इटहरी/ इटहरी उपमहानगरपालिकाको मुख्य बजार आसपासमा रहेका दर्जनौं मासु पसलहरू अव्यवस्थित र खुल्ला रूपमै सञ्चालन हुँदै आएका छन् । अधिकांश मासु पसलले मापदण्ड पूरा नगरी बिक्री वितरण गर्दै आएका छन् । उनीहरू सामान्य ओत तथा खुला चौरमा झिंगा भन्किएकै मासु निर्बाध बिक्री गर्दा समेत उपमहानगरपालिका, उद्योग वाणिज्य सङ्घ , व्यापार सङ्घ, उपभोक्ता मञ्चजस्ता संस्था बेखबरजस्तै बनेका छन् ।
व्यावसायिक रूपमा मासु बेच्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने भए पनि इटहरी चोक आसपासमा पाइने यस्ता पसलले स्वास्थ्यलाई प्रतिकूल असर गर्ने स्थानीयको भनाइ छ । मासु तथा माछा पसलमा अनुगमन नहुँदा खुलेआम जनस्वास्थ्यमा असर गर्ने गरी खुला ठाँउमै बिक्री गर्दा उपभोक्ता अस्वस्थ मासु खान बाध्य भएको इटहरीस्थित आइतबारे लाइनमा मासु किन्न पुगेका इटहरी–४ का नवीन राईले बताए ।
मासु पसल सामान्य मापदण्ड समेत पूरा नगरी सञ्चालनमा आए पनि उनीहरूलाई कारबाही भएको छैन ।
नागरिकको स्वास्थ्यलाई असर गर्ने गरी खुला ठाउँमा धुलो धुवाँसहित अव्यवस्थित मासुपसल व्यवस्थित गर्नेतर्फ कसैको ध्यान जान नसकेको हो । जथाभावी पसल खोल्दा नगरपालिकालाई हुने राजस्वसमेत गुमेको छ भने राजस्व तिरेर सञ्चालन गरेका पसलभन्दा सस्तोमा बेचबिखन गर्दा ती पसललाई समेत असर पर्ने गरेको माछा मासु व्यवसायी सङ्घ तथा सयपत्री फ्रेस हाउसका सञ्चालक इटहरीका सचिव नवराज पोखरेल स्वीकार गर्छन् ।
उनी भन्छन् ‘मासु पसलेहरूले मनपरी गरिरहेका छन् खै के गर्ने ?’
साप्ताहिक हाट बजारको मासु व्यापारको अवस्था झनै कहाली लाग्दो रहेको इटहरी बसपार्क छिर्ने बाटोमा मासु किन्न आएकी सविता बस्नेतले भनिन् । मासु पसल सामान्यतया पर्याप्त क्षेत्रफल हुनुपर्ने, पसलमा सजिलै फोहोर देख्न मिल्ने सेतो मार्बल तथा टायल लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापन उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु बिक्रेताले छुट्टै पोसाक लगाउनुपर्ने, स्टिलको हुकको व्यवस्था, चिस्याउनका लागि डिप फ्रिज, डिजिटल तराजु हुनुपर्ने नियम भए पनि अधिकांशले पालना गरेका छैनन् ।
इटहरी उपमहानगरपालिकामा उपमेयर लक्ष्मी गौतमले इटहरीका अधिकांश मासु पसलहरू नियमविपरीत सञ्चालन हुँदै आएको बताइन् । उनले भनिन् ‘मासु पसलहरू धेरै खुलेका रहेछन्, हामीले धेरै अनुगमन गरे पनि व्यापारीहरू सुध्रिएका छैनन्, हामी सुधार्ने पक्षमा छौँ, हामी तीन वटा कलरको स्टिकर बनाउँदैछौँ प्रत्येक पसलमा स्टिकर टास्दै छौँ ।’
वधशालाको कन्तबिजोक
इटहरी बजारभरि जथाभावी सामान्य मापदण्ड समेत पूरा नगरी मासु पसलहरू सञ्चालनमा आए पनि इटहरीमै कराडौं लगानीमा इटहरीमा निर्माण भएको व्यवस्थित वधशालाको भने कन्तबिजोक छ । वधशालाकै लागि बनाएको भौतिक संरचनाहरू अझै प्रयोगविहीन छन् ।
तर व्यवस्थित स्थलको अभावमा मासु व्यवसायीहरू भने खुल्ला ठाउँमै पशुवध गरी मासु बिक्री वितरण गरिरहेको पाइन्छ । लामो समयदेखि वधशाला सञ्चालनमा नआउँदा करोडौं लगानी बनाइएका वधशाला लथालिङ्ग हुन पुगेको छ ।
आवास तथा शहरी विकास विभाग तथा कृषि विकास विभाग र इटहरी उपमहानगरको ३ करोड बढी साझेदारीमा इटहरीको मुख्य बजार क्षेत्रमा निर्माण सम्पन्न भएको इटहरी पशु वधशाला तथा तरकारी र फलफूल बजारस्थल यतिखेर दुर्गन्धित र अव्यवस्थित छ ।
झन्डै सय वटा सटरसहितको पक्की भौतिक संरचनामा इटहरी नगर क्षेत्रका राँगा, खसी, कुखुरालगायत पशु वधशालाको बजारलाई व्यवस्थित गर्नका लागि बनाइएको वधशाला नामै मात्रको हुन पुगेको स्थानीय अगुवाहरू बताउँछन् ।
स्वस्थकर मासुको बिक्री वितरणका लागि ट्रिटमेन्ट प्लान्ट, वधशालाबाट निस्किने फोहोर तथा रगतको प्रशोधन, बायोग्याँस प्लान्ट र शौचालयमा सेफ्टी ट्याङ्की निर्माण गर्ने योजनासहित यो संरचना निर्माण गरिएको थियो ।
यता उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने वधशालालाई चाँडै व्यवस्थित बनाउने बताइन् ।