विजयपुर/ सामान्य कुरामा विवाद हुदा धरानमा ठूला अपराधहरु भएको पाइएको छ । बोटो सोधेको, हिड्ने बाटो नछाडेको, आफ्नो क्षेत्रमा आएको जस्ता साना कारणमै ठूला हिंसाको घट्ना भएको तथ्याङ्क धरान प्रहरीसँग रहेको छ ।

क्षणिक आवेशमा हुने यस्ता अपराधको तथ्याङ धरान प्रहरीसँग लामै छ । साथीभाइबीचमा हुने मनमुटावका कारण जघन्य अपराधतर्फ घटनाहरू मोडिने गरेको प्रहरी आफैँ बताउँछ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष ०७५/०७६ कात्तिकको पहिलो सातासम्म १८ वटा छुरा प्रहारका घटनाहरू भएका छन् ।

साउन महिनामा मात्रै ५ वटा छुरा प्रहारका घटनाहरू भएका छन् भने भदौमा ६ वटा, असोजमा ४ र कात्तिकमा ३ वटा घटना घटेका छन् । अधिकांश घटना हुनुका पछाडि सामान्य कारण छन् । तर, प्रकृति अपराधको बाटोतर्फ मोडिएको छ ।

साउन ६ गते धरान–१६ का कुमार विक भनिने निरकुमार विश्वकर्मा र उनका साथी अर्जुन विकले सोही ठाउँका राजु लिम्बू, राजु राई र प्रताप लिम्बुमाथि हतियार प्रयोग गरी घाइते बनाए ।

घटना संलग्न अर्जुन विकलाई प्रहरीले नियन्त्रणमा लिए पनि निरकुमार अझै फरार छन् ।

लगत्तै २ दिन पछि साउन ८ मा धरान–८ बरपिपल चौकमा म्याक्स राई, मिलन विक, मनोज तामाङ र राजेश तामाङले लागूऔषधका कारण धरान–८ का मनिष लावती र धरान–१७ का निश्चल विकमाथि खुकुरी र रड प्रयोग गरी गम्भीर घाइते बनाए ।

घटनामा संलग्नमध्ये तीनजना पक्राउ पर्दा म्याक्स अझै फरार छन् । साउन १० मा पनि धरान–८ गुम्बालाइनमा धरान–११ का नारायण शाक्य र सागर लिम्बुमाथि धरान–१५ का अमख खनाल, पूर्णबहादुर राई, धरान–८ का भोजे भनिने सन्तोष राईले पूर्व रिसिइवीकै कारण छुरा प्रहार गरे ।

यस्ता घटना घट्नुमा लागूऔषध, लागूऔषध प्रयोगपछि हुने विवाद नै कारक रहेको प्रहरी बताउँछ । अधिकांश छुराका घटना लागूऔषध प्रयोगकर्ताबीच भएको प्रहरी बताउँछ । इप्रका धरानका डिएसपी सुमन तिम्सिना अधिकांश छुरा प्रहारका घटनामा लागूऔषध कारोबारी वा प्रयोगकर्ता नै संलग्न देखिएको बताउँछन् ।

‘लागूऔषधसँग जोडिएर ८० प्रतिशत छुरा काण्ड भएका छन् ।’ इप्रका धरान आएपछिको अनुभव सुनाउँदै उनले भने, ‘लागूऔषध प्रयोगपछि सामान्य झगडा हुँदा धारिलो हतियार नै प्रयोग गरेको भेटेका छौँ ।’ यसका लागि लागूऔषधको कारोबार, बिक्री वितरण र प्रयोगलाई न्यूनीकरण गर्नुनै प्रहरीको प्रमुख दायित्व बन्न आउने उनी बताउँछन् ।

उनका अनुसार हाल लागूऔषध र हतियार प्रहार गर्ने अभियुक्तको प्रोफाइल तयार पारिरहेका छौँ । प्रोफाइल तयार पार्दा अपराधी समात्न सजिलो हुने उनको भनाइ छ ।

कानूनी राज्यमा कानूनको प्रभावकारी कार्यान्वयनमा समस्या हुँदा आपराधिक घटनाहरू बढ्ने गरेको महेन्द्र बहुमुखी क्याम्पसका समाजशास्त्र विषयमा प्राध्यापक विशाल श्रेष्ठ बताउँछन् । कानून कार्यान्वयनमा समस्यासँगै अपराधीहरूलाई राजनीतिक संरक्षण हुँदा अपराध गर्नेहरूको मनोबल बढ्ने गरेको उनी दाबी गर्छन् ।

यस्ता कुरालाई अन्त्य गर्नका लागि कडा कारबाही हुन आवश्यक रहेको बताए ।

वेरोजगारी समस्याले पनि पछिल्लो समय आपराधिक घटना बढिरहेको उनको विश्लेषण छ । उनी राजनीति, समाज र प्रहरी प्रशासनको अन्तरसम्बन्धले मात्र यस्ता क्रियाकलाप निरूत्साहित पार्न सकिने बताउँछन् ।