काठमाडौंबाट पोखरा जाने क्रममा धादिङको आदमघाट भन्ने स्थानमा पश्चिम भैरहवाबाट काठमाडौंतिर आउँदै गरेको माइक्रोबससँग मोटरसाइकल ठक्कर खान गई सामान्य दुर्घटना भयो ।
लगत्तै एक हुल युवाहरू आइपुगे र सो माइक्रो चालकलाई बेस्सरी झपारे र हामी मोटरसाइकलमा सवार सामान्य घाइतेलाई बाआमा झैं चिन्तित् जस्तो बनी अत्यन्तै छिटो–छिटो एम्बुलेन्स चढाई हामीहरूलाई अस्पताल पुर्याए ।
स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात् हामी घर फिर्ता हुने तरखरमा थियौं । तर ती युवाहरू र डाक्टरले हामीलाई अहिले आलो घाउ भएकोले तपाईहरूलाई खासै केही नभएको जस्तो भएको हो, भित्री दख्खल भएको छ भने ।
काठमाडौं गएर परीक्षण तथा उपचार गर्नू भने । हामीलाई काठमाडौंको परीक्षण प्रस्ताव राम्रै लाग्यो र सहमत भयौँ । उनीहरूले आफैले व्यवस्था गरेको एम्बुलेन्स मार्फत् ललितपुरको एक प्रतिष्ठित अस्पतालमा लागेर त्यहाँका अस्पताल प्रशासनसमक्ष बुझाइदिए उनीहरूले ।
अस्पताल प्रशासनले तुरुन्तै प्रहरी प्रशासनलाई बोलाई कानूनी कागजात मिलाई उपचार गर्न भित्र लिएर गए । मलाई पूर्णरूपमा आत्मविश्वास थियो कि, स्वास्थ्य प्राथमिक उपचार पश्चात् पूर्ण रूपमा सामान्य अवस्थामा पुगिसकेका थियौँ ।
तर त्यहाँ एक्सरे मात्र १४ वटा गरियो । सिटीस्क्यान, एम.आर.आइ, इण्डोस्कोपी, रगत लगायतका परीक्षणदेखि दिसा, पिसाब, खकार, गर्न बाँकी जति सबै परीक्षण गराएँ । मैले मलाई खासै केही भएको छैन तसर्थ यी सबै गरिरहनु आवश्यक छैन भनेर बारम्बार भन्दा पनि डाक्टर, नर्सहरू दुर्घटनाबाट आएका सबै बिरामीहरूको यो सबै परीक्षण गर्नैपर्ने हुन्छ भने ।
मैले सायद होला ता नि भनेर उनीहरूले जसो–जसो भने त्यसै–त्यसै गरेँ ।
डाक्टर र नर्सहरूको भीडभाड पाँच–पाँच मिनेटमा आएर डिग्री लगाएर परीक्षण गरेको गर्याै, छिन–छिनमै अस्पताल प्रशासनका मानिसहरू आएर हालखबर सोधेको सोध्यै र सबैजनाको निगरानी हामी सामान्य घाइतेमै फोकस भएको देख्दा मनमा कता कता डर पनि लागेर आयो । कतै हामीलाई भित्री चोट लागेको पो छ कि भन्ने ।
त्यस दिन हामीलाई इमर्जेन्सीमा राखियो । अन्य बिरामीभन्दा बढी नै केयर गरिएको भान हुन्थ्यो । भोलिपल्ट ठूलो डाक्टर आइपुगे र उनले पनि हामीसँग विशेष परामर्श गरिसकेपछि माथि वार्डमा ट्रान्सफर गर्न सिफारिस गरे ।
तर मैले आफूलाई खासै केही नभएको हुँदा डिस्चार्ज गर्न अनुरोध गरेँ तर उनीहरूले मानेनन् र केही दिन चिकित्सकको प्रत्यक्ष निगरानीमै बस्नुपर्ने बताए । मैले डाक्टरसँग मलाई गम्भीर रूपमा भित्री चोट लागेको हो त भनेर जिज्ञासा राखेँ तर डाक्टरले खासै बुझिने र चित्त बुझ्दो उत्तर दिएनन् ।
