इटहरी/सुनसरीको साहेबगञ्जको छोटी भन्सारको कन्तबिजोक छ । भारतीय बजार पत्थरदेवासँग सीमा जोडिएको साहेबगञ्ज छोटी भन्सारमा तस्करहरूकै हालीमुहाली हुने गरेको छ ।
दैनिक उपभोग्य वस्तु भन्सार कर्मचारी र प्रशासनकै सेटिङमा भित्रिने गरेको छ । राजस्व सङ्कलन हुने र व्यवसायीलाई पनि सजिलो होला भनेर सरकारले साहेबगञ्जमा छोटी भन्सार कार्यालयको स्थापना गरे पनि उक्त भन्सार कार्यालय नामै मात्रैको छ । सुविधा सम्पन्न २ तले २ वटा भवन पनि निर्माण गरेको छ । तर त्यहाँ पुग्ने भन्सारका कर्मचारी र छोटे तस्करको मिलेमतोमा भन्सार कार्यालय भने भूत बङ्गलामा परिणत भएको स्थानीय बताउँछन् । कम्पाउण्डवालसहितको भन्सार परिसर स्थानीयको गाई बाँध्ने थलो बनेको छ । गाईको फोहोरले कार्यालय दुर्गन्धित बनेको छ । कार्यालयमा गाई बाँध्दै गर्दा भेटिएकी स्थानीय सुर्दी यादवले कार्यालयमा कोही नभएकाले गाई बाँध्ने गरेको बताइन् । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका छोटी भन्सार छोटा तस्कारका लागि सजिलो भएको स्थानीय दाबी गर्छन् । नेपालबाट पेट्रोलियम पदार्थ तथा गहुँको बीउ तस्करी हुने गरेको स्थानीयले नाम नछाप्ने शर्तमा बताए । छोटी भन्सार नजिकै व्यापार गर्दै आएका एक व्यापारीले नाम नभन्ने सर्तमा भने ‘अलिअलि कमाइ भएन भने हामीले कसरी खानु ?’
एनएल र विजय जातको गहुँको बीउ नेपाली बजारमा नपाइरहेका बेला सीमा बजारमा पाउने गरेको उनले बताए । ४० केजी गहँुको बीउ ३ हजार रुपैयाँमा भारतीय सीमा क्षेत्रमा बिक्री भए पनि नेपालमा भने १९ सय रुपैयाँमा सोही बीउ पाइन्छ ।
यता साहेबगञ्जमा छोटी भन्सारका कार्यालय प्रमुख सुरेश राउतले सेवाग्राही नआउने गरेकाले कार्यालय प्रायः नखोलिने बताए । उनले भने– ‘यहाँ को आँउछ र कार्यालय खोलेर बस्नु ? उनका अनुसार भन्सार काटेर सामान लानेको सङ्ख्या अत्यन्तै न्यून छ । महिनामा करिब एक लाख रुपैयाँ राजस्व सङ्कलन हुने गरेको उनले बताए ।
यसरी चल्दै छ छोटी भन्सार ?
देशका आधाभन्दा बढी छोटी भन्सार कार्यालयहरू निष्क्रिय रहेको फाइदा उठाउँदै भन्सार राजस्व नतिरी मानिसहरूले भारतबाट सामान ल्याउने र नेपालबाट भारत लैजाने प्रवृत्ति बढ्दै गए पनि सम्बन्धित निकाय मौन छ ।
सुनसरीमा ५ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । ती मध्ये कौवाखोज छोटी भन्सार कार्यालय कार्यालय सहयोगीको भरमा चलेको छ । साहेबगञ्ज र भाण्टाबारी छोटी भन्सारमा भने नायब सुब्बा कार्यरत रहेका छन् । लौकही छोटी भन्सार भने खरिदारको माताहतमा रहेको सुनसरी भन्सारका अधिकृत प्रमोद दासले बताए । छोटी भन्सारमा दरबन्दी भन्ने नहुने र आवश्यकताका आधारमा कर्मचारी खटाइने उनले बताए ।