नेपालबाट राजतन्त्रले बिदा लिएको पनि दशक नाघ्यो । तर, ‘राजाको काम कहिले जाला घाम’ भन्ने उखान भने दिन प्रतिदिन बलियो हुँदै गएको छ । १० बजे पुग्ने कार्यालय ११ बजे पुग्दा भएकै छ । सुन्दरहरैंचा नगरपालिकाभित्र त्यही देखियो । कर्मचारीको मनपरीतन्त्र भनेर भनिसक्नु र सुनेर सुनिसक्नु छैन । ठूला मान्छेका सोर्समा आएका कर्मचारी साना सोर्सका कर्मचारीबीचको दूरी पनि टाढिएको रहेछ । सरकारी कर्मचारी र कार्यालयबीच तालमेलको अभाव झनै ठूलो समस्या बनेको छ ।
सुन्दरहरैंचा नगरपालिका भित्रको कर्मचारी लथालिङेग व्यवस्थापन हेर्दा पनि कर्मचारीहरूलाई हेर्ने जनताको नजर नै परिवर्तन हुन्छ । कर्मचारीतन्त्रको यस्तो हालतले सरकारी कर्मचारीहरूप्रति जनताको विश्वास गुम्नु स्वभाविक हो । मुलुकको समृद्धि र विकास राज्यका सबै अङ्गको क्रियाशीलतामा मात्र सम्भव छ । तर, सरकारी कार्यालयको काम गर्ने शैलीले समृद्धिको सपनालाई टाढा बनाइदिएको छ । जनताको करबाट तलब÷भत्ता खाने कर्मचारी दिनभर घाम ताप्नै व्यस्त रहन्छन् । जतिबेला पनि चियाको चुस्की चाहिँ हाल्यो ।
जनताको कामभन्दा पनि आफ्नो बाटो सोझ्याउने कर्मचारीहरू जनताको पक्षमाभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लाग्छन् भन्दा फरक नपर्ला । ‘सरकारी काम कहिले जाला घाम’ नेपाली उखान अहिले पनि मेल खान्छ । सुन्दहरैंचा एउटा उदाहरण कार्यालय मात्र हो । हैन भने स्वास्थ्य चौकी, पानीको विल तिर्ने बिजुलीको बिल तिर्ने यातायातमा सवारी करलगायतको काम गर्दाको झल्झल याद आइहाल्छ त्यही सरकारी कार्यालयको । अधिकांश सरकारी कार्यालयको हालत यस्तै छ । सरकारी कर्मचारीको रवैया सुधार हुन नसक्दा जनताले प्रत्यक्ष सास्ती व्यहोर्नु परेको छ । सेवा लिन आउने लाइनमा बस्छन् तर, कर्मचारीसँगको ‘सेटिङ’ मा आउनेले भने पहिलो प्राथमिकतामा पर्छन् । चल्ने गरेपछि आम सर्वसाधारण मर्कामा पर्ने गरेका छन् । त्यतिमात्र होइन, कर्मचारीहरू कार्यकक्ष नै खाली गरी घाम तापेको सहजै देख्न सकिन्छ । सरकारी कार्यालयहरूमा लापरबाहीले कर्मचारीको मनपरितन्त्रलाई पुष्टि गरेको छ ।
सरकारले केही कडाइ गर्न खोज्दा उल्टै तिनै कर्मचारी आन्दोलनमा उत्रिन्छन् । यस्तो बेथिति किन ? कर्मचारी आफ्नो गल्ती स्वीकार गर्दैनन् । किन हुँँदैन, उनीहरूलाई हदैसम्मको कारबाही ? १० बजे कार्यालय पुग्ने कर्मचारीहरु साढे १० बजे पुग्ने, एकछिन फेसबुकमा हाई–हेल्लो गर्नै प¥यो । अनि बल्ल ११ बजेबाट सरकारी काम शुरु हुने परम्परा कहिलेसम्म होला सरकार ? कार्यालयका कर्मचारीहरू हाजिरीभन्दा अधिकांश समयमा कामचोर कर्मचारीको कारण सेवाग्राहीले भनेजस्तो सुविधा पाउन सकिरहेका छैनन् । यसो त जिल्लामा सरकारी कर्मचारी बसे नबसेको, काम गरे नगरेको हेर्ने तथा नियामक निकाय जिल्ला प्रशासन कार्यालय हो । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीको व्यवस्थापनको निगरानी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको हो । त्यो कार्यालय पनि विन्दास छ र कर्मचारी जोगाउनतिर लाग्छ ।