म झन् किंकर्तव्यबिमुढ भएँ । मनमा एक किसिमको डरले डेरा जमाइरह्यो, केही गम्भीर चोट पो लाग्यो कि जस्तो फिल भई नै रह्यो । अनि सम्झिएँ ती उद्धारकर्ता भगवानहरू स्थानीय युवाहरूलाई, जसले आफ्नै छोरा/भाइ/दाइ झैं चिन्तित बनी हामी दुईजना घाइतेहरूलाई उपचार गर्न अस्पतालसम्म ल्याएर मानवीय संवेदनशीलता देखाएका थिए ।
सो दिन हामी दुईजना सामान्य घाइतेहरूलाई वार्डमा सिफ्ट गरियो । वार्ड पनि साह्रै सफा अत्यन्तै सुविधा सम्पन्न थिए । फ्रिजदेखि टेलिभिजनसम्म थिए सो कोठामा जुस, फलफूल पानी तताउने भाँडा, पानीको जार, सबै थिए त्यहाँभित्र ।
हामीले सोच्यौँ, त्यहाँ पहिलेका बिरामीहरूले छोडेका होलान् ती जुस, फलफूलहरू । तर पछि थाहा भयो कि, विशेष बिरामीहरूलाई विशेष सुविधा अस्पताल प्रशासनले उपलब्ध गराइने प्रोभिजन रहेछ त्यहाँ ।
तर हामी विशेष कसरी भयौँ, त म छक्क परेँ । हामी कुनै भिआइपी वा भिभिआईपी व्यक्तित्व पनि थिएनौं । तापनि सेवा सुविधा चाहिँ साह्रै राम्रो लाग्यो । २ दिन बित्यो, ३ दिन बित्यो, ४ दिन बित्यो, अहँ डाक्टरहरू आएर डिस्चार्ज गर्नै मान्दैनन् ।
हाम्रो घाउ निको भइसकेर खाटासमेत बस्न थालिसकेको छ तर डाक्टरसा’बहरूले सातौँ दिन बितिसक्दा पनि हामीलाई डिस्चार्ज नगरेको हुनाले साह्रै आश्चर्य लाग्यो र राउण्डमा आएका डाक्टरसा’बसँग विवाद गर्न थालेँ ।
डाक्टरले अहिलै डिस्चार्ज गर्न नसकिने बताएर गए । म बेस्सरी कड्किएँ र बाहिर बार्दलीमा गएर घाम तापेर बस्दै थिएँ ।
एकजना तराईमूलका अधवैंशे मान्छे भक्कानिएर रोइरहेको देखेँ र नजिक गएर सिम्प्याथी दर्शाई रोएको कारण जान्न चाहेँ । उसका अनुसार– उसको वीरगञ्जको घरमा ग्याँस पड्किएर आगलागी भएको, १४ वर्षीय छोराको उपचार वीरगञ्जकै एक सरकारी अस्पतालमा भइरहेको थियो रे ।
त्यहाँका डाक्टरकै सल्लाहअनुसार उनलाई यस अस्पतालमा रिफर गरिएको रहेछ ।
एघार लाख साठी हजार सकिइसकेको र सबै पैसा सकिसकेपश्चात् अस्पताल प्रशासनले अब अरु पैसा खर्च गर्न नसक्ने भए बिरामी डिस्चार्ज गर्न आदेश दिएको र उनले अब आफ्नो जायजेथा केही पनि बाँकी नभएकोले पैसा जुटाउन नसक्ने विडम्बना व्यक्त गर्दा अब डिस्चार्ज गर चाँडो भनेर अस्पतालले आदेश दिएकोले त्यो मानिस रोइरहेको रहेछ ।
मेरो मनमा पनि साह्रै बिझ्यो र पुनः आफ्नै क्याविनमा आई मन भारी बनाएर बसिरहेँ ।त्यत्रो एघार लाख सकिँदा केही नभन्ने अनि अहिले पैसा सकिनासाथ घरमा जाऊ भन्ने कस्ता मनमा हरि नभएका डाक्टर र प्रशासन रहेछन् जस्तो लाग्यो ।
