बिर्तामोड/ अग्लो स्थानको सुख्खा बारी । अरुतिर लटरम्म बाली पाक्दा त्यहाँ सिरु घारी । वर्षाैंदेखि बाँझिएको जमिनबाट त्यसका मालिक पनि दिक्क भएका थिए । कुनै बालीनाली लगाउन पाए जीविकोपार्जनका लागि सहज हुने उपाय नखोजिएको पनि होइन । तर, पानीको अभावका कारण कुनै फसल उत्पादन हुन नसकेपछि जग्गा बिक्री गर्ने निष्कर्षमा अर्जुनधारा १० का सापकोटा परिवार पुगेका थिए ।
यसैक्रममा सोही स्थानका बुद्धी भट्टराईले त्यो जमिनमा सामूहिक मेवा खेती गर्ने योजना सुनाए । उनले जग्गा धनी सापकोटालाई नै सामूहिक मेवा खेतीमा संलग्न हुन आह्वान गरे । सापकोटा सहमत भएसँगै वार्षिक २ लाख रुपैयाँ भाडा तिर्ने शर्तमा ४ बिघा १० कट्ठा जमिन भाडामा लिइयो ।
भट्टराई कृषि क्षेत्रमा नै नौलो केही गरौँ भन्ने अभियानका स्थानीय अभियन्ता हुन् । उनले त्यसअघि मेची खोलाको बगरमा काँक्रा र खरबुजाको नमुना खेती गरेर मेचीनगर नगरपालिकाबाट पुरस्कृत भइसकेका छन् ।
भट्टराईले बाँझो जमिनमा मेवा खेती गर्ने योजना सुनाएपछि नेपाल कम्युनिष्ट पार्टी अर्जुनधारा नगरका अध्यक्ष प्रेमसागर सापकोटा, बिर्तामोड अध्यक्ष ज्ञानुराम प्रसाईं, बलबहादुर तामाङ, बुद्धिराम भट्टराईलगायतका अगुवा नागरिक सकारात्मक भए ।
उनीहरू मेवा खेती गर्ने निष्कर्षमा पुगे । मेवा खेती त गर्ने, तर, बिउ कहाँबाट ल्याउने, मल कुन र कसरी हाल्ने, कुन सिजनमा रोप्ने भन्ने केही प्राविधिक ज्ञान उनीहरूमा थिएन । समूहका सचिव समेत रहेका भट्टराईले त्यसपछि अध्ययन शुरु गरे ।
मेवामा एउटा समस्या हुन्छ । त्यो हो अधिकांश बिरुवा भाले हुन्छ । अर्थात् फल लाग्दैन । स्थानीय जातको बिरुवा रोप्दा त्यो समस्या आउनेमा भट्टराई सहितका अन्य लगानीकर्ता सचेत थिए । उनले जापानमा लगाइने हाइब्रिड मेवाको बिउ पत्ता लगाए ।
त्यो बिउ ल्याएर रोप्नका लागि सहमत भए ।
तर, बिउ उत्पादक कम्पनीले एक केजी बिउको १२ लाख रुपैयाँ शुल्क लाग्ने भनेपछि उनीहरु पछि हटे ।
अब सोही बिउ अलि सस्तो कहाँ पाइएला भनेर अध्ययन गर्दा थाइल्याण्डबाट भारतको सिलिगुडीमा आउने र त्यो अलि सस्तो पनि हुने भन्ने थाहा पाए । सिलिगुडीमा ५ लाख रुपैयाँ प्रतिकेजी पाइने बिउ खरिद गर्न समूहका सदस्य सहमत भएसँगै मेवा खेती गर्ने योजना साकार बन्यो ।
गत असारमा जमिन जोतेर तयार गरिसकेपछि बोरिङ गाडियो । र मेवाको बिउ ल्याएर नर्सरी राखियो । नर्सरीलाई आकर्षक ढङ्गले जमिनमा सारियो । चार महिनाको यस अवधिमा अहिले फल लाग्न शुरु भएको छ ।
मेवाको फल लाग्न शुरु भएपछि त्यो स्थान हराभरा देखिएको छ । दैनिक मेवा खेती अवलोकन गर्न आउने मान्छेको घुइँचो त्यस स्थानमा हुने गरेको छ । ५ जना मजदुरले श्रम गरिरहेका त्यस स्थानमा लगभग ४ किलो दरका मेवा फलेका छन् । लगानीकर्ता पनि अहिले उत्साहित भएका छन् । उनीहरूको लगानीले प्रतिफल पाएको भन्दै दङ्ग परेका छन् ।
मानिसको स्वास्थ्यका लागि मेवा अत्यन्त लाभदायक फल हो । यसबाट जुस, साबुन, पेष्टलगायतका सामग्री निर्माण हुने गर्दछ । उत्पादकले उद्योग स्थापना गरेर उत्पादनलाई प्रवद्र्धन गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । अबको दुई महिनामा मेवा पाक्न शुरु हुन्छ ।
त्यो समयसम्म उद्योग स्थापना हुन नसक्ने भएपछि मेवा उत्पादकले विभिन्न अस्पताल, विद्यालय लगायतका बजारमा गएर मेवाको उपभोग गर्दा हुने फाइदाबारे जनचेतना फैलाउँदै स्टल राखेर बिक्री गर्न शुरु गर्ने बताएका छन् ।
एकपटक रोपेको मेवाले तीन वर्षसम्म लगातार उत्पादन दिने उनीहरूको भनाइ छ । एउटा बोटले कम्तीमा १ सय ५० केजीसम्म मेवा उत्पादन गर्न सक्ने बिउ उत्पादक कम्पनीले जानकारी दिएको लगानीकर्ता सापकोटा बताउँछन् ।
अहिलेसम्म २५ लाख रुपैयाँ लगानी भइसकेको भन्दै उनले बिउ उत्पादक कम्पनीले १ करोड रुपैयाँमा सबै मेवा ठेक्का लिन प्रस्ताव गरेको भए पनि नेपालमा नै बिक्री गर्ने योजनाका कारण उसलाई नदिएको सापकोटाले बताए ।
गत भदौमा मेवाको बोट रातो भयो । नेपालका कुनै प्राविधिकले समस्या पत्ता लगाएर उपचार गर्न नसकेको अर्का लगानीकर्ता बलबहादुर तामाङले बताए । त्यसपछि मुस्किलले सिलिगुडीबाट प्रविधिक बोलाएर अध्ययन गरियो ।
प्रविधिकको सुझाव अनुसार औषधी प्रयोग गरेपछि मेवाको रोग ठीक भयो । स्थानीयको भाषामा ‘राते रोग’ लागेको उपचार गर्न अब कुनै चिन्ता लिनु पर्ने अवस्था छैन । प्रविधिकबाट सुझाव अनुसार आफैं रोग लागेको मेवाको उपचार गर्न सक्षम भएको तामाङ बताउँछन् ।
कृषि प्रधान मुलुक भनिए पनि कृषिमा सरकारी उदासिनताप्रति मेवा कृषक चिन्तित छन् । राते रोग लागेको उपचारका लागि प्राविधिक नपाउँदा मेवाका बोट जोगाउन हम्मेहम्मे परेको तामाङले बताए । उनले सिलिगुडीबाट प्राविधिक नआएको भए मेवा खेती पनि मासिने चिन्ता रहेको धारणा राखे ।
सरकारले कृषि क्षेत्रमा अनुदान नभई प्राविधिक उपलब्ध गराउनुपर्ने मेवा कृषक बताउँछन् । मल बिउ खरिद गर्न समूह सक्षम रहेको भन्दै प्राविधिक ज्ञानको अभावमा खेती मास्नु पर्ने अवस्थाको अन्त्य गर्न सरकारले ध्यान दिनुपर्ने धारणा उनीहरूको छ ।