नेपालमा सरकारी कार्यालय कति समय चल्छन् होला ? यो प्रश्न सुन्दा सामान्य लागे पनि यसले सरकारी निकायको स्पष्ट कार्यशैलीप्रति सङ्केत गरेको छ । अनि सेवा प्रवाहको स्थिति बारे पष्ट्याउन खोजेको छ । अधिकांशको उत्तर हुनसक्छ, बिहान १० देखि साँझ ५ बजेसम्म । तर हाम्रो समाजका सरकारी सेवामा कार्यरत केहि कर्मचारीहरूले आफ्नो पदीय जिम्मेवारी र गर्नुपर्ने काम पूरा नगरेको पनि देखिन्छ । सरकारी अन्य कार्यालयमा बन्द कोठामा हिटर बालेर गफ गर्ने संस्कार पनि मौलाएको छ तर उनीहरूले आफ्नो काम भनेको अफिस कुर्नु वा हाजिर लगाउनुमै सीमित राख्नु अत्यन्त गैरजिम्मेवारीपन हो ।
ठूलो मान्छे बस्ने सरकारी कार्यालयको ढोका साना मान्छेको घरजस्तो भालेको डाकमा खोल्न मिलेन । ठूला मान्छेको घडीमा १० पनि अरु घडीकै समयमा बज्दैन । ठूला मान्छेको घडी ठूलै आरामले चल्छ । सुुई आरामले घुम्छ र मन लागेको बेला १० बज्छ । हाकिम साहेबको मनअनुसार, चाहना र कामनाअनुसार १० बज्दो रहेछ । हाकिमसा’बको सुुस्तीलाई उहाँका हातको घडीले, टेवलको घडीले र भित्ताका घडीले एकसाथ चुनौती दिन्छन् र ती हतार–हतार दौडिन थाल्छन् । अनि एकछिन सुस्ताएका हाकिमसा’बलाई घडीको ताल पछ्याउन हतार हुन्छ । आरामले अफिस गए पनि निस्कन अलि हतारै गर्नुपर्छ । नत्र घडीले साथ दिँदैन । तपाई मालपोत तिर्न, नागरिकता बनाउन, मोटर वा मोटरसाइकल पास गर्न, बिजुलीको बिल तिर्न या अरु नै कामको लागि सरकारी अड्डा पुग्नुहोस् ।
पहिलो कुरा त तपाईंलाई कहाँको कुन कोठामा काम लिने हो नै पत्तो हुँदैन । बल्ल–तल्ल पत्ता लगाएर त्यहाँ पुग्यो, लामो लाइन हुन्छ । अनि लाइनमा गएर उभियो । मरिगए लाइन सर्दैन । किन लाइन सरेन भनेर खोज्दा थाहा हुन्छ भित्र काम गर्ने मान्छे छैन । भित्र काम गर्ने मान्छे भए पो लाइन सर्छ त ? यो समस्या एउटा कार्यालयको मात्र भएपो प्रायः सबै कार्यालयको हालत यही छ । सबै सरकारी कर्मचारीहरू सुन्दरहरैंचाकै जस्तो हुन्छन् भन्ने पनि छैन । सबै कार्यालयका कर्मचारीहरू खराब पनि छैनन् तर सेवाग्राहीको लागि अधिकांश खराब छन् । सरकारी कर्मचारी यसै पनि ढिलो काम गर्ने ।
कार्यालयहरूमा थम्पिनले एउटा बानी बसालेको छ । तपाईंले ‘हाटा’ भन्ने शब्द त सुन्नुभएकै होला । ‘हाजिर गर्ने र टाप ठोक्ने’ अथवा छोटकरीमा ‘हाटा’ । हाजिर गर्यो, टाप ठोक्यो । सरकारबाट वार्षिक भत्ता लिन्छन् तर पोसाक लगाउँदैनन् । अफिस जाँदा पोसाक लगाएर जानुपर्यो । निक्लँदा फुकाल्ने कुरा भएन । त्यो पोसाक लगाएर डान्स रेष्टुरेण्ट, होटल, पार्क, घूसको लेनदेन हुने ठाउँ, सिनेमा हल जाँदा सबैले चिन्छन् । पोसाक हेरेरै यो त कर्मचारी हो भन्छन्, त्यसैले पोसाक नलगाई अफिस गएका होलान् ? हैन त ?