म र मेरो अर्को साथी आपसमा चिन्तित हुँदै बस्दै थियौँ । केहीबेरपश्चात् मङ्गोलियन समुदायकी अधवैंशै एकजना सरसफाइ गर्ने कर्मचारी महिला भूइँमा पोछा लगाउन आइन् । उनले म केही समयअघि डाक्टरसँग चर्को–चर्को स्वरले बोलेको सुनिरहेकी रहिछन् ।
उनले मलाई कसरी घाइते भएको हो बाबू भनेर जान्न चाहिन् । मेरो वृतान्त बताएँ र उहाँको घर सोधेँ, उहाँको घर पनि मेरै गृहजिल्ला सर्लाही नै रहेछ । उहाँले मलाई पछि डिउटी सकिएपछि केही कुरा गर्छु भन्नुभयो र जानुभयो । साँझ ४ बजे पुनः हाम्रो कोठामा आइन् ।
उनका अनुसार सो अस्पतालमा विगत ६ वर्षदेखि सहयोगी कर्मचारीको रूपमा कार्यरत हुनुहुँदो रहेछ । सो अस्पतालमा नेपालका अधिकांश स्थानबाट कमिसनको भरमा बिरामीहरू ट्रान्सफर हुने गर्दछन् रे । काठमाडौंलगायतका नेपालका प्रायःजसो सरकारी अस्पताल नजिक यस अस्पतालका एक–एकजना एजेन्टहरू डेरा जमाएर बस्ने गरेका हुन्छन् रे ।
अनि सरकारी अस्पतालहरूबाट त्यहाँका डाक्टरहरूले यताका डाक्टरहरूसँग फोनमा कमिसन ‘बार्गेनिङ’ गरी बिरामी रिफर गर्ने गर्दछन् रे । एम्बुलेन्स चालक सङ्घमा यिनीहरूको राम्रो सम्बन्ध हुन्छ रे ।
अधिकांश एम्बुलेन्स चालकहरूलाई यस अस्पतालका पब्लिक रिलेसन अफिसर र अस्पताल को–अर्डिनेटरले मासिक रूपमा पार्टीको आयोजना गर्ने, कमिसन छुटाउने गर्दछन् रे ।
पृथ्वी राजमार्गको धादिङ सडक–खण्ड, त्रिभुवन राजपथको दामन सडक–खण्ड, मदन भण्डारी राजपथको कुलेखानी सडक–खण्ड तथा बीपी राजमार्गको काभ्रे–सिन्धुली सडक–खण्ड एवम् अरनिको राजमार्गको सिन्धुपाल्चोक सडक–खण्डमा यस अस्पतालले एम्बुलेन्स चालकदेखि चुल्ठेमुन्द्रेहरूलाई मासिक तलब भत्ता, रिचार्जकार्ड, मोटरसाइकल तेल, खाना खर्च दिएर खटाएका हुन्छन् रे ।
उनीहरूको काम भनेको दुर्घटना हुनासाथ तुरुन्तै रेस्क्यु गरी सिधै आफ्नो अस्पतालमा ल्याउने गर्दछन् रे ।
अनि बिरामीले तिरेको बिलको आधारमा उनीहरूलाई केही प्रतिशत कमिशनको व्यवस्था गर्ने गरेको कुरा बताउनुभयो ।
यस अस्पतालको सेवाशुल्क अत्यन्तै उच्च रहेको र बिरामीहरूबाट आएकै पैसाहखबाट २–४ वटा जुस र केही केजी फलफूल किनेर दिई बिरामीहरूको मन जित्न कोशिस गर्ने गरेको, आवश्यक नै नपर्ने स्वास्थ्य परीक्षण पनि जबर्जस्ती डर देखाएर गराउने गरेको बताउनुभयो । त्यसपछि दिदी जानुभयो ।
अस्पतालको वास्तविक कुरा सुन्दा हामी छाँगाबाट खसे झैं भयौं । मेरो मन झन् भत्भती पोल्न थाल्यो र झल्झली फ्ल्यास ब्याक आउन थाल्यो ।
