भद्रपुर/ ‘स्वदेशमा नै गरे हुने नगरे नहुने’ भन्दै झापाका एक युवाले कुखुरा पालन गरेर विदेश जाने युवाहरूको मन जित्ने काम गरेका छन् । स्वदेशमा रोजगारी नपाएर विदेशका विभिन्न खाडी मुलुकमा ६ वर्ष श्रम गरेर निराश भई स्वदेश फर्केका झापा हल्दीबारी गाउँपालिका–२ पाराखोपीका किशोर आचार्यले कुखुरा पालनबाट लाखाैँ आम्दानी गर्न थालेका छन् ।

साहु र बैङ्कको ऋण ब्याजमा लिएर बाहिरी मुलुक कतार र साउदीमा श्रम गर्न गएका उनी स्वदेशी श्रम र उत्पादनबाट सन्तुष्ट भएको बताउँछन् । विदेशी श्रमबाट ऋण तिर्न नसकेर निराश भएका आचार्यले व्यवसाय गर्ने सोचअनुसार पाँच वर्ष अघि कलस कृषि केन्द्र नामकरण गरी कुखुरा व्यवसाय गर्न अग्रसर भए ।

विदेशबाट ल्याएको थोरै रकम र जग्गा धितो राखेर कृषि विकास बैङ्कबाट डेढलाख रुपैयाँ ऋण लिएको सुनाउँछन् ।

उनलाई शुरुमा घरपरिवारलगायत छिमेकीले कुखुरा व्यवसाय नगर्न सुझाव दिएका थिए । ‘अन्य क्षेत्रमा यो व्यवसाय घाटामा गइरहेको छ नगर्नु भन्नुभयो सबैले तर मैले मानिन,’ उनले भने, ‘एउटा खोर बनाएर शुरुमा डेढलाख लगानीबाट पाँचसय चल्ला हालेँ ।’ चितवनबाट एमएम जातको चल्ला खरिद गरी व्यवसाय शुरु गरेको उनले बताए ।

व्यवसाय फस्टाउँदै गएपछि हाल पाँचओटा खोरमा ५ हजार कुखुरा रहेको उनले बताए । दैनिक पन्ध्र बोरा दाना खपतबाट मात्र ४५ हजार खर्च हुने गरेको उनको भनाइ छ । झापाका विभिन्न बजारबाट कुखुरा लिन आउने गरेको भन्दै दैनिक साढे तीनसय कुखुरा बिक्री हुने गरेको उनको भनाइ छ ।

हाल तीस लाखको पुँजी रहेको छ भने खर्च कटाएर वार्षिक १२ लाख आम्दानी गर्दै आएको उनले सुनाए । अहिले घर परिवार छिमेकी सबै खुसी भएको देख्न पाउँदा आनन्द आएको उनले बताए ।

बिचौलियाको समस्या
एकतर्फ खुसी देखिएका आचार्य अर्को पाटोमा त्यति नै निराश देखिएका पनि छन् । बिचौलियाका कारण उचित मूल्य नपाउँदा समस्यामा परेको उनले गुनासो गरे । ‘हाम्रो मूल्यमा हुँदैन ४५ दिन कट्यो भने कुखुरा मर्दै जाने भएकाले उनीहरूले भनेकै दाममा कुखुरा बेच्नु परेको छ ।’ उनले भने ।

किलोको एकसय ८० देखि २ सय रुपैयाँसम्म कारोबार हुने गरेको उनले बताए । नेपाल कुखुरा पालक किसान सङ्घका जिल्ला सदस्यसमेत रहेका आचार्य बिचौलियालाई तह लगाउन नसकेको स्वीकार्छन् ।

बिचौलियाको विषयमा पटकपटक जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको उनको आरोप छ । बिचौलियासँगै भारतीय कुखुरा भित्रिएका कारण झनै समस्या भएको उनले बताए ।

प्रशासन र हल्दीबारी गाउँपालिकाले हालसम्म केही सहयोग नगरेकोमा दुःख लागेको उनले बताए । वार्षिक रूपमा राज्यलाई कर बुझाइरहे पनि स्थानीय सरकारको ध्यान नजानुले किसान निराश हुँदै गएको उनको भनाइ छ ।

केही दिन अघि गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले कुखुरा फारम आएर केही अनुदान उपलब्ध गराउँछु भनेर आश्वास दिएको उनी बताउँछन् ।

सरकारी क्षेत्रबाट सहयोग नपाए पनि आफै मिहिनेत गरेर झापाको एक सफल किसान भएकोमा खुसी लागेको उनले सुनाए । विदेश जानुभन्दा स्वदेशमा मासिक ५०–६० हजार रुपैयाँ कमाउन सकिने भएकाले विदेश जाने युवायुवतीलाई स्वदेशमा नै केही गर्न उनले सुझाव दिएका छन् ।

सरकारले युवाहरूलाई ढुङ्गा र बारुद हान्न मात्रै प्रयोग गरेका कारण अन्य स्वरोजगार बनाउने तर्फ चासो नगएकोमा उनले दुःख व्यक्त गरे । दैनिक कामको खोजीमा विदेश जानेलाई सरकारको प्रत्यक्ष निगरानीमा स्वरोजगार बनाइनु पर्ने उनी बताउँछन् ।