दुई महिनाभित्र सुनसरीमा भएका दुई ठूला घटनामा दुई मुस्लिम नेताको हत्या भएको छ । यी घटनालाई सामान्य मान्न सकिन्न । घटना भएको दुई महिना बित्दा पनि हरिनगर भुटाहाका मौलाना खुर्सिद आलमको हत्या कसले, किन र के कारणले ग¥यो भन्ने अत्तोपत्तो छैन । व्यस्त बजारमा जसरी खुर्सिदको हत्या भयो, त्यो सँगै अहिले शङ्का उपशङ्का बढ्दो छ । गोली प्रहार गरिएको स्थानबाट भारतीय सीमा क्षेत्र नेपालतर्फको घुस्की आठ किलोमिटर र घुस्कीभन्दा पश्चिमतर्फ भारतीय बासमतीया बजार पाँच किलोमिटर दूरीमा छ । हत्या भएलगत्तै गाउँलेले प्रहरीलाई सूचना गरे पनि प्रहरीको भूमिका सन्तोषजनक रहेन । खुसिर्द हत्यामा प्रहरी निरिह बनेको छ भन्दा फरक पर्दैन । ठूला घटनामा प्रहरीको भूमिका कमजोर हुँदा सर्वसाधारणले सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन् । राज्यले दिनदहाडै गोली हानेको घटना पत्ता लगाउन सक्दैन भने देशवासी सुरक्षाको लागि कहाँ जाने सरकार ? त्यसलगत्तै गत बुधबार दुहबीमा भएको अर्को मुस्लिम नेता फिदा हुसेनको हत्या पनि खुर्सिद शैलीकै छ । हत्याको घटना एकपछि अर्को र त्यो पनि मुस्लिम समुदायमा केन्द्रित भइरहँदा सुरक्षा निकाय भने घटना साम्य पार्न अपराधी पक्राउ गर्नेभन्दा पनि हतार–हतार दश लाखको बिटा र शहीद घोषणाको तयारी गरिरहेको हुन्छ । यो निरिहपन सुनसरी प्रशासनले कहिलेसम्म देखाउला ? अपराधी पक्राउ गर्नेभन्दा पनि मिलाउन नेताहरूलाई प्रयोग गर्नमा सिपालु सुनसरीका एसपी राजन अधिकारी र प्रजिअ प्रेमप्रकाश उप्रेती घटनाप्रति गैरजिम्मेवार देखिएका छन् । सुनसरीजस्तो सुगम जिल्ला त्यसमाथि सुरक्षाको हिसाबले प्रदेश एकमै धेरै सुरक्षाकर्मी बस्ने जिल्लामा गोलीको वर्षा हुँदा पनि अनुसन्धान हुँदैछ मात्र भन्न नछोड्ने प्रहरी प्रशासन निकम्मा छ भन्दा फरक पर्दैन । व्यस्त शहरमा गोली हान्दै हत्या हुँदा १० लाख र शहीद घोषणा मात्र गर्दै जाने हो भने शहीदको नाम ठूला डायरीमा नअट्ला तर हत्यारा पत्ता लगाउने विषयमा गम्भीर भएको देखिएन । खुर्सिदको हत्यापछि अनेक आशङ्कासमेत गर्न थालिएको छ । हत्या के कारणले भयो ? भनेर अहिलेसम्म केही खुल्न सकेको छैन । कतिपयले भने भारतीय मुजाहिद्दीनका चार जना लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी बनाउन सहयोग गरेकोले भारतीय गुप्तचर संस्थाले निगरानी गरेको केही महिनापछि हत्या भएको दाबी गरिएको छ । भारतीय मुजाहिद्दीनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटाहाका मौलाना खुर्सिद हत्या जोडिएको समाचार एजेन्सीहरूले लेखेका छन् । तर कसरी, किन, के का लागि हत्या भयो भनेर अहिलेसम्म प्रशासन मौन रहनुले सुनसरीवासी असुरक्षित छन् भन्न सकिन्छ । त्यसकारण सुनसरी प्रशासनले घटनाको नैतिक रूपमा जिम्मा लिई अनुसन्धानलाई कडा बनाउनु पर्छ । हैन भने सुनसरीको एसपी र प्रजिअलाई मन्त्रालय तानेर नयाँ एसपी र प्रजिअ पठाउनुको विकल्प छैन ।
साना हतियारको बिगबिगी