सामान्य घाइते भएको मान्छेलाई पनि बुबाआमा झैं चिन्तित बनी तुरुन्तै एम्बुलेन्स खोजी महँगो अस्पतालमा पठाउने ती उद्धारकर्तालाई केहीदिन पहिले भगवान ठानेको थिएँ, अहिले दानव झैं लाग्न थाल्यो ।
एम्बुलेन्स चालकले पनि कुन अस्पतालमा जाने भनेर हामीलाई सोध्दै नसोधी सिधै त्यही अस्पतालमा ल्याएका घटनादेखि अस्पतालले आवश्यकताभन्दा बढी हेरचाह र लोलोपोतो गरेको सबै झल्झली याद आयो ।
प्राथमिक उपचारले निको हुने बिरामीलाई अनेकथरी परीक्षण गरेको देखी एक सामान्य बिरामीहरूलाई भिआईपी क्याविन रूपमा राखेको, डिस्चार्ज गर्न आनाकानी गरेको, वीरगञ्जका ती दाइको एघार लाख साठी हजार सकाएर निको नपारी घरमा पठाएको आदि ।
केही समयपछि डाक्टर आए र हामीले डिस्चार्ज आजै हुने भनेर कड्किएपछि डाक्टरले सिफारिस गरिदिए ।
अस्पताल प्रशासनको एक कर्मचारी र नर्स बिललगायतका कागजात बोकेर आए । बिल आएको रहेछ हामी दुईजनाको नाममा ४ लाख ६९ हजारको । म त छक्क परेँ, सामान्य घाइतेको त्यत्रो धेरै बिल उठेको रहेछ । त्यो भिआइपी क्याविन रुमको चार्ज मात्र प्रतिदिन एघार हजार पाँच सय रहेछ ।
बाहिर सरकारी अस्पतालमा रक्त परीक्षण (सिबिसी) परीक्षण गरेको एक सय दश रुपैयाँ पर्नेमा त्यहाँ नौ सय बीस रुपैयाँ रहेछ । सबै शुल्क लगभग एक हजार गुणा महँगो रहेछ त्यहाँ ।
बिल हेरेपछि त हामीलाई माइक्रोले हानेर घाइते बनाएको भन्दा बढी घाइते बनायो र दुवैजना अस्पताल प्रशासनकोमा पुगी यत्रो पैसा दिँदै नदिने र यहाँको विकृति विसङ्गतिको भण्डाफोर गर्न प्रहरी प्रशासनको सहारा लिन जाने भनेर कड्किएँ ।
उनीहरूले पनि नडाराई जे गर्नु छ गर्दा हुन्छ, पैसा नतिरी निस्कन नदिने बतायो । हामीले प्रहरीलाई हटलाइनमा फोन गरी डाक्यौँ र सबै बतायौँ तर प्रहरीले उपचारको पैसा चाहिँ तिर्नै पर्ने हुन्छ भनेर उल्टै हामीलाई नै दोषी पो देखाए प्रहरीले ।
हामी अब के गर्नु र कसो गर्नु भनेर रुममा बसी चिन्ता लिइरहेका थियौँ । अनि उनै सरसफाइ गर्ने दिदीलाई फोन लगाएँ र सबैकुरा बताएँ । त्यो दिदीले अर्को सत्य बताउँदा पुनः चकित भएँ । उनका अनुसार स्थानीय प्रहरी प्रशासन, वकिल, चालक, चुल्ठे, मुन्द्रे सबैलाई कमिसन सेटिङमा राखिएको हुन्छ रे अस्पतालले ।
त्यसपछि के गर्ने, कसो गर्ने भनेर सोच्दा सोच्दै एक आइडिया आयो र पत्रकार सम्मेलन गरेर मिडियामा उनीहरूका कर्तुत बाहिर ल्याइदिन्छौँ भनेर प्रशासन प्रमुखलाई गएर केही कडा स्वरमा भनेपछि उनीहरूले मुखामुख गरे र तपाईं माथि कोठामा जानुस् एकछिन, हामी छलफल गरेर त्यहीँ आउँछौं भने र हामी आयौँ ।
