वराहक्षेत्र/ उनीहरूको घरमा पुग्दा सेतो लुगा अनि सेतै फेटा लगाएर दुई किशोरीहरू घरको एउटा कुनामा बसिरहेका छन् । गम्भीर मुद्रामा बसेका उनीहरूलाई मातृशोक परेको छ । नौ महिना पेटमा राखेर ठूलो कष्टका साथ जन्म दिएर, आफ्नो अमृततुल्य दूध चुसाएर बडो जतनले हुर्काई बढाई यो संसार देखाइदिने ती आमाको याद मात्र छ, उनलाई सम्झाउने एउटै मात्र वस्तु छ त्यो हो सँगै राखिएको संस्थाहरूले दिएको समवेदना पत्र । भर्खर ५१ वर्षकी आमा ४ जना छोरीहरूलाई छाडेर संसारबाट बिदा भइन् ।
अरु केही छैन, उनीहरूको संसार अहिले रित्तिएको छ । तर आफूहरूमाथि आइपरेको बज्रपातलाई डटेर हिम्मत देखाउँदै आँखाको आँशुलाई भित्रै सुकाएर परापूर्वकालदेखि चल्दै आएको विभेद र अन्धविश्वासलाई चुनौती दिँदै दुई दिदीबहिनीहरू सुनिता र सुस्मिता दिवङ्गत भएकी प्यारी आमाको किरियापुत्री बसेका छन् ।
केही समय अगाडिदेखि जण्डिस रोगबाट बिरामी भएकी आमा पदमा विश्वकर्मालाई उपचार भइरहेको थियो । तर उपचार खर्चको अभाव थियो । कसैगरी उपचार भइरहेको थियो । एक्कासि फागुन ७ गते आमा साह्रो एक्कासि बिरामी हुनुभयो । अनि कसैगरी गाउँलेको सहयोगमा हतार धरानस्थित बीपी क्याम्प अस्पताल पु¥याऔं । तर दिउँसो १२ बजेर ३० मिनेटमा आमाले हामीलाई छाडेर यो संसारबाट बिदा हुनुभयो । जेठी छोरी १८ वर्षीय सुनिता विश्वकर्माले बताइन् ।
बेलुकी साँझमा आमाको दाहसंस्कार गरेर आयौं, उनले बताइन् । परिवारमा हामी चार दिदी बहिनीहरू मात्र छौं, भाइहरू छैनन् । घरमा छोरा मान्छे भनेको एक्लो बुबा गोपाल विश्वकर्मा मात्र हुनुहुन्छ । उहाँले परिवार को सम्पूर्ण व्यवहार चलाउनुहुन्छ ।
‘घरमा दाजुभाइ पनि नभएको अनि काजक्रियामा छोरी मान्छे बस्नु हँुदैन भन्ने रुढीवादी मान्यतालाई तोड्नु पर्छ, छोरा र छोरी बराबर हुन् । भेदभाव हटाउनु पर्छ भनेर हामी दुई बहिनी सुस्मिता र क्रिया बसेका हौं जेठी दिदी सुनिताले बताइन् । अरु दुई बहिनीहरू सुशीला र पवित्रा सानै छन् । त्यही भएर हामी मात्र बसेका हौं’– उनले बताइन् ।
‘घरको अवस्था कमजोर छ, बुबाले सानोतिनो काम गरेर घरको व्यवहार चलाउनुहन्छ, हामीलाई दलित सेवा सङ्घ नेपालका वराहक्षेत्रका अध्यक्ष लङ्कमान अङ्कलले तिमीहरू पनि सन्तान हौ, मराउपराउमा छोराले मात्र काजक्रिया गर्छ भन्ने हैन, छोरीले पनि गर्नसक्छ भनेर के गर्छौ तिमीहरू भन्दा, हामीले समाजको यस्तो कुरीति हटाउन हामी आमाको किरियामा बसेका हौं’–स्थानीय आदर्श माविमा शिक्षा विषय लिएर कक्षा ११ मा पढ्दै गरेकी सुनिता ले भनिन् । ‘सङ्घका सल्लाहकार हम्ब ठटाललगायतले आमाको दाहसंस्कार अनि काजक्रियामा ५ हजार रुपैयाँ दिएर आर्थिक सहयोग गरिरहनुभएको छ’–उनले भनिन् ।
‘छोराछोरी बराबर हुन्, अनि काजक्रिया चाहिँ छोराले मात्र गर्नुपर्ने, छोरीले चाहिँ गर्न नहुने, हामीले समाजबाट यस्ता कुरीति तथा विसङ्गति हटाउनलाई मृतकका छोरीहरूलाई प्रोत्साहितसमेत ग¥यौं’– वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ रेल्वे स्थित रहेको मृतकको घरमा ९ औं दिनको कोरामा बसेका छोरीहरूलाई सघाउँदै भेटिएका अध्यक्ष र सल्लाहकारद्वय लङ्कमान विश्वकर्मा र हम्ब ठटालले एकसाथ भने ।
‘उनीहरूको आर्थिक अवस्था कमजोर छ, बुबा गोपालले जसोतसो घर चलाएका छन्’ अध्यक्ष लङ्कमानले भने, ‘उनीहरूलाई सहयोगको खाँचो छ ।’ उता गोपाल विश्वकर्माले भने, ‘मेरो कमाइ छैन, दुःखमाथि दुःख थपिएको छ । जेठी छोरी १२ कक्षामा पढेदैछे, छोरीको पढाइको निरन्तरतामा विद्यालयले सहयोग गरिदिए हुन्थ्यो ।’
































