मानवको विकाससँगै अपराधका शैली पनि परिवर्तन हुँदैछन् । मानव विकासको समयमा मानिसहरु गुलेली, मटेङ्ग्रालाई हतियारका रुपमा प्रयोग गर्थे । त्योबेलाको हतियार मौलिक थियो । पारम्परिक हतियारबाटै मानिसले आफूले चाहेका वस्तुहरु प्राप्त गर्थे । विस्तारै हतियारको उपलब्धता बढ्न थाल्यो । कुनैबेला आत्मसुरक्षाका लागि प्रयोग गरिने हतियारहरु विस्तारै अपराधमा प्रयोग हुन थाले ।

एवम् रीतले २१ औं शताब्दीको यो घडीमा आइपुग्दा मानिसले अपराधको शैली परिवर्तन गरेका छन् । प्रविधिको विकास भएसँगै अपराधमा प्रविधिको प्रयोग हुन थालेको छ । यो प्रहरीका लागि चुनौती बन्दै छ । किनकी नेपालमा जति चाडो प्रविधिको विकास भयो । त्यही अनुपातमा प्रहरीलाई चाहिने अतिआवश्यकीय प्रविधिहरु भने प्राप्त गर्न सकेनन् । जहिले अपराधी एककदम अगाडि हुने गरेको छ ।

नेपालको प्रहरी विश्वमा नमूना छ । किनकी प्रविधिविनै पनि नेपाल प्रहरीले अपराधका ठूल–ठूला गुत्थीहरु सुल्झाउदै आएका छन् । तर, केही अपराधहरु तत्काल सुल्झाउन नसक्दा प्रहरी सवत्र आलोचित पनि हुने गरेको छ । आपराधिक गतिविधिमा संलग्न हुनेले जसरी प्रविधिको प्रयोग गरेर सञ्जालमा फसाउने गरेको छ । त्यसरी नै प्रहरीलाई पनि साधनस्रोतले भरीपूर्ण पारिनुपर्छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत्को ठगी घटनाहरुमा प्रहरी कतिपय स्थानमा चुकेको पनि छ ।

कतिपयमा सफलता हात पनि पारेको छ । प्रहरीले हालसम्म त्यस्ता ठगीका एजेन्टहरुलाई मात्रै पक्राउ गर्न सकेको छ । ठगीका गिरोहलाई पूर्णतः नियन्त्रण गर्न सकेको छैन । किनकी यस्ता ठगीमा भारत तथा तेस्रो देशबाट गरिरहेको प्रहरीले नै सार्वजनिक गर्ने गरेका छन् । त्यो स्तरमा नेपाल प्रहरी पुग्न सकिरहेको छैन । सामाजिक सञ्जालबाट हुने यस्ता ठगीमा संलग्नहरुले विभिन्न आइडीबाट ठगी गरिरहेका छन् । जसलाई जाँच गर्नका लागि पनि नेपाल प्रहरीसँग प्रसस्तै स्रोत साधनको अभाव छ । यसमा राज्य गम्भीर हुनुपर्छ । अपराधका शैली परिवर्तन हुँदै गर्दा हाम्रा स्रोत साधनमा पनि त्यही स्तरका हुनु आवश्यक छ ।

अपराध नियन्त्रण गर्न प्रहरीमात्रै काफी हुँदैन । त्यसमा समाजका नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । किनकी सामाजमै अपराध हुन्छ । त्यसका लागि नागरिक सबैभन्दा बढी सचेत हुनुपर्छ । नागरिकमा चेतनाको स्तर वृद्धि भयो भने पक्कै पनि अपराध विस्तारै न्यूनीकरण होला । तर, समाज सजग भएन भने अपराध घट्नुको सट्टा बढेर जान्छ । समाजमा बस्ने नागरिक कति शिक्षित छ त्यो आधारमा अपराधको मापन हुन्छ । अपराधलाई नियन्त्रण गर्न खटिएको प्रहरी जति समाजप्रति जिम्मेवार छ । एउटा नागरिक पनि त्यति नै जिम्मेवार हुनुपर्छ । अन्यथा यस्ता ठगीहरु नियन्त्रणमा प्रहरीमात्रै काफी हुँदैन ।

प्रहरीले बेला–बेला नागरिकलाई सूचित गर्दै पनि आइरहेकै छ कि सामाजिक सञ्जाललगायतमा हुने कुनै पनि आर्थिक प्रलोभनलाई विश्वास नगरौं भनेर त्यसप्रति समाजका नागरिक पनि जिम्मेवार भए पनि यस्ता ठगी स्वतः घट्छन् । आपराधिक मनोवृतिका त्यस्ता व्यक्तिहरु आफेसआफ पलायन भएर जानेछन् । यसतर्फ नागरिक बढी जिम्मेवार हुनु आवश्यक छ ।