मधुमल्ला/ मोरङको मिक्लाजुङ –८ तोरीबारीका कृषक ठाकुर बुढाथोकीले मिक्लाजुङमा पहिलोपटक स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न साउथ अफ्रीकन प्रथम सुधार बोयर जातका बाख्रा ल्याएका छन् ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका बुढाथोकीले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले एक वटा बोयर जातका बोका ल्याएका हुन् । “बोयर जातका बाख्रा खरिद गर्न दुई लाख पचास हजार खर्च भएको छ,” उनले भने ।

थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोकाबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । उनले बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै आएका छन्। “पचासदेखि ७५ प्रतिशतसम्म बोयरको नश्ल सुधार हुने गथ्र्यो, अब शतप्रतिशत बोयर उत्पादन हुन्छ” बुढाथोकीले भने ।

अहिले क्रस गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो दुई हजारभन्दा बढी मूल्यमा बिक्र हुने गरेको छ । शतप्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो चार हजारभन्दा बढी पर्छ ।

छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि व्यावसाहिक सब्जि खेती गदै आएका बुढाथोकी पछिल्लो समय बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन् । उनिले अहिले व्यावसाहिक तरकारी खेती त्यागेर गाउँमै बाख्रापालन गर्दै आएका छन् ।

२०७० सालमा सिर्जनशिल बहुउद्येश्य कृषि फार्म दर्ता गरेर सञ्चालन गरेको व्यावसायिक बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका गरी ८० वटा बाख्रा रहेका छन् ।

वार्षिकरुपमा १२ लाखभन्दा बढीका बाख्रा बिक्री गर्दै आएका बुढाथोकीले आगामी दिनमा शुद्ध बोयर जातका बाख्रापालन गर्ने योजना समेत बनाएका छन् । सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ ।

तर उनले भने एक महिनाको एउटै पाठा-पाठीलाई १ लाख १० हजारसम्ममा बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको बुढाथोकी बताउछन् ।

उनले हालसम्म माउ, बोका बाख्रा खरिद, खोर निर्माणलगायतमा गरी तिस लाखभन्दा बढी लगानी गरेका छन् । बाख्रापालनका लागि उनले करीब एक बिघा जग्गामा किम्बु, टाँकी, बाँसे घाँस , कुटमेरो , नेबारो लगायत भुइँघाँससहित का घाँसखेती गरेका छन् ।

बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको बुढाथोकी बताउछन् ।

उनि भन्छन् सरकारले कृषीलाई आधुनीकिकरण, कृषकलाई प्रोत्साहन गर्ने नारा चलाइरहँदा सरकारी निकाय निरीह, कर्मचारीहरु कमिसनमा लिप्त र जनप्रतिनिधीहरु बेखबर हुँदा कृषक र कृषी पेशा निरुत्साहित र खस्कदै गएको छ ।