एक नम्बर प्रदेशमा आपराधिक घटनामा अवैध साना हतियारको प्रयोग प्रहरीको लागि चुनौती बन्दै गएको छ । नेपालसँग सीमा जोडिएका पूर्वी नाकाहरूमा हतियारको कारोबार बढेको प्रहरी आफै स्वीकार गरे पनि नियन्त्रणमा भने नेपाल प्रहरी सफल हुन सकेको छैन । आपराधिक गिरोहहरू सक्रिय भई अघि–अघि र प्रहरीे भने पछि–पछि छ । एक नम्बर प्रदेशका विभिन्न जिल्लामा साना हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायत आपराधिक घटना हुने गरेको छ । आपराधिक समूहका गतिविधि कमजोर हुँदै गए पनि बरामद र पक्राउको संख्या हेर्दा अझै साना हतियारको कारोबार सीमाक्षेत्रबाट धेरै कारोबार हुन्छ । प्रहरी अधिकारीहरूले जहिल्यै एउटै उत्तर दिइरहेका हुन्छन्–सीमाक्षेत्रमा कडाइ गरेका छौं । तर घटना हेर्दा सीमाक्षेत्र खुला भएको जस्तो अनुभव हुन्छ । सुनसरीको ६२ किलोमिटर खुला सिमानाबाट के के कारोबार हुँदैछ ? किन हुँदैछ दिनदहाडै हत्या ? यस विषयमा गम्भीर अनुसन्धान खै ? प्रदेश एकको मात्र नभई सुनसरीको अधिकांश आपराधिक घटनामा प्रहरीभन्दा आपराधिक गतिविधि गर्नेहरू अघि छन् । अपराध गरेर अपराधीहरू भागेपछि प्रहरी पुग्नाले अधिकांश घटनामा अपराधी पक्राउ पर्न सकेका छैनन् । तर प्रहरी अनुसन्धान जारी छ भन्न छोड्दैन । विभिन्न शहरहरूमा अहिले साना हतियारको बिगबिगी छ । प्रहरीले सार्वजनिक गरेका केही घटनालाई मात्रै विश्लेषण गर्ने हो भने पनि अब प्रमुख सुरक्षा चुनौती नै साना हतियार नियन्त्रण गर्नु देखिएको छ । हत्या गर्नेदेखि विभिन्न घटनामा साना हतियारको सहज उपलब्धताले एकातिर सुरक्षा चुनौती बढाएको छ भने अर्कोतिर हतियारको अवैध कारोबार फस्टाइरहेको सहजै अनुमान गर्न सकिन्छ । सुनसरीमा गोली प्रहार र अवैध हातहतियारको प्रयोग व्यापक हुँदै गएको छ । दिनदहाडै पेस्तोल बोकेर हिँड्नु र गोली प्रहार गर्ने समूहका गतिविधि बढ्नुले अवैध हातहतियारको कारोबार बढेको देखाउँछ ।
के गर्दैछन् गुप्तचर ?
गृहमन्त्रालयले सुरक्षा निकायको अभिन्न अङ्गका रूपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को काम के हो भन्ने कुरा सर्वसाधारणलाई थाहा पनि छैन । गुप्तचरको काम के हो ? के के गर्दैछ भन्ने कुरा जनतालाई थाहा पनि हुँदैन । गुप्तचरको काम पनि थाहा नहोस् नै भन्ने होला । सुनसरीमा दुई ठूला हत्याको घटनासँगै अन्य घटनामा पनि गुप्तचरले सुइँकोसम्म पाएन । सुनसरी गुप्तचरका प्रमुख दिनभर प्रजिअ कार्यालय ढुक्छन् । अनुसन्धान अत्यन्तै फितलो छ । गम्भीर सूचना सङ्कलन गरी सरकारलाई जानकारी गराउने गुप्तचरहरू सूचनाविहीन छन् । देशको एउटा मात्रै गुप्तचर विभागका कर्मचारीहरू अहिले के गर्दैछन् भन्ने कुरा गुप्तचर विभागलाई थाहा छ कि छैन होला ? राष्ट्रको संवेदनशील ठाउँमा बसेर गलत कार्य गर्ने तŒवहरूको संरक्षण गर्ने तŒवहरू धेरै छन् ।
प्रदेश एककै गुप्चतर प्रमुख रहेका छन् धरानमा तर खै त, उनीहरूसँग सूचना ? यस्ता जघन्य घटनाकोसमेत समयमा सुइँको नपाउने गुप्चतर निकायको के काम ? नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सुरक्षासम्बन्धी सूचना दिने काम बरु केही स्तरीय छ । तर सूचनाकै लागि करोडौं खर्च गरेर राखेका कर्मचारीहरू चाहिँ के मा व्यस्त हुन्छन् त ? राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले लिएको भत्ता, रासन र लुगाभत्ता फिर्ता गर्नुपर्छ । राष्ट्रिय अनुसन्धान विभागमा वार्षिक रूपमा सुराकी बापत करोडौं बजेट आउने गरेको छ । सो बजेट राष्ट्रिय अनुसन्धान विभाग प्रमुख र निजकै आसेपासेले आफ्नो तजबिजमा नक्कली सुराकीको रामे, श्यामे नाम खडा गरी बायाँ हातले हस्ताक्षर गरेर निकासा गरी घोटाला गर्दै आउनेहरूलाई पनि कारबाही गर सरकार ।