लगभग १ घण्टापछि उनीहरू ठूला–ठूला हाकिमजस्ता देखिने एक हुल मानिसहरू ग्वारग्वार्ती आए र तपाई डिस्चार्ज भइसक्नु भएको हो भने अब जान सक्नुहुन्छ भने ।
मैले पैसा त्यत्रो त कुनै हालतमा पनि नतिर्ने भनेपछि उनीहरूले तपाईले एक पैसा पनि तिर्नु पर्दैन, तपाईको उपचारमा लागेको सम्पूर्ण पैसा हामी प्रहरीमार्फत् गाडीवालाबाट लिन्छौं तर तपाईले यो सम्पूर्ण बिल मेरो उपचारको लागि लागेकै हो भनेर हस्ताक्षर गर्नुहोला भनेर मलाई फाइल दिए ।
जहाँ वास्तविकता भन्दा कयौं गुणा बढी दर र संख्या लेखिएको रहेछ । मैले सबै बिलहरू फोटोकपी गरेर मात्र हस्ताक्षर गर्छु भने पनि उनीहरूले मानेनन् र मलाई सो बिलको फोटो मोबाइलबाट खिच्न नदिई उनीहरूले लिएर गए र मलाई जाने बेलामा औपचारिकता दर्शाउँदै ‘गेट वेल सुन घिमिरेजी’ भन्दै उनीहरू आफ्नो काममा लागे ।
म यी सब चर्तिकला आफ्नै आँखासामु देख्दा अत्यन्तै आश्चर्यचकित परिरहेँ र केही वर्षअगाडि अक्षय कुमारद्वारा अभिनित एक हिन्दी चलचित्र ‘गब्बर इज ब्याक’ को कथा याद आयो ।
जहाँ मृत्यु भइसकेको मान्छेको आइसियुमा उपचार चल्दैछ भनेर बिरामीका आफन्तहरूबाट अस्पतालले धेरै रकम कुम्ल्याएको कहानी बडो सम्वेदनशील ढङ्गबाट उठान गरिएको थियो । हो, आज आफ्नै आँखा सामु यी सब तिक्डमबाजी देख्दा म त छक्क परेँ ।
प्राथमिक उपचार गर्दा निको हुने घाउमा अब विचरा त्यो गाडी साहुले त्यत्रो पैसा कसरी तिर्न सक्छ होला त । यदि बिमा नै गरेको रहेछ भने पनि बिमा कम्पनीहरूको पैसा अनावश्यक रूपमा अस्पतालले कसरी धुतिरहेको रहेछ भन्ने कुरा ।
यदि मैले यो कुरा मिडियामा भनेर तिनीहरूको कालो कर्तुत सबै बाहिर ल्याउँछु नभनेको भए, त्यो रकम हामीले नै तिर्नुपर्ने थियो । हामी जस्ता दुई अक्षर चिनेका र केही बुझेकाहरूलाई यसरी दिनदहाडै ठग्छन् भने सर्वसाधारण जनताहरूलाई यी नीतिगत भ्रष्टाचारीहरूले के बाँकी राख्थे होलान् ।
नेपालका हरेक क्षेत्रमा कमिसनको जालोले यत्तिसम्म आक्रान्त बनाएको छ कि, जुन जति बयान गरे पनि साध्य छैन ।
चेन विजनेश (सञ्जालीकृत व्यापार) ले हाल हाम्रो समाज विक्षिप्त भइसकेको छ । सरकारी अस्पतालमा सिटी स्क्यान, एमआरआई सेवा राम्रो नहुँदा होस् या उपचार प्रभावकारी नहुँदा उनीहरूले आफ्नै सेटिङ मिलेको ठाउँमा रिफर गर्दछन् । त्यस्ता काम मिलाउन उनीहरू पूर्ववत् रूपमै कमिसनको डिल गरिसकेका हुन्छन् ।
एम्बुलेन्स चालकदेखि एमआरसम्मको सेटिङमा प्राइभेट अस्पताल सञ्चालन हुने गरेको कुरामा ती सरसफाइको काम गर्ने दिदीले भनेको कुरा त्यसबेला पूर्ण सत्य नलागे तापनि जब आफ्नै जीवनमा लागू भएकोले त्यस कुराको प्रमाणित भयो ।
कार्यालय सहयोगीहरूलाई कुनै पनि कार्यालयहरूको भित्रीभन्दा भित्री पाटोसमेत थाहा हुन्छ । किन कि उनीहरूले हाकिमदेखि पालेसम्मलाई डिल गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी पब्लिक रिलेसन उनीहरूकै बढी हुने हुँदा ती दिदीले बताएको कुरा शतप्रतिशत सत्य लागेर आयो ।
यस सन्दर्भमा केही लेख्दा ती दिदीले वाचा गराएर अरुलाई नभन्ने सर्तमा मलाई बताएका कुराले उहाँलाई अप्ठ्यारो नपर्ने गरी नेपालका अस्पतालजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा यसरी भएको विकृति एवम् विसङ्गतिको बारेमा सबै सर्वसाधारण जनताहरूलाई सचेत गराउने र राज्यका तालुकदार निकायलाई घच्घच्याई यस किसिमको विकृति रोक्न मैले काठमाडौं उपत्यकाका ८–९ वटा अस्पतालहरूको सेवा प्रवाह र बिरामीहरूको आवाज सङ्कलन गर्ने हेतुले सूक्ष्म रूपमा अध्ययन गर्दा एकाधमा केही कम बेसी होलान् ।
नत्र अन्यमा माथि उल्लेख भए बमोजिमका समस्याहरू ऐजन्–ऐजन् पाएँ र त मेरो एकजना साथी जो वैदेशिक रोजगारबाट हालै आएको हो र पढाइको हिसाबमा १२ कक्षाभन्दा माथिल्लो योग्यता नै छैन ।
उसले समेत अस्पतालमा इन्भेष्ट गर्नसके त्यहाँ जति प्रोफिट अरुमा छैन भनेर भनेको सुन्दा म त अचम्ममा परेको थिएँ तर जुन यथार्थ नै रहेछ ।
उता सरकारी अस्पतालका कथा झन् विकराल पाएँ । बिरामी बिहान ७ बजेदेखि टिकट पुर्जी काटेर पालो कुर्दा २–३ बजे पालो आउँछ, ८–९ घण्टा कुरेर डाक्टरलाई भेटेपछि कम से कम ५–७ मिनेट त परामर्श गर्नुपर्छ नि तर भित्र जानासाथ जिब्रो निकाल्नुस्, आँखा च्यात्नुस् अनि लामो सास फेर्नुस् त भनेर डिग्री लगाएर २ मिनेट भित्रमा नै सरर.... प्रेस्कृप्सन लेखेर पठाइदिन्छन् ।
एमआरहरू त्यहीबीचमा आफ्नो उत्पादनहरूको विज्ञापन गर्न आए उनीहरू बीसौं मिनेट गफिने हाम्रा सरकारी अस्पतालका डाक्टर सा’बहरू बिरामीप्रति गरिने विभेदीकृत व्यवहारले गर्दा नै हो । सर्वसाधारणहरू प्राइभेट अस्पतालमा पुगी माथि बताएअनुसारका समस्याबाट प्रताडित हुनुपरेको ।
यस लेखको उद्देश्य पक्कै यो होइन कि सबै डाक्टरहरू, अस्पतालका सञ्चालकहरू, अस्पताल प्रशासकहरू, प्राइभेट हस्पिटलहरू, नर्सहरू, कर्मचारीहरूलाई नराम्रो र कामै नलाग्ने खालका ‘खुरापाती’ भन्न खोजिएको होइन । धेरै धनी मनका डाक्टरसा’बहरू र अस्पतालका कर्मचारीहरू पनि हाम्रो देशमा नभएका होइनन् ।
तर यस लेखले केवल ती ‘खुरापाती’ प्रकृतिका कमिसनखोरहरूलाई ‘मेन्सन’ गरिएको हो, जसको मनमा धर्मको एक चिम्टी अंश पनि छैन ।