देवानगंज/ सुनसरी देवानगंज गाउँपालिका – २ मेहता टोलका सबुल अन्सारीले उन्नत जातको उखुसँगै यतिबेला पाँच बाली तरकारी लगाएका छन् । १८ बिघा खेती गर्दै आएका उनले १० विघामा उखु र ५ विघा खेतीमा अन्तरबाली तरकारी खेती लगाएका हुन् ।

उनले उन्नत जातको उखुँसहित एउटै बारीमा राजमा, गोलभेडा, आलु, काउली र गाजर लगाएका छन् ।

उनले गत वर्षमा अन्तरबाली खेतीबाट राम्रो मुनाफा गर्न सफल भएको बताए । प्रतिविघा १ लाख ५० हजार रुपैयाँ आम्दानी भएको जानकारी दिए । स्वास्थ्यको लागि लाभदाही मानिने ‘राजमा’ अन्तरबाली खेतीमा बढी लगाएको उनले बताए ।

अब यस पटक राजमाबाट मात्र कम्तीमा प्रतिविघा २ लाख रुपैयाँ कमाउने योजना छ । यसपछि काउली, आलु र गाजरबाट पनि राम्रै आम्दानी हुने उनले अनुमान गरेका छन् ।

‘आफनो जमिनसहित लिजमा गरि १० विघा खेतीमा उखु खेती लगाएको छु,’ उनले भने, ‘५ विघामा उखुसहित विभिन्न जातका तरकारी लगाए ।’ उखुको लागत खर्च अन्तबारी तरकारी खेतीबाट उठाएको उनको भनाई छ ।

‘एकै सिजनमा लगाएको धेरै जातको तरकारीबाट राम्रो आम्दानी हुने भएको छ,’ उनले भने, ‘पराम्परागत शैलीलाई छोडरे अव नयाँ प्रविधि अपनाउनु पर्दछ ।’

‘डयाङ बनाएर पाँच फिटको चौडाइको बिचमा उन्नत जातको उखु लगाएको छु,’ अन्सारीले भने, ‘इन्च नापेर उखुँको छेउमा अन्य सबै बाली लगाए । जसले गर्दा यसरी रोप्दा कुनै बालीलाई असर गर्दैन ।’ सोही अनुरुप आवश्यकता अनुसार मल र पानी दिने गरेको उनले बताए ।

तरकारी पनि राम्रो हुने र उखुबाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । गत वर्ष उन्नत जातको ‘सिओसि २०३८’ जातको उखु लगाएको उनले बताए ।

विगतको वर्षहरूमा प्रतिविघा ४ सयदेखी ५ सय क्वटीटल उखु उत्पादन हुँदै आएको जानकारी दिदै अन्सारीले भने, ‘यस पटक सिओसि २०३८ जातको उखु रोप्दा उत्पादन ह्वातै बढ्यो ।

उन्नत जातको उखु रोप्दा प्रतिविघा १ हजार देखी १ हजार ५ सय क्वीन्टल उत्पादन भयो ।’

देवानगंजकै अर्का किसान सदानन्द मेहताले पनि ५ विघा जमिन मध्धे १ विघा १० कठठामा अन्तरबाली खेती सुरु गरेका छन् । उनले फूलकोपी, तोरी, राजमा, काउली, आलु, गोलभेडा लगाएका छन् ।

यसै वर्षबाट अन्तरबाली खेती सुरु गरेको जानकारी दिदै मेहताले बाली राम्ररी सप्रेकोले राम्रो आम्दानी हुनेमा आशाबादी छन् । पछिल्ला वर्षमा जिल्लाका अधिकांश किसानले यसैगरी परम्परागत खेती छोडेर अन्तरबाली प्रविधिको उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

देवानगंज – ५ का अर्का कृषक सुवोद कुमार यादवले ५ विघा जमिन मध्धे ३ विघामा उखुसँगै अन्तरबाली खेती लगाएका छन् । उनले गत वर्षदेखी अन्तबाली खेती प्रणाली सुरु गरेको बताए ।

‘अघिल्लो वर्ष प्रशिक्षण कालको लागि १ विघामा अन्तबाली खेती लगाए,’ उनले भने, ‘१ विघामा उन्नत जातको उखु र राजमा मात्र लगाए । जसमा लागत खर्च १ लाख रुपैयाँ हुन आयो ।’ एक विघामा लगाएको अन्तरबाली खेतीमा राजमा ४० मन उत्पादन भयो ।खर्च कटाएर एक विघामा ५० हजार रुपैयाँ मुनाफा भएको उनले बताए ।

‘अहिले उखुको हुकर्दै गएको छ,’ उनले भने, ‘एक बालीको तरकारी खेतीको उत्पादन समेत विक्री गरे ।’ अन्तरबाली खेती प्रणालीबाट राम्रो आम्दानी हुने भएकोले उनले अहिले खेती समेत बढाएको छन् ।

अहिले ३ विघामा जमिनमा अन्तरबाली खेती सुरु गरेको जानकारी दिए । अन्तरबालीलेमा उखु, गोलभेडा, आलु, गोपीलगाएको तरकारी लगाएको बताए ।सनुसरी मात्र एक सय विघामा अन्तरबाली खेती सुरु भएको छ भने मोरङका उखु किसानले ५० विघामा अन्तरबाली प्रणालीबाट खेती सुरु गरेको बताइएको छ ।

उखु किसानले अन्तरबाली खेती गर्दा अन्य बालीबाट लगानी उठाउने भएकोले यस खेतीतर्फ कृषकको आर्षण बढेको इस्टर्न सुगर मिलका उखु प्रबन्धक सुरेश प्रसाद मेहताले बताए ।

‘उखु किसानहरूलाई हामीले अहिले अभियानको रुपमा अन्तबाली खेती प्रणालीतर्फ अगाडी बढाएको छौं,’ उनले भने, ‘यस्तो खेती गर्दा राम्रो आम्दानी हुने भएको कृषकहरूलाई अगाडी बढाएको हौं ।’

१ नम्बर प्रदेशका भूमि व्यव्साथ कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत तथा प्रवक्ता मनोजकुमार यादवले जिल्लाका किसानले सीमित जग्गाको उपयोग गर्दै अन्तरबाली खेती प्रणालीबाट राम्रो आम्दानी गरेको बताए ।

‘कुन बालीसँग कुन प्रकारको अन्तरबाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान पाएपछि किसान यस्तो खेती प्रणालीमा आकषिर्त भएका हुन्,’ उनले भने, ‘एउटै बाली लगाउँदा किरा लाग्ने गर्दछ ।

तर, अन्तरवाली लगाउँदा किराले आक्रमण गर्न सक्दैन ।’ उनका अनुसार १ नम्बर प्रदेशमा ९ लाख २७ हजार ४ सय १९ हेक्टरे खेतीयोग्य जमिनमध्धे ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा खेती लगाएका छन् ।

जसमध्ये २ देखी ५ प्रतिशत अन्तरवाली खेती कृषकले लगाएको उनले बताए । प्रदेश सरकारले कृषकलाई उन्नत जातको खेती प्रणालीबारेमा कृषि प्रविध र ज्ञानको बारेमा समेत समय समयमा जानकारी समेत दिदै आएको उनको भनाई छ ।