मधुमल्ला/ मोरङ मिक्लाजुङ–८ का रमेश बस्नेत शिक्षण पेशा त्यागेर व्यवसायिक तरकारी खेतीमा तल्लीन बनेका छन् । बस्नेत कुनै बेलासम्म क्लासिकल अङ्ग्रेजी माविका शिक्षक थिए ।
करिब ११ वर्ष शिक्षण पेशामा तल्लीन बनेका उनको ध्यान अहिले खेतीबारीमा छ । अहिले उनलाई कुनै हतारो छैन ।
चक, डस्टर बोकेर हिड्नु पर्ने बाध्यता छैन । छ त, केबल आफ्नो बारीमा लगाएको तरकारीहरूको निगरानी गर्न । करिब ५ कठ्ठा जग्गामा २०६९ सालबाट व्यवसायिक तरकारी खेती थालेका उनले अहिले ३० कठ्ठा पुर्याइसकेका छन् ।
उनको बारीमा करिब १२ महिनाको अवधिमा बोडी, साग, इसकुस, टमाटर, करेला, चिचिण्डो, लौका, काक्रो, फर्सी, काउली, बन्दा, बरकाउलीजस्ता बालीहरू हुने गरेका छन् ।
प्रतिकठ्ठा १५ सयका दर जग्गा भाडामा लिएरै उनले खेतीमा ध्यान दिइरहेका छन् । त्यसबाटै वार्षिक करिब ८–९ लाख रुपैयाँ आम्दानी गर्छन् ।
बीएस्सीसम्म अध्ययन गरेका उनी तरकारी खेतीमै आफ्नौ कौशल प्रस्तुत गरिरहेका छन् । भन्छन्, ‘अन्य व्यवसायमा लगानीको आधारमा आम्दानी निर्धारण हुन सक्छ तर यो व्यवसायमा आम्दानीको कुनै सुनिश्चितता हुँदैन ।
कहिले मनग्गे आम्दानी हुन्छ कहिले घाटा बेहोर्नुपर्छ ।’ तरकारीको बजार मूल्य स्थिर नहुँदा आम्दानी पनि तलमाथि हुने गरेको उनको अनुभव छ । किसानले उत्पादन गरेका कुराहरूको मूल्य निर्धारण किशानले नै गर्न पाउनु पर्ने व्यवस्था सरकारले गरिदिनुपर्ने उनको जिकिर छ ।
उनी बेला बेलामा लिने तालिमका कारण पनि पोख्त बन्दै गरिरहेका छन् । तर, कृषि कार्यालयले कृषकका लागि प्रोत्साहन स्वरूप विभिन्न प्रकारका अनुदान नपाउनाले उनी कहिलेकाही निरुत्साहितसमेत बन्ने गरेका छन् ।
उनले दैनिक ५ जनालाई रोजगारीसमेत दिएका छन् । उनी आफूले मात्रै नभई अन्यलाई पनि समेटेर २०७० सालमा तोरीबारी लघुउद्यमी कृषि सहकारी संस्थासमेत स्थापन गरेका छन् ।
संस्थामार्फत् ३ दर्जनभन्दा बढी कृषकहरू व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन् । बस्नेतले देशमा केही गर्न सकिएन भन्दै उत्तर फर्काउनेका लागि गतिलो जवाफ दिन सफल बनेका छन् ।
उनी नेपाल आर्गानिक प्रालि, बक्लौरी सुनसरी नेपालका प्रबन्ध निर्देशकसमेत हुन् । बस्नेत २०७३ सालमा मोरङ जिल्लाकै उत्कृष्ठ कृषक घोषित हुँदै राष्ट्रपति कृषि पुरस्कारबाट पुरस्कृत भएका थिए ।