उदयपुर/ घरमा दूध, दहीका लागि एक दुई माउभन्दा बढी भैंसी नपाल्ने पुरानो चलन तोडेर व्यवसायिक भैंसीपालनमा उत्रिएका उदयपुरका एक कृषक परिवार दूध बेचेर सबैका लागि उदाहरणीय बनेको छ ।

त्रियुुगा नगरपालिका–१६ शाहीखोलाका नैनबहादुर कार्कीको परिवारले घरै बसिबसी मासिक ९० हजारको कमाइ गर्न थालेपछि सबैका लागि उदाहरणीय बनेका हुन् ।

०७३ सालमा लालीगुरास भैंसी फर्म दर्ता गरी ३ ओटा माउ भैंसीबाट शुरुवात गरेको भैंसीपालन व्यवसाय, दुई वर्षको अन्तरालमा ८ वटा माउ भैंसी बनाई मासिक ९० हजार आम्दानी गर्दै आएको कृषक नैनबहादुर कार्कीले बताए ।

भैंसीपालनमा अन्य व्यवसायमा जस्तो समय नलाग्ने र थोरै मिहिनेतमा धेरै आम्दानी गर्न सकिने भएकोले अझै केही माउ भैंसी थपेर १० ओटासम्म माउ भैंसी पाल्ने सोच बनाएको कार्कीले बताए ।

८ ओटा भैंसीले दैनिक ४० देखि ६० लिटरसम्म दूध दिने गर्छ । दूधको बजार भाउ प्रतिलिटर ६० रुपैयाँ छ । त्यहाँको सबै दूध गाईघाट बजारको हितैसी डेरीले खरिद बिक्री गर्ने गरेको कार्कीले बताए ।

कार्कीका सासु–ससुरासहित चार जनाको परिवार भैंसीपालनमा खट्ने गरेका छन् । भैंसीलाई खोले, कुँडो खुवाउन, घाँस काट्न, गोठ सफाइ गर्न र दूध दुहेर बजार पठाउनू उनीहरूको दैनिकी भएको कार्कीले बताए ।

घरको दुःखले गर्दा पाँच वर्षसम्म विदेश बसेका नैनबहादुरले विदेशको दुःखकष्ट सम्झिँदै आफ्नै देशमा केही गर्नेे हिम्मत कसेर स्वदेश फर्किएका थिए । उनले गाउँ आउनासाथ घरमा भएको एकदुई माउ भैंसीमै अरू थपेर भैंसीपालन व्यवसाय शुरुवात गरेको बताए ।

उनको एक प्रकारको नयाँ जाँगरलाई घरपरिवारका सदस्यहरूले पनि ठूलै सहयोग गरेकाले आज एक नमूना भैंसीपालक कृषकका रूपमा चिनिएको कार्की बताउँछन् । दूध बिहान र दिउँसो दुई पटक दुहुने गर्दछन् ।

घाँसका लागि खेतबारी र नजिकै जङ्गल छ । नियमित र समय तालिकामा काम गर्ने भएकाले खटाइ त्यति गाह्रो नभएको नैनबहादुरकी श्रीमती बिन्दमाया कार्की बताउँछिन् । उनीहरूको जोस–जाँगर र एक गाउँको उदाहरणीय काम देखेर व्यवसायका लागि छरछिमेकको विश्वासिलो पात्रसमेत बनेका छन् ।

व्यवसाय तथा खाँचो गाह्रोमा ऋण पान सापटी तथा सरकारी अनुदानले समेत पत्याउन थालेको कार्कीले बताइन् ।

कार्की परिवारको फार्म नमूना फार्मको रूपमा रहेकाले गत वर्ष वडाको सिफारिसमा नगरपालिको ५० हजार रुपैयाँ अनुदानसमेत प्राप्त भएको थियो । कार्की परिवारले नमूना भैंसीपालक कृषकका रूपमा स्थापित हुँदै अन्य धेरै कृषकलाई पनि प्रेरित गराउने प्रयास भइरहेको त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।

बजारमा दूधको मागमा कमी छैन । गाईघाट बजारमा मात्र एक दर्जनको हाराहारीमा डेरी सञ्चालनमा छन् । स्थानीयस्तरमा उत्पादित दूध स्थानीय डेरीहरूमै खरिदबिक्री भइरहेको छ ।

प्रशस्त दूध उत्पादन भएको खण्डमा बाहिरसमेत निर्यात गर्न सकिने व्यवसायीहरू बताउँछन् ।