तेह्रथुम/ म्याङलुङ नगरपालिकास्थित जिरिखिम्ती बजारमा रहेको कृषि उपज हाटबजार स्थलमा निर्माण गरिएका भवन प्रयोगविहीन बनेका छन् ।
लाखौं रुपैयाँ खर्च गरेर पाँच वर्षअगाडि निर्माण गरिएका भवनहरू प्रयोग र मर्मतसम्भार नगर्दा जीर्ण बन्दै भएका हुन् । भवन सञ्चालनमा नआएपछि अहिले हाटबजार स्थल विवाह, व्रतबन्ध र मरिमराउ हुँदा खाना खाने ठाउँ बन्न थालेको छ ।
किसानले उत्पादन गरेको कृषिजन्य वस्तु हाटबजार स्थलमा नै नराखी बजारको बाटोमा नै राखेर बेच्ने गरिएको छ । तत्कालीन जिविस, कमर्सियल एग्रिकल्चर एलायन्स् (सिएए) र उपभोक्ताको गरी ७५ लाख रुपैयाँको लागतमा पाँच वर्षअघि निर्माण सम्पन्न भएका भवन र ट्रष्ट अलपत्र बनेका छन् ।
निर्माण भएका भवन र ट्रष्टमा कृषहरूले सामान नराखी पसलअगाडि बिक्री गर्दा समस्या हुने गरेको स्थानीय व्यापारी राजन खनालले बताए । ‘आफ्नो पसलअगाडि डोको राखेर किसानहरू बस्दा ग्राहकलाई बाटो नै हुँदैन नबस भन्नु पनि कसरी ?’ व्यापारी खनालले भने ।
पाँच सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पक्की ट्याङ्की र फोहोर सङ्कलन गर्ने भवन प्रयोगविहीन भएका छन् । हाटबजार स्थल जिरिखिम्ती बजारदेखि ५ सय मिटरमात्र भए पनि बाटो नभएर आधा घण्टा लाग्ने गरेको स्थानीय नरमाया बुढाथोकीले बताइन् ।
पहिले बाटोको सुविधा छ, छैन नसोची बनाएकाले यस्तो भएको उनको भनाइ छ । स्थानीय कृषि उत्पादनलाई सङ्कलन गरी बिक्री वितरण गर्ने र खपत हुन नसकेका उत्पादनलाई जिल्लाबाहिर निर्यात् गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।
हाटबजार स्थलमा किन्ने मान्छे नगएकाले बजारको सडकमा नै बेच्नु परेको कृषक धनकुमारी तिम्सिनाले बताइन् । ‘मान्छे किन्न जाँदैनन् अनि यहाँ नै नबसी के गर्नु ?’ कृषक तिम्सिनाले भनिन् ।’ पैदल बाटो सिधा नभएर यहाँका बजारवासी र किसानहरू हाटबजार स्थलमा जान मानिरहेका छैनन् ।
हाटबजार स्थलसम्म जान म्याङलुङ नगरपालिकाले यो आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेकाले अब केही सहज हुने वडाध्यक्ष नारायण आचार्यले बताए ।
जिरिखिम्ती, आम्बुङ, मोराहाङ, साब्ला, पिप्लेलगायतका किसानले उत्पादन गरेको तरकारी, फलफूल बिक्री गर्ने र किसान स्वयम्ले हाटबजार स्थलमा ल्याएर बिक्री गर्न सक्ने उद्देश्यले भवन निर्माण गरिएको थियो ।