विराटनगर/ सुनसरीको बर्जु गाउँपालिका स्थित इस्टर्न सुगर मिलका सञ्चाकलहरूले सरकारले गत वर्ष उखुको न्यूनतम समर्थन मूल्यभन्दा झण्डै आधा मुल्यमा उखु विक्री गर्न किसानसँग बागेर्निङ्ग सुरु गरेको रहस्य खुलेको छ ।
सरकारले गत वर्ष उखुको न्यूनतम समर्थन मुल्य प्रतिक्वीन्टल ५ सय ३० रुपैयाँ तोकिदिएको थियो । तर, इस्टर्न सुगर मिलका संचालकले भने सरकारले तोकेको मुल्यमा उखु किन्न नसक्ने भन्दै ३ सय ८५ रुपैयाँ प्रतिक्वीन्टल उखु मिललाई विक्री गर्न कृषकलाई दबाव दिन थालेको रहस्य बहिर आएको हो ।
प्रदेश नम्बर १ मा एउटा मात्र सुगर मिल भएकाले एक छत्र राज गर्दै आएको इस्टर्न सुगर मिलले गत वर्षको मूल्यमा कृषकको उखु खरिद नगर्ने र सरकारले तोकेको मुल्य उखु खरिद गर्नु परे बरु उद्योग बन्द गरेर बस्ने कृषकहरूलाई घुर्की देखाउन थालेका छन् ।
उखुको विक्री गर्ने सिजनमा अहिले इस्टर्न सुगर मिल बन्द अवस्थामा रहेको छ । कृषकले मुल्य घटाएर आफु अनुकुल तय गरेको दरले उखु विक्री गरे मिल खोल्ने नत्र बन्द गर्ने मनासयमा इस्टन सुगर मिल रहेको स्रोतको दाबी छ ।
मिलले भने अनुसार आफुहरुले उखु बिक्रि गर्दा लागत खर्च समेत नउठ्ने वर्षौ देखी मोरङ, सनुरी र झापामा उखु खेती गर्ने २ हजार ४ सय किसानहरुको भनाइ छ । गत वर्षकै हाराहारीमा उखुको मूल्य दिन नसक्ने बताएपछि किसान मारमा परेका छन् ।
मिलले गत वर्ष पनि विभिन्न बाहना बनाएर सरकारले तोकेको भन्दा ३० रुपैयाँ कम मूल्य दिएको थियो । झापा, मोरङ र सुनसरीका उखु किसानलाई यस पटक पनि उचित मूल्य दिन नसक्ने मिलले बताए पछि किसानहरु आक्रोशित भएका छन् ।
उखु मिलले उखु लगाउने बेलामा मूल्य बढाएर दिने भनेको भएपनि मूल्य दिने बेलामा चाहिँ घटाउन खोजेको विराटनगरका उखु किसान जीवन चौधरीले बताए । मिलले अहिले ३ सय ८५ रुपैयाँ मात्रै मूल्य दिएर खरिद गर्न सक्ने भन्दै किसानसँग बार्गेनिङ गरिरहेको छ ।
‘उखु लगाउने बेलामा कर्मचारी पठाएर बढाएर मूल्य दिने भन्दै हामीलाई उक्सायो,’ चौधरीले ब्लाष्टसँग भने, ‘तर उखु खरिद गर्ने बेलामा मिल धरासायी हुने भयो, घाटा हुने भयो भन्दै मूल्य कम दिने बताइरहेको छ ।’
कृषकहरूले भने सरकारले गत वर्ष तोकिएको समर्थन मूल्य अनुसार मिलले उखु खरिद गनुपर्ने माग गरेका छन् । इष्टन सुगर मिलका सञ्चालक र सुनसरी, मोरङका उखु किसानसँग शुक्रबार विराटनरमा छलफल समेत विना निस्कर्ष टुंगियो ।
उक्त छलफलमा मिलका तर्फबाट संचालक नितेस गोल्छाले मिल बचाउन किसानले योगदान गर्नुपर्ने भन्दै लामो ब्रिफिङ गरेका थिए । तर, किसानले मूल्य घटाउने शर्त मान्य नहुने भनेपछि छलफल विना निष्कर्ष सकिएको थियो ।
‘हामीले गत वर्ष पाएको मूल्यले केही नाफा कमाउन पाएका छौं,’ किसान बलराम श्रेष्ठले भने, ‘यो वर्ष फेरि घटाएर दिने भनेपछि हाम्रो आजको छलफलले निष्कर्ष निकाल्न सकेन, किसानलाई निचोर्ने हिसाबले मिलले प्रस्ताव गरेको छ ।’ सरकारले अहिलेसम्म यो वर्षको उखुको मूल्य तोक्न सकेको छैन । उखु खेतबाट निकाल्ने समयमा अचानक मूल्य घटाउने कुरा गर्नु न्यायसँगत नभएको अर्का उखु किसान उमानाथ दंगालको भनाइ छ ।
‘सुगर मिलले भने सरकारसँग गर्नुपर्ने छलफल एक्कासी किसानसँग गरेर निष्कर्ष निकाल्न खोज्नु न्यायसंगत देखिँदैन,’ दंगालले भने, ‘कि त सुगर मिलले यो छलफल उखु लगाउने बेलैमा गर्नुपर्दथ्यो, हामीलाई ढाँटेर उखु निकाल्ने बेलामा एक्कासी किसान मार्ने हिसावले छलफल गर्दा हुन्छ र ? ।’
सुगर मिलले दिने भनेको ३ सय ८५ रुपैयाँ प्रति क्विन्टलको मूल्यमा उखु विक्री गर्ने हो भने लाखौं घाटा खेप्नु पर्ने किसान बताउँछन् । सरकारले भने नेपालको चिनी उद्योग बचाउन भन्दै केही समयअगाडि नेपालमा चिनी आयातमा अघोषित रोक लगाएको थियो । तर, अझै नेपालको चिनी मिलमा पर्याप्त चिनी रहेको र विक्री नभएर घाटा व्यहोर्नु परिरहेको मिल संचालकको भनाइ छ ।
गत वर्ष ५ सय ३० रुपैयाँ मूल्य दिँदा आफूहरुले २० करोड घाटा खाएको र यो वर्ष पनि सोही अनुसार खरिद गर्नुपर्दा मिल बन्द हुने इष्टर्न सुगर मिलका संचालक हितेश गोल्छाले बताए । उनले चिनी उद्योग धरायसीमा गएकोले कृषकलाई मुल्य घटाउन आग्रह गरेको बताए । स्वदेश उद्योगलाई कसरी बचाउने भन्ने उद्देश्यले हामीले कृषकसँग छलफल गरेको उनले बताए ।
नेपालमा २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । नेपाली चिनी मिलले १ लाख ७८ मेट्रिक टन चिनी उत्पादन गरेको रेकर्ड छ । भारतबाट त्यो भन्दा बढी चिनी आयात हुँदा नेपाली चिनी मिलमा अहिले पनि ७५ हजार मेट्रिक टन चिनी गोदाममा रहँदा प्रतिकेजी १० रुपैयाँसम्म घाटा व्यहोर्नु परेको उद्योगीको दाबी छ ।