विराटनगर/ आँखाले भ्याएसम्म पहेलपुर भएको तोरी । फुल्दै गरेको तोरीको बिचमा लामबद्ध राखिएको ‘मेलीफेरा’ जातको मौरीको घार (गोला) । मौरीको हेरचार गर्ने एक दम्पती । मोरङको कानेपोखरी गाउँपालिकामा कृषकले लगाएको तोरी खेतीमा अन्य छिमिकी गाउँपालिकाबाट ल्याएको मौरी अहिले यहाँ चराउन ल्याउने गरेका छन् ।

लेटाङ्ग नगरपालिका-२ फडानीका कमल राईले २ सय घार ‘मेलिफेरा’ जातको मौरी चरणको लागि कानेपोखरी गाउँपालिको १ र २ नम्बर वडामा ल्याएका छन् । व्यवसायीक रुपमा झण्डै दुई दशकदेखी मौरीपालन गर्दै आएका कमल तीन महिनामा चरणको लागि मौरी गाउँ डुलाने गर्दछन् ।

‘मंसिरदेखी माघको अन्तिमसातासम्म बारीमा तोरी फुल्ने गर्दछ,’ उनले भने, ‘यो तीन महिना मैरीको घार लिएर चरणको लागि तोरी फुलेको क्षेत्रमा लाने गर्दछु ।’ कानेपोखरी गापा क्षेत्रका कृषकले व्यवसायिक रुपमा सिजन अनुसार तोरी खेती गर्ने भएकोले अन्य क्षेत्रका मौरी पालन गर्नेहरूको यहाँ पहिलो रोजाइको क्षेत्र पर्ने गर्दछ ।

‘तोरी फुलेको रस खाएको मौरीको मह स्वास्थ्यको लागि एकदमै लाभदही मानिन्छ,’ राईले भने, ‘त्यही भएर सिजन अनुसार फुल पुल्ने बेलादेखी काटनुभन्दा एक महिना अगाडीसम्म चरणमा मौरी छोडदिने गरेका छौं ।’ राईले प्रत्येक वर्ष तोरीको सिजनामा कानेपोखरी क्षेत्रमा मौरी चराउन ल्याउने गरेको जानकारी दिए ।

२ सय घार रहेको राईको ‘मेलीफेरा’ जातको मौरी कानेपोखरी-२ बयवन बजारदेखी पूर्वतिर ५० विघा क्षेत्रफलमा लगाएको तोरीमा ४० घार राखेका छन् । त्यस्तै कानेपोखरी- १ होक्लाबारीमा १ सय ३० घार र रन्जनीमा ३० घार मौरी तोरी फुलेको ठाउँमा चरनको लागि राखिएको उनले बताए ।

तोरी फुलेको रस खाएको मौरीको मह काटेपछि चैतदेखी जंगल क्षेत्रमा चरनको लागि लाने गरेको उनले बताए ।

‘चैतदेखी जंगलमा साल, सिसौलगायतको अन्य विभिन्न जातको बोट विरुवा फुल्ने गर्दछ,’ राईले भने, ‘घर पायक पर्ने स्थानको जंगलमा मौरी चरनको लागि लाने गरेका छौं ।’ मौरीको चरन क्षेत्रमा लगेको बेलामा कमल र उनकी श्रीमति पवित्राले दैनिक रुपमा हेरचान गर्ने गरेको छन् ।

‘मौरीलाई दैनिक जसो रस राख्ने ठाउँमा चाका दिनुपर्ने हुन्छ,’ मौरीको हेरचार गर्दै गरेका कमलले भने, ‘मौरी बाँस बस्नु अगाडी नै घारमा चाका राखिदिनुपर्दछ । दिनभरी चरेको मौरीले चाकामा ल्याएर मह राख्ने गर्दछ,’ उनले भने ।

सात महिना मौरी आफै चरे पनि पाँच महिना भने पाल्नुपर्ने हुन्छ । राईका अनुसार असार, साउन, भदौ, असोज र कार्तिक महिनामा मौरी घरमै पाल्नुपर्ने हुन्छ । ‘यस महिना मौरीको लागि केही हुदैन । यस बेला घरमै मौरी पाल्नुपर्ने हुन्छ ।’ पाँच महिनामा गोलामा गुलियो बस्तु मौरीलाई दिने गरेको बताइएको छ ।

२ वटा घारबाट यसरी पुर्याए २ सय घार
कमल राईले २०६० सालबाट मौरी पालन सुरु गरेका हुन् । उनले एक हप्ताको व्यवसायीक रुपमा मौरी पालन तालिम लिए पछि उनले यो व्यवसाय अंगालेको ब्लाष्टलाई बताए ।

‘मैले तालिम पछि मौरी पालन गर्दा २ वटा गोला ल्याए,’ उनले भने, ‘०६० सालपछि क्रमश मौरीको घार बढाउँदै गए । मौरी राम्रोसँग सप्रिएपछि अहिले २ सय घार पु¥याउन सफल भए ।’ मौरी पालनमा पोख्त भएका कमल मौरीपालन सम्बन्धी तालिमहरू समेत दिने गरेको उनले बताए ।

‘यस क्षेत्रमा आउने कृषकलाई तालिम दिने गरेको छु,’ उनी भन्छन्, ‘राम्रो सँग काम गर्न सके मौरीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’

श्रीमति चाका बनाउने श्रीमान मह काटने
कमललाई सफल मौरी पालन कृषक बन्न उनका श्रीमति पवित्राले सुरुवातदेखी सहयोग गर्दै आएका छन् । ‘श्रीमानले मौरीको हेरचार र मह काटनुभयो भने म मोरीलाई राखिदिने चाका बनाउने गर्दछु,’ तोरी बारीको बिचमा चाका बनाउँदै गरकी कमलाले ब्लाष्टसँगको कुराकानीमा भनिन् ।’

तीन महिनामा १२ क्वटीन्टल मह उत्पादन
राई दम्पतीले यस महिनामा राम्रो मह उत्पादन गरेको बताए । तोरीको सिजनामा मंसिर देखी माघको पहिला सातासम्मा १२ क्वटीन्टल मह उत्पादन गरेको जानकारी दिए । उत्पादन भएको मह विक्री गर्न कुनै समस्या नरहेको उनले बताए ।

‘मैले उत्पादन गरेको महको बजार राम्रो छ,’ उनले भने, ‘उत्पादन गरिएको मह शुद्ध र राम्रो हुने भएकोले नजिकको बजारमा खपत हुने गर्दछ ।’

६ सय रुपैयाँ प्रतिकिलो मह बिक्री गर्दै आएका राइ दम्पतीले मार्सिक १ लाख रुपैयाँ मह बिक्री गर्ने  गरेको बताए । ‘गत वर्ष महबाट एक सालमा १२ लाख आम्दानी भयो,’ मौरीपालक कृषक कमलले भने, ‘खर्च कटाएर सालमा ८देखी ९ लाख रुपैयाँ आम्दानी हुने गर्दछ ।’

मौरीपालनबाट राइ दम्पतीले जेठा छोरा रुबललाई विराटनगरस्थित अरनीको कलेजमा साइन्स पठाउँदै आएका छन् । अहिले उनका जेठा छोरा १२ कक्षामा र कान्छा छोरा योसेब लेटाङ्गको एक निजी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएका छन् ।

‘यही व्यसायबाट छोराहरूलाई शिक्षा राम्रोसँग दिन पुगेको छ,’ उनले भने, ‘लगनशिल भएर काम गरे स्वदेशमा केही गरेर राम्रो आयआर्जन गर्न सकिनन्छ ।’