विराटनगर/सुनसरीको देबानगञ्ज गाँउपालिका– ५ का कृषक सुबोधकुमार यादवले सरकारले उखुको समर्थन मूल्य समयमै नतोकिदिदाकोे कारणले ३ विघा जग्गामा लगाएको उखु नकाटि बसेका छन् ।

सरकारले उखुको मुल्य नतोक्दा सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टन सुगर मिल समेत बन्द रहेकोले खेतमा पाकेको उखु बारीमा राखेर बसेका हुन् । यसरी पाकेको उखु बारीमा राखेर बस्ने यादव मात्र भने होइन्

। अहिले सुनसरी, मोरङ र झापाका २ हजार ४ सय उखु कृषक समस्या छन् ।

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । उखु काट्न भएको ढिलाईले खेतमा नै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकोले किसानलाई अहिले चिन्ताले सताएको उनीहरू बताउँछन् ।

‘समयमा उखु काट्न नपाउ“दा यस बर्ष घाटा हुने लक्षण देखिएको,’ देवानगजंगमा ३ विघमा उखु खेती गर्दै आएका किसान सुवोधकुमारले भने, ‘समयमै उखु काट्न नपाँउदा खेतमै फुल्न थालेकोले तौल कम हुने भएको छ ।’ यादवले ३ विघामध्ये डेढ विघामा सिओ ०२३८ र डेढ विघामा सिओएस ८८२३० प्रजातिको उखु लगाएको जानकारी दिए ।

‘यसपाली खेतमा राम्रो उखु सप्रेकोले राम्रो मूल्य पाउने आशा थियो,’ उनले भने, ‘तर सरकारले मूल्य तोक्न गरेको ढिलाइले उखु खेतमै फुल्न थालेकोले कम तौल आउने भएकोले घाटा लाग्ने भयो ।’

देबानगञ्जकै अर्का कृषक सबुल अन्सारीले पनि साढे ४ विघामा लगाएको उखु काट्न ढिलाइ भएको गुनासो पोखे ।

‘यस पटक उन्नत जातको उखु खेती गरेकोले उत्पादन बढनेमा आशाबादी थिए,’ उनले भने, ‘पाकेको उखु समयमै काटन नपाउँदा उत्पादनमा गिराओट आउने देखियो ।’ उखु काट्न जति धेरै ढिलाई हुन्छ त्यति नै धेरै घाटा लाग्ने गरेको उनले गुनासो पोखे ।

उनले मंसिर अन्तिमबाट उखु काट्न सुरु गर्नुपर्ने हो तर पुस महिना आधा बितिसक्दा पनि सरकारले मूल्य नतोक्दा उखु काट्न सुरु गर्न नसकेको गुनासो पोखे ।

उनीहरु जस्तै प्रदेश १ का सुनसरी, मोरङ, झापाका किसान उखु काट्न नपाएर छटपटी रहेका छन् । किसानलाई समयमा नै उखु बेचेर ऋण तिर्नुका साथै अर्को सिजनको उखु खेतीमा समेत असर पर्ने चिन्ताले पिरोलेको छ ।

मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले जानकारी दिए । यसवर्ष २ हजार ४ सय कृषकले गरेको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने भएको उनको भनाई छ ।

यँहा किसानहरुले सुनसरीको बर्जु गाँउपालिका ५ स्थित इस्टर्न सुगर मिल्समा उखु बिक्री गर्दै आएको छ । मिल्सका प्रमुख उखु प्रबन्धक सुरेश प्रसाद मेहताले सरकारले कातिक महिनामा नै उखुको मूल्य तोकेर मंसिरदेखि मिल सञ्चालन हुनुपर्नेमा आधा पुस बित्न लाग्दा पनि मूल्य नतोकेको बताए ।

‘सरकारले समयमा उखुको मूल्य नतोक्दा कृषकलाई घाटा लाग्छ,’ उनले भने, ‘कृषकले उखु नकाट्दा मिल पनि सञ्चालन हुन पाएको छैन ।’ मिल सञ्चालनका लागि तयारी अबस्थामा रहेको तर सरकारले उखुको मूल्य नतोकेकोले सञ्चालन गर्न नपाएको उनले बताए ।

मिलमा दैनिक ३० हजार क्विण्टल र एक सिजनमा ३० लाख क्विण्टल उखु क्रसिङको क्षमता रहेको छ ।

सरकारले गत वर्ष प्रति क्विण्टल ५ सय ३१ रुपैँया उखुको मूल्य तोकेको थियो । इस्टर्न सुगर मिल्सले किसानलाई मिल घाटामा गएको भन्दै प्रति क्विण्टल ५ सय १ रुपैयामा मात्रै खरिद गरेको थियो । मिल्सले यस बर्ष पनि उखु कम मूल्यमा बिक्री गर्न कृषकसँग पहल गरिरहेको छ ।

उखु काट्ने समयमा मिल्सका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवालले कृषक प्रतिनिधिसँग बार्ता गरेर सस्तोमा उखु बिक्री गर्न आग्रह गर्दै आएका छन् ।

उनीहरुले कृषकलाई प्रति क्विण्टल ३ सय ८५ रुपैँयामा उखु बिक्री गर्न आग्रह गरेका थिए तर कृषकहरुले गत वर्ष सरकारले तोकेको ५ सय ३१ रुपैँया भन्दा कम मूल्यमा उखु नबेच्ने अडान लिएको छ ।