जहदा/ मोरङको जहदा गाउँपालिका–५ की सुनितादेवी साहले केही समय अघिसम्म आफूले खाएर बचेको तरकारी मात्र बजार पुर्याउने गरेकि थिइन् । तर उनले तरकारी खेती गर्दाको फाइदा र राम्रो आम्दानी हुने सम्भावना देखेपछि अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेको बताइन् ।

पहिले आफ्नो घरको करेसा बारीमा मात्र तरकारी लगाउने सुनिता अहिले पाँच कट्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् ।

‘समय सापेक्ष प्रविधिको उचित प्रयोग गरेर खेती गर्दा तरकारीबाट राम्रो फाइदा लिन सकिँदो रहेछ,’ व्यवसायिक तरकारी खेती गर्दै आएकी सुनिताले भनिन्, ‘घर परिवारमात्र होइन यही व्यवसायबाट छोराछोरी पनि पढाएर केही पैसा बचत समेत गर्न भ्याएको छु ।’

तरकारीका लागि पकेट क्षेत्रका रूपमा हेरिएको मोरङ जहदा गाउँपालिकाकी सुनितादेवी मात्र होइन अधिकांश कृषकहरूको व्यवसायिक तरकारी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । यहाँका कृषकहरूलाई गाउँपालिकाले समय सापेक्ष तालिम दिन थालेपछि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको हो ।

तालिमपछि उत्पादन बढाउने तिर व्यावसायिक तालिम लिएका कृषकहरू बताउँछन् । जहदा गापाकी अर्की कृषक प्रमिला सहनीले ६ कट्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । ‘पहिले परम्परात शैलीमा तरकारी खेती गर्दै आएको थिएँ,’ उनले भनिन्, ‘तालिम लिएपछि धेरै कुरा सिक्न पाएँ, अहिले नयाँ भित्रिएको प्रविधि र व्यवसायिक खेती गर्नेबारे तालिम लिएपछि उत्पादन बढाउने लक्ष्य लिएको छु,’ प्रमिलाले भनिन् ।

उनले ८ कट्ठा क्षेत्रफलमा आलु, गोलभेंडा, प्याज, लसुन बोडी, फूलकोपीलगायतका मौसम अनुसारका तरकारी लगाएको बताइन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै आएको उनले बताइन् ।

जहदाकै कृषक पुष्पा साहले समेत व्यावसायिक तरकारी खेती लगाउन थालेकी छन् । ‘व्यावसायिक तरकारी खेती गर्ने तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने छु,’ उनले भनिन्, ‘तरकारी खेतीको लागि कति मात्रामा औषधि र तरकारीमा लाग्ने रोगको बारेमा राम्रोसँग बुझ्ने मौका पाएँ ।’ यी सबै कुराको विचार गरेर व्यावसायिक तरकारी खेतीलाई विस्तार गर्ने लक्ष्य रहेको उनले बताइन् ।

जहदा गापामा व्यावसायिक तरकारी खेती गर्ने किसान बढ्दै गएको गाउँपालिका प्रमुख कैलाशप्रसाद मण्डलले बताए । व्यावसायिक तरकारी खेती गर्ने कृषकहरूलाई गाउँपालिकाले अनुदानसँगै सिंचाइ, मल, बीउ तथा अन्य प्राविधिक सहयोग बढाएकाले तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

‘धान रोपेपछि खाली भएका खेतबारीमा मात्र तरकारी रोपिने चलन थियो,’ जहदा गापाका कृषि संयोेजक रामदेव सिंहले भने, ‘अहिले किसानले तरकारी खेती गर्न थालेका छन् ।’  यहाँ ६० भन्दा बढी किृषक छनोट गरी जहदा गाउँपालिकाले व्यावसायिक तरकारी खेती कसरी गर्नेबारे तीन दिने तालिम समेत दिएको उनले बताए ।

दक्ष र कृषि क्षेत्रका विज्ञलाई ल्याएर व्यावसायिक तरकारी खेतीका बारेमा जानकारी गराएको कृषि संयोजक सिंहले जानकारी दिए ।  कुल ५ हजार ८ सय ९ हेक्टर क्षेत्रफल रहेको जहदा गाउँपालिकाको ४ हजार ५० हेक्टर खेती योग्य जग्गामध्ये ५ सय हेक्टरमा बाह्रै महिना तरकारी खेती हुँदै आएको कृषि संयोजक सिंहले जानकारी दिए ।

जहदाका कृषक अग्र्यानिक खेतीमा समेत अगाडि

विषादी हालेको तरकारी खाँदाको बेफाइदा बारे बुझ्न थालेपछि यहाँका कृषकहरूले अग्र्यानिक तरकारी खेती समेत गर्दै आएका छन् ।

गाउँपालिकाले किसानलाई अग्र्यानिक तरकारी खेतीका बारेमा तालिम दिएपछि अग्र्यानिक तरकारी खेतीतर्फ अगाडि बढेका ह’न् । किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्नका लागि कृषि औजारका साथै समयसापेक्ष तालिमहरू दिएपछि अग्र्यानिक खेतीमा लागेको कृषि संयोजक सिंहले बताए ।

गाउँपालिका प्रमुख कैलाश मण्डलले चालु आर्थिक वर्षमा कृषिमा १ करोड २९ लाख बजेटममध्ये ३० लाख रुपैयाँ अग्र्यानिक खेतीका लागि विनियोजन गरेको जानकारी दिए । उनले अग्र्यानिक उत्पादनका लागि ऐन, नियम बनाएर व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए ।