ताप्लेजुङ/ व्यवसायिक रुपमा किबी फलको खेती गर्न थालेका ताप्लेजुङका किसानलाई यसको बजारीकरणमा समस्या भएको छ । किबीबाट राम्रो आमदानी हुन्छ भन्ने सुने पछि अन्य बालीनाली छाडेर यसको खेती सुरु गरेका यहाँका किसानले उत्पादन हुन थाले पछि भने बजार पाएका छैनन् ।

‘रेडियो पत्रपत्रिका लगायतमा किबीबाट ठुलो आमदानी हुने समाचार आउन थालेपछि ईलामबाट विरुवा ल्याएर खेती सुरु गरियो, अहिले उत्पादन हुन थाले पछि किलोको सय रुपैँयामा दिदा पनि लैजाने कोहि भएनन्’–पाथीभरा याङ्वरकका किसान राजकुमार ईजमले भने ।

किबीबाटै आमदानी हुने सपना देखेका उनले तीन वर्ष अघिदेखि कोदो, मकै लगायतका अन्न उब्जाउ हुने बारी मासेर किबी खेती सुरु गरेका थिए । सोहि ठाउँकै अर्का किसान सागर ईजमले मुस्किलले यो वर्ष उत्पादित किबी बिक्रि गरे । उनले सस्तोमा दिएर नै बिक्रि गरिसकेका हुन् ।

सागरले भने–‘केहि महंगोमा दिदा बिकाउनै गाह्रो भयो, सस्तोमा दिदाँ लागत नै राम्रो नउठ्ने रहेछ, फ्याक्नु भन्दा घाटा नै सहेर पनि मुस्किलले बिक्रि गरिसकियो ।’ यता सिरिजंघा गाउँपालिका–५ पेदाङका खेलप्रसाद बुढाक्षेत्रीले समेत यो वर्ष उत्पादित १५ क्विण्टल मध्ये झण्डै १२ क्विण्टल विक्रि नहुँदा भण्डारण गरेर राखेका छन् ।

‘गएको वर्ष समयमा विक्रि भए पनि यो वर्ष भने सिजन सकिनै लाग्दा सम्म विक्रि भएको छैन, झण्डै १२ क्विण्टल भण्डारण गरेर राखेको छु, सिजन पछि विक्रि हुन्छकि, नभए खेर जाने भयो’–बुढाक्षेत्रीले भने । किविफल खाँदाको फाईदा बारे सवैलाई जानकारी नहुँनु, अन्य फलफुलको तुलनामा केहि महंगो मुल्य पर्नुले पनि यसको बजारीकरणमा समस्या भएको बुढाक्षेत्रीको भनाई छ ।

प्रति किलो २ सय रुपैँया भन्दा माथी बेच्दा मात्र फाईदा हुने तर सो भन्दा कम मुल्यले लागत समेत उठाउन मुस्किल हुने किसानको भनाई छ । तर बिक्रि नै नहुँने अवस्था आए पछि सस्तोमा बेच्न आफुहरु बाध्य भएको उनिहरुको गुनासो छ ।

यहाँका ग्रामिण क्षेत्रका अधिकांश किसानले पछिल्लो चार वर्षयता किबी फलको खेती गर्दै आएकाछन् । प्रतिगोटा तीन सय देखि सात सय रुपैँयासम्म लगाएर विरुवा खरिद गरि खेती गर्दै आएका हुन् ।

समुन्द्रि सतहबाट ८ सय देखि २ हजार ९ सय मिटर सम्मको उचाईमा पर्ने पहाडी भु–भागमा किबी खेती हुने गर्छ । पहाडी क्षेत्रका किसानको आय आर्जनमा वृद्धि गर्न सघाउने खेती भए पनि बजारीकरणका सम्वन्धमा किसान अनविज्ञ हुँदा समस्या भएको स्थानीयको बुझाई छ ।

नेपालमा उत्पादित किबी अन्तराष्ट्रिय बजारसम्म पुग्ने बताईए पनि ग्रामिण क्षेत्रका किसान भने बजारीकरणमै अलमलमा परेका छन् ।