धनकुटा/ धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएकोसंगै स्थानिय एक किसानले भने एबोकाडोको तेल उत्पादन गरेका छन् ।

सुन्दा अचम्म लाग्न सक्छ, एभोकाडो समान्यतया फलफुलहरु मध्ये सबै भन्दा उच्चकोटी स्वास्थ्य बद्र्धक फलफूलको रुपमा १ नम्वर मानिन्छ । यस्लाई टिपेर गुम्स्याएर केही दिन राखेर पाकेपछि काटेर गुदी खाने गरिन्छ ।

एबोकाडोलाई गाउँले भाषमा घिउफल पनि भनिन्छ । आज त्यही घिउफल एभोकाडोलाई धनकुटा नगरपािलका वडा नं.३ पात्लेका किसान गोपाल वाग्ले र उनकी श्रीमती कमला वाग्लेले पाकेको एवोकाडोबाट पहिलो पटक खाने तेल र घिउ उत्पादन गरेका छन् ।

धनकुटा नगरपालिकाले मेयर कृषि पर्यटन कार्यक्रम अन्तर्गत एभोकार्ड पहिलो श्रेणीमा परेकोले एभोकाडोको राजधानी घोषणा गरिए पछि एभोकाडोको व्यावसायिक खेतीमा लागेका वाग्लेलाई एबोकाडोको नर्सरी राख्ने जाँगर चलेको थियो ।

नगरसभाले निर्णय गरेर मेयर कृषि पर्यटन कार्यक्रम अन्तर्गत औपचारिक रुपमा एभोकाडोको राजधानी घोषणा गरेपछि विशेष पकेटक्षेत्रको रुपमा अघि बढाएकाले उनी व्यावसायीक रुपमा नर्सरी राखेर विरुवा उत्पादनमा लागेका थिए ।

यसै क्रममा उनले आफ्नो बारीमा फल्ने ५ क्वीन्टल एभोकाडो सबै बिक्रि भएर नसकिए पछि त्यसै खेर जाने भएपछि खाने तेल र घिउ निकाल्ने उपाय निकालेको ब्लाष्टलाई बताए । वाग्लेले पाकेको एभोकाडोलाई बोक्रा र भित्रको दाना छुट्याएर गुदी खान हुने फल जति भेला पारेर घाममा सुकाएको बताए ।

उनले तातो घाममा २ दिन सुकाएपछि पग्लिएर आफै तेल निस्कन थालेको वाग्लेले बताए ।

तेल त निस्कन थाल्यो अब कसरी तेल निकाल्ने भनेर उनले वुद्धि लगाउँदा गाउँघरमा तेल पेल्ने चेपुवा (पेचा) वनाएर माथिबाट तखताले थिचेर पेल्न थालेपछि मनग्ने एभोकाडोबाट तेल निस्किएको सुनाए । अहिले उनी आफ्नो बारीमा बिक्रि नभएर रहेको सबै एभाकाडो सकिएपछि गाउँघरबाट समेत खरिद गरेर तेल निकाल्ने गरेको ब्लाष्टलाई बताए ।

उनले १० केजी पाकेको एभोकाडो बराबर १ लिटर तेल आउने गरेको बताए । उनले धनकुटा नगरपालिकामा आफुले पहिलो पटक एभोकाडोबाट खानेतेल वा घिउ उत्पादन गरेको दाबी समेत गरेका छन् । उनले यसरी निकालेको तेल खानासँग खाादापनि हुने, तरकारी पकाउँदा लगाउँदा पनि हुने, हातगोडा फुटेको भागमा लगाउँदा पनि हुने, दुखेको शरिरमा लगाएर मसाज गर्दा शरिरलाई आराम समेत हुने बताएका छन् ।

उनले १० केजी पाकेको एभोकाडोलाई २ हजार मुल्य पर्ने गरेको र मजदुरलाई ज्याला २ दिनको ६ सय रुपयाँ गरी जम्मा २ हजार ६ सयमा १ लिटर उत्पादन हुने र बिक्रि गर्दा प्रति लिटर ३ हजार रुपयाँमा बिक्रि गर्न सकिने उनको भनाई छ ।

उनले एभोकाडोको तेल काठमाण्डौंको. भाटभाटेनी सुपर मार्केटमा प्रति लिटर ३ हजार रुपयाले बिक्रि हुने गरेको बताए ।

धनकुटाका एभोकाडोका पूराना व्यावसायीक कृषक वाग्लेले सबै भन्दा पहिले एभोकडोको फल पाख्रीबास कृषि अनुशन्धान केन्द्रमा फलेको बताउँछन् । उनले वि.सं.२०४७/०४८ सालताका गोराहरुले पाख्रीवास कृषि केन्द्र भित्र एबोकार्ड फलाएको र त्यट धनकुटामा एबोकार्डको फल फैलिएको बताएका छन् ।

उनले वि.सं.२०५५/०५६ सालमा आफ्नै बारीमा एभोकाडो फलाएर बिक्रि गर्न थालेको बताए । ०५५ सालमा १० रुपयाँ नविक्ने एभोकाडो २० वर्ष पछि आज आएर धनकुटामा २ सय देखी सिजन अफ हुँदै जाँदा ६ सय रुपयाँ सम्ममा बिक्रि हुन थालेको वाग्लेले बताए ।

शुरु शुरुमा कसैले पनि खान जानेका थिएन्न्, अहिले सबैले खान जानेकाले महँगो भएको हो । एभोकाडोको व्यावसायीक खेती गर्न सके जोकोही आत्मनिर्भर बन्न सक्ने उनको दाबी छ ।

धनकुटा नगरपालिकाको वडा नं.१ देखी १० सम्मको विभिन्न वडामा ३५ देखी ४० हजार बढी एभोकाडोको बिरुवा हाल नगर क्षेत्रका कृषकहरुले रोपेका छन् । धनकुटा नगरपालिका क्षेत्रमा वार्षिक रुपमा ९० मेट्रिकटन एभोकाडो उत्पादन हुने गरेको जनाईएको छ ।

नगर क्षेत्र भित्र ३ हजार ७ सय ६४ एभोकाडोको बोटबाट फल उत्पादन भइरहेको छ । वार्षिक रुपमा ७७ हजार ७ सय ५० केजी भन्दा बढी एभोकाडो उत्पादन भएको छ भने, यसबाट कम्तिमा एक करोड बढिको कारोबार हुने गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरिएपछि अब कम्तिमा यो वर्ष एक लाख एभोकाडोको ५० हजार वढी बिरुवा रोप्नको लागी कृषकलाई अग्रसर गराइएको धनकुटा नगरपालिकाले जनाएको छ ।

आगामी ५ वर्ष भित्र धनकुटा नगरपालिका क्षेत्रमा १० लाख एभोकाडोको विरुवा रोपी सक्ने पनि नगरपालिकाले कार्ययोजना अघि सारेको छ । चालु आ.व. देखि नै एभोकाडोको फल दिन सक्ने रुखको संख्या ८ हजार ५ सय ९४ रहेको छ भने १२ हजार ३ सय ५५ बोटले उत्पादन दिने गरेको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रका १ हजार ९ सय ६२ परिवारले व्यावसायिक रुपमा एभोकाडोको खेतीबाट आम्दानी हात पार्दै आएका छन् भने ३ हजार २ सय ३४ परिवारले थप एभोकाडो खेतिमा लाग्ने भएका छन् । धनकुटा नगरपालिका क्षेत्र भित्र रहेका ९ हजार ४ सय ६० घर परिवार यसबाट लाभान्बित हुने नगरपालिकाले जनाएको छ ।