वराहक्षेत्र/ बिग्रिएर वर्षौ थन्किएको चतरा जल विद्युत केन्द्रको एउटा युनिट मर्मतपछि आंशिक उत्पादन थाले पनि पानी अभावमा उत्पादन लगभग शून्यमा झरेको छ ।

एउटा युनिट अहिले पनि बिग्रिएर थन्किएको एक दशक पुग्न लागेको छ । केही सयमअघि मात्रै बनेको एउटा युनिटमा पनि पानी अभाव हुँदा सोचेजस्तो उत्पादन हुन नसकेको हो । केन्द्रको २ नम्बर युनिट ८ वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मतपछि १ नम्बर युनिटले प्रतिदिन ७ सय किलोवाट विद्युत् उत्पादन गरे पनि अहिले आएर साढे ४ सय मात्रै उत्पादन भइरहेको छ ।

केन्द्रको दुई युनिटबाट प्रतियुनिट १ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो । २०५२ सालमा बन्न शुरु भई २०५६ सालमा विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो । जसमध्ये २ नम्बर युनिट २०६७ सालमै बिग्रिएर उत्पादन ठप्प भएको थियो । युनिट १ पनि २०७१ सालमा बिग्रिएको हो ।

२०७४ असोजमा १ नम्बर युनिट मर्मत गरी आंशिक उत्पादन थालिएको थियो । यही कात्तिक महिनादेखि प्रतिदिन ७ सय किलोवाट नियमित विद्युत् उत्पादन थालेको थियो । तर अहिले पानी कम हुँदा साढे ४ सयदेखि पाँच सय केवीमात्रै विद्युत् उत्पादन भइरहेको केन्द्रका सहायक इञ्जिनियर हरीसुन्दर माझीले बताए ।

‘हामीलाई एउटा युनिट सञ्चालन गर्न पानीको लेभल एक सय आठदेखि साढे आठ सय र पानीको डिस्चार्ज प्रतिसेकेण्ड ३२ क्युमेक्स आवश्यक हुन्छ । तर अहिलेको पानीको डिस्चार्ज १५ क्युमेक्स मात्र छ’ माझीले भने ।

सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा रहेको केन्द्रका लागि नहरको पानी नै मुख्य स्रोत रहेको छ । यो बेलामा नहरमा आंशिकमात्रै पानी खोलिने कारण पनि केन्द्रलाई समस्या हुने गरेको उनी बताउँछन् ।

‘विद्युत् उत्पादन गर्ने जेनेरेटर चलाउँन ११ हजार भोल्ट चाहिन्छ तर अहिले धरान ग्रीडबाट आउँने गरेको विद्युत्को करेन्टचाप ९ हजार मात्र हुन्छ , जेनेरेटर चलाउन कम्तिमा पनि १० हजार भोल्ट त चाहिन्छ । त्यसमा पनि समस्या छ,’–उनी भन्छन् ।

जल विद्युत्ले दुई वटा फिडरमा उपभोक्ता र त्यहाँस्थित ड्रेजर मेसिनलाई विद्युत दिने गरेको छ । उपभोक्ताको पिक आवर साँझ ६ देखि राति ८ बजेसम्म ७ सय ५० देखि ८ सय किलोवाट र नर्मल आवरमा विहान ४ बजे देखि विहान ७ सय केभी खपत रहेको छ भने ड्रेजरले ७ सय पचास किलोवाट विद्युत् खपत हुने गरेको सहायक इञ्जिनियर माझीले बताए ।