदेखि गाविस हुँदादेखि नै सो कार्यालयमा सरसफाई कर्मचारीका रुपमा उनको दैनिकी जारी छ । उनी पनि कम छैनन् । विहान सुपरस्पेण्डर मोटरसाइकलमा आउँछन् । मोटरसाइकल राखेर झाडु लिएर कार्यालयमा उक्लन्छन् र बढाँरकुँढार थाल्छन् । उनको पनि घर टाढा त छैन । तर मोटरसाइकल चढ्ने रहरले ८ महिना अघि १ लाख ८२ हजारमा मोटरसाइकल किने । अर्का मोटरसाइकलवाला लोकबहादुरले उनलाई मोटरसाइकल सिकाइदिइसकेपछि मोटरसाइकल किने । ‘१ लाख ऋण खोजे, अरु आफ्नै तलवको पैसा हालें । अव ऋण पनि तिरिसक्न आँटे ।– उनले सुनाए । उनको एउटा छोरो महेश पनि सोही नगरपालिकामा सफाई कर्मचारीका रुपमा सक्रिय छन् । श्रीमती र अन्य २ छोरा पनि आआफुले जानेको इलममा छन् । ६ जनाको परिवार छ । उनको तलव अहिले १८ हजार ५ सय छ । श्रीमती र छोराहरुको पनि जोरजाम गरी वडा नम्वर १० मा ७ धुर जग्गा किनेर भूँइघर बनाएका छन् । अरुले मोटरसाइकल चढेको देखेर आफुजस्ताले त किन्न सकिदैन होला भन्ने उनलाई लाग्थ्यो । ‘तर मोटरसाइकल चढ्ने रहरले फोहोरमैलाको कर्मचारी पनि स्ट्याण्डर्ड भएर हिँड्छ भनेर भनेको सुन्दा मन खुसी हुन्छ ।’– उनले झाडु लाउन रोकिदै भने ।
































