बिर्तामोड उनी राजनीतिज्ञ हुन । मुलुक संघीयतामा गएपछि पहिलो पटक गठित प्रदेशसभाका साँंसद बनेका छन् । अरु सांसदको तामझाम, रवाफ बेग्लै । तर, उनी मेहनती, शालिन र शिष्ट छन् । भेट्न आउने नेता कार्यकर्तालाई पुरा समय दिन्छन् । पार्टीका नेता कार्यकर्ता मात्र होइन बिपक्षी नेता कार्यकर्ता पनि उनीसँग खुशी छन् । उनी झापाको क्षेत्र नम्बर २ ‘ख’ का सांसद बिर्खबहादुर प्रधान हुन् ।
राजनितिसँगै मुलुकलाई सम्वृद्ध बनाउन उनले कृषीकर्म पनि गर्दै आएका छन् । सधै जस्तो बिहान साढे ४ बजे उठेर खेतिपातीको काममा प्रधान लाग्छन् । बिहानको ब्यायाम भन्नु नै उनका लागि खेतीको काम हो । उनी बारीमा सागपात लगाउनु, गोड्नु र पाकेको बाली उठाउनु उनको दिनचर्या हो । ‘यसमै सन्तुष्ट हुन्छु म, कामले स्वास्थ्यमा साथ त दिएको छ नै आत्मनिर्भर बन्न समेत सहयोग गरेको छ, प्रधान भन्छन,– ‘हामी आफै आत्मनिर्भर हुँदै ब्यवसायिक हुन जरुरी छ ।’
आफ्नो थोरै जमिनमा परम्परागत धानबाली लगाउँदै आएका प्रधानले दुईबर्ष अघि कुखुराको खोर बनाए । एक, दुई सिजन कुखुरा पालेका उनले कुखुराबाट भनेजस्तो आम्दानी नभएका कारण त्यही खोरको आकार परिवर्तन गरेर उच्च नश्लको सुँगुर पाल्न शुरु गरे । अहिले खोरमा पाँचवटा माउ र एउटा बीर (भाले) सुँगुर रहेका छन् । घरमा भएका बेला प्रधान आफै सुगुँरको हेरचाहमा ब्यस्त हुने गरेका छन् । ‘बैठक नबसेका बेला म अस्थायी राजधानी बिराटनगर जान्न, प्रधानले भने–‘कुनै बेला आकस्मिक योजना बन्यो भने मात्र हो राजधानी जाने, नत्र यही फर्ममा काम गर्छु ।’
ब्यवसायिक सुँगरसँगै प्रधानले माछा पनि पालेका छन् । ग्रसकार्प, सिल्भरकार्प, कमनकार्प, नैनी लगायतका जातका माछा प्रधानको पोखरीमा रहेका छन् । सुँगुरको दिसा पिसाव माछा पोखरीमा जाने ब्यवस्था मिलाएको उनले बताए । त्यसो गर्दा माछालाई चारो धेरै आवश्यक नपर्ने प्रधानले सुनाए । उनले माछाका लागि सुँगुरको दिसा पिसाव पाैिष्टक आहार हुने भएकाले छिटो बढ्ने उनले सुनाए ।
‘सुँगुर र माछा पालनबाट सन्तुष्ट छु, प्रधानले भने, ‘बर्षभरीको खर्च कटाएर यति थोरै जमिनबाट पनि २ देखि ३ लाख रुपैंयाँ बचत हुन्छ ।’ उनले परम्परागत कृषिभन्दा केही फरक सोच्न सके जिविकोपार्जनका लागि कुनै समस्या नहुने अनुभव समेत सुनाए । ‘धेरै नै अपेक्षा गरेर नहुँदो रहेछ, प्रधानले भने–‘यति कम जमिनलाई पनि उचित प्रयोग गर्दा प्रतिफल राम्रै मिलेको छ ।’ झापाको अर्जुनधारा नगरपालिका ११ मा प्रधानको १ बिगाहा जमिनमा माछा र सुँगुरको फर्म रहेको छ ।