ताप्लेजुङ/ खेर गइरहेको सुख्खा पाखा र जङ्गललाई हरियाली बनाएको अलैंचीले कृषकलाई लहलह धान फल्ने खेत र कोदो फल्ने बारीसम्म डोर्यायो । खेत र बारी मासेर कृषकले अलैंची लगाए तर अहिले यसले निराश बनाउँदै लगेको छ ।

अलैंचीको भविष्यको विषयमा कृषक र व्यवसायी दुवै अन्योलमा छन् । राष्ट्रिय बजार पाँच प्रतिशत पनि छैन । अन्तराष्ट्रिय बजारमा निर्यात दिनानुदिन घटिरहेको छ । माग आए पनि मूल्य बढेर आउँदैन । प्रतिमन १ लाख २० हजारसम्म पुगेको अलैंची अहिले ३० हजारमा झरेको छ ।

मूल्यको उतारचढावले कृषकहरू खेती नै परिवर्तन गर्ने अवस्थामा पुगेका छन् । मेरिङ्देन गाउँपालिका वडा नं १ लिङतेपका पेम्बा शेर्पाले दुखेसो गरे । ‘पहिले त एक लाख बीस हजार रुपैयाँसम्म पुग्यो, अहिले बारीमा पनि लगाएको छु, भाउ छैन एक बोरा चामल पनि आउन गाह्रो भो ।’ शेर्पा भन्छन् ‘खेतबारीभरि अलैँची लगाएँ, अहिले त उखालेर फाल्नु जस्तो भएको छ ।’ विगतका वर्षहरूलाई आधार मान्दा अहिले अलैंचीको कारोबार बढी हुने सिजन हो ।

तर, अत्यन्तै कम मात्रै खरिद बिक्री भइरहेको छ । कृषकहरूले भाउ नै नकाटी बजारमा ल्याएर व्यापारीलाई दिएका छन् । व्यापारीको गोदाममा चार वर्षअघिदेखिको अलैंची थन्किएको फुङ्लिङ नगरपालिकाका अलैँची व्यापारी तेज भट्टराईले बताए ।

‘विगतको आधारमा त यतिखेर अत्यधिक कारोबार हुने सिजन हो तर अहिले बजारको नै कुनै ठेगान छैन, गोदाममा नै सबै अलैँची थन्किएका छन् ।’ पछिल्ला वर्षहरूमा अलैंचीको बिरुवा समेत बिक्री हुन छाडेको छ । ताप्लेजुङका एक दर्जन बढी कृषकले लगाएका बिरुवा नर्सरीमै हुर्किएका छन् ।

तत्कालीन कृषि विकास कार्यालय ताप्लेजुङको कृषि डायरीका अनुसार विक्रम संवत् १९८० तिर पहिलोपटक अलैंची सिक्किमबाट इलाम ल्याइएको थियो । त्यहीँबाट अन्य जिल्लामा फैलिएको हो । पहाडी जिल्लामा उत्पादित सबै अलैंची झापाको बिर्तामोड र सुनसरीको धरानमा जम्मा हुने गरेको छ ।

पश्चिमबाट पनि पूर्व नै आउँछ । सङ्कलित सबै अलैंची झापाको काँकडभिट्टा र विराटनगरको जोगबनी भन्सार भएर भारत निर्यात हुन्छ । भारतमा जम्मा हुने ठाउँ मुम्बई हो । भारतबाट पाकिस्तान र खाडी राष्ट्रका यूएई, दुबई, साउदी अरब, कतारजस्ता देशमा निर्यात हुने यसलाई मसला, आयुर्वेदिक औषधि, मिठाई, बिस्कुटजस्ता खाद्य वस्तुमा प्रयोग गरिन्छ ।

अब नेपालमै यसको प्रशोधन गरेर बजार विस्तार गर्नुपर्नेमा अलैँची व्यवसायी महासङ्घका महासचिव ओमकृष्ण विमली बताउँछन् । समुद्र सतहबाट ८ देखि १८ सय मिटरसम्मको उचाइमा अत्यन्तै राम्रो उत्पादन दिने अलैंची २४ सय मिटरसम्म पनि फलेको छ । वार्षिक २ हजारदेखि २५ सय मिलिमिटरसम्म वर्षा हुने ठाउँमा राम्रो फस्टाएको पाइन्छ ।

८ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त छायाँदार जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् । समयमा समयमा सरकारी तथा गैरसरकारी स्तरबाट अलैँचीको बजारीकरणका लागि कामहरू नभएका होइनन् तर त्यो कार्यक्रमहरूले समेत प्रभावकारी रूपमा काम नगरेको किसानहरूको आरोप छ ।

देशबाट निकासी हुने प्रमुख बाली मध्येको एक अलैँचीको बजार सहज बनाउन सरकारी स्तरबाट नै ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको किसानहरूको बुझाइ